न्यूज अपडेट
रौतहट, १२ साउन

रौतहटको महम्दपुर गरुडामा रहेको श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । २०४९ सालमा स्थापना भएको मिलले आईतबार एक सूचना जारी गर्दै बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द गरेको जनाएको छ । स्थापनाको केहि बर्ष नाफामा रहेको कम्पनी पछिल्लो वर्ष नोक्सानीमा रहेको जारी सूचनामा उल्लेख छ । आर्थिक वर्ष ०७५/७६ सम्ममा कुल घाटा २ अरब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेको जनाएको छ । मिलले बर्षौनी घाटा व्यर्होन थालेपछि गत पुसमा श्रीराम सुगर मिल सञ्चालकको बैठकले जग्गा बिक्री गरेर बक्यौता रकम भुतmानी गर्ने सहमति गरेको थियो । मिलको १० बिगाह जग्गा बिक्रि गरेर उखु कृषकको बक्यौता रकम भुक्तानी गर्ने जनाएपनि प्रक्रिया अझै नमिलेका कारण ढिलाई भएको छ । श्रीराम सुगर मिलले २६ करोड ७७ लाख ७८ हजार ६ सय २३ रुपैयाँ उखु कृषक तथा ७० लाखभन्दा बढी रकम अवकाश प्राप्त कर्मचारीहरुको भुक्तानी दिन बाँकी रहेको अवस्थामा मिल बन्द भएको हो । एक साता अघि मिल संचालक समितिको बैठकले स्थायी रुपमा बन्द गर्ने निर्णय गरेपछि आईतबार मिल परिसरमा सूचना टाँस गरीएकोे छ । उखु कृषकको बक्यौता रकम, श्रमिक कर्मचारीको पारिश्रमिकका बिषयमा कम्पनीको चल अचल सम्पत्ती बिक्री गरेपछि प्राप्त रकमबाट प्राथमिकताको आधारमा भुक्तानी गरिने सूचनामा उल्लेख छ । यसका लागि नेपाल सरकारसंग मिल व्यवस्थापन पक्षले छलफल गरिरहेको र जमिन विक्रीका लागि प्रक्रिया अघि बढाएको श्री राम गत आर्थिक वर्षमा दुई साता मात्र उखु क्रसिङ्ग गरेर मिल बन्द भएको थियो ।
स्थायी रुपमा बन्द भएपछि त्यहाँ कार्यरत ३ सय २५ जना श्रमिक कर्मचारी काम विहिन भएका छन् । स्थानिय तथा अन्य जिल्लाका गरी ३ सय २५ जना श्री राम सुगर मिलमा कार्यरत रहेका थिए । मिलमा विभिन्न जिल्लाका १४७ जना नियमित तथा १७८ जना सिजनल स्थायी कर्मचारी थिए । श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द भएको सूचना जारी भएपछि त्यहाँ कार्यरत कर्मचारी चिन्तित भएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा करिव ४ सय र आईतबारबाट ३ सय २५ जना कर्मचारीलाई हटाईएको कारखाना मजदुर संघका अध्यक्ष राजकिशोर साहले बताए । विगत १४ महिनाको नियमित एवं सिजनल कर्मचारीको संचयकोष जम्मा नभएको र गत चार महिना देखि तलव पाउन नपाएको उनले गुनासो गरे ।
उखु उत्पादक संघको आपत्ति
श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द गर्ने निर्णय प्रति उखु उत्पादक संघ रौतहटले आपत्ति जनाएको छ । यस बिषयमा उखु उत्पादक संघसंग छलफल नै नगरी बन्द गर्ने निर्णय प्रति भर्सना गरेको छ । मिल स्थायी रुपमा बन्द हुने सूचना टाँसपछि उखु उत्पादक संघ रौतहटले बिज्ञाप्ती जारी गर्दै गत पुस महिनामा काठमाण्डौ स्थित उद्योग मन्त्रालयमा मिल व्यवस्थापन, उखु उत्पादक संघ तथा महासंघ विच चैत महिना भित्र उखु कृषकको बक्यौता रहेको रकम दिने सहमती भएको थियो । तर कोरोना भाईरस (कोभिड १९) को कारण भुक्तानी नदिएको मिलले स्थायी रुपमा बन्द गर्ने निर्णयले कृषक मर्कामा परेको बिज्ञाप्तीमा उल्लेख छ । उखु उत्पादक संघका सचिव सखिन्द्र यादवले कृषकको बक्यौता रकम दिनु पर्ने तथा उधोग बन्द गर्न नहुने बताए ।
