लिफ्टसहितको अत्याधुनिक आकाशे पुल सञ्चालनको तयारी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, ११ साउन


पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिकाको टाँडी चोकमा अत्याधुनिक आकाशेपुल सञ्चालन गर्ने तयारी गरिएको छ ।
लकडाउनको समयमा केही समय निर्माणको काम अवरुद्ध भएपनि हाल यसको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अपाङ्गमैत्री आकाशे पुलको काम तीब्र रुपमा भइरहेको छ । लिफ्ट सहितको अपाङ्गमैत्रीे आकासे पुलको निर्माणको काम ८० प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको एक करोड र रत्ननगर नगरपालिकाको एक करोड ४२ लाख गरी २ करोड ४२ लाखको लगानीमा रत्ननगरमा आकाशे पुल निर्माण भइरहेको नगरपालिका प्रमुख नारायण वनले जानकारी दिए । ‘लकडाउनले गर्दा अन्तिम चरणको काम पुरा हुन सकेको थिएन, वनले भने,अब डेढ महिनाभित्र सञ्चालनमा ल्याउंँछौं ।’
रत्ननगर नगरपालिकाले गौरवको आयोजना अन्तर्गत चितवनमै पहिलो पटक आकाशे पुलको निर्माण थालेको हो । नेपालमा संभवत लिफ्ट सहितको आकाशे पुल छैनन् । नगरले नयांँ प्रविधि जडान गरेर आकाशे पुल निर्माण गरिरहेको छ । रत्ननगरले लिफ्ट सहितको सो आकाशे पुललाई नेपालकै पहिलो नमुना आकाशे पुल भएको दाबी गरेको छ ।
स्टील स्ट्रक्चरबाट निर्माण गरिने भएकाले यसलाई सञ्चालनमा ल्याउन केही ढिला हुने नगरपालिकाका इन्जिनीयर पंकज गिरीले जानकारी दिए ।
सौराहा क्षेत्र समेत यही नगरपालिकामा पर्ने हुनाले दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । राजमार्गको उत्तरतर्फ नेपाल विद्यालय रोड र दक्षिणतर्फ सिनेमाहल रोड तर्फबाट आवत जावत गर्न मिल्ने गरी पुल निर्माण गरिएको छ । आकाशे पुल ४० मिटर लम्बाई र साढे ५ मिटर उचाइमा बनेको छ । हिम सगरमाथा कस्न्ट्रक्शन प्रा.लि.ले पुल निर्माणको जिम्मा पाएको हो । वढी सवारीसाधनको चाप हुने स्थान भएकोले नगरपालिकाले दुर्घटना न्यूनीकरण र टाँडी बजारलाई सुन्दरता प्रदान गर्न अत्याधुनिक आकाशे पुलको निर्माण गर्न लागेको हो । ्लिफ्टसहितको आकाशे पुल बनाउन उक्त रकमबाट पूरा हुन नसक्ने भएकोले थप रकम नगरपालिकाको तर्फबाट खर्च गरिने वनको भनाइ छ । यसका लागि पुल निर्माण स्थल पूर्व पश्चिम तर्फ १ सय मिटर विजुलीका तार भूमिगत गर्नुपर्ने हुन्छ । ‘उच्च प्रविधिको प्रयोग गर्दै निर्माणाधीन े आकाशे पुलले शहरीकरणको अनुभूति नगरबासीलाई दिलाउनेछ’ वनले भने । यसका साथै वनले रत्ननगरको अस्पतालको स्तरोन्नती,सौराहाका सिटीहल र टाँडी बजारमा आकाशे पुल निर्माण गर्ने कार्यलाई समेत अगाडि बढाइदै लगिएको बताए । यसअघि नगरपालिकाले गरिबलाई घर,ज्येष्ठ नागरिकलाई घरघरमै उपचार, सुत्केरी पशुलाई भत्ता, खरको छानो मुक्त नगर, उपचारमा सहज पहँच, पर्यटनमा पूर्वाधार, कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *