अनुदानमा कृषकहरुलाई फलफूलका बिरुवा बितरण

समाचार

सल्यान १८, असार


सल्यानमा कृषकहरुलाई फलफूलका बिरुवा बितरण गरिएको छ । कृषकलाई व्यवसायिक र आधुनिक खेती प्रणालीमा अग्रसर गराउने उद्देश्यले कृषि ज्ञान केन्द्र (रुकुम पश्चिम) सम्पर्क कार्यालय सल्यानले फलफूलका बिरुवा बितरण गरेको हो । कार्यालयले जिल्लाका किसानहरुलाई विभिन्न प्रजातिका करिब १३ हजार ५ सय बिरुवा ५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।
अहिले कृषकहरुको मागको आधारमा आँप, अलैंचीको बिरुवा बितरण गरिएको कार्यालयका बागबाणी बिकास अधिकृत चोप नारायण खनालले बताए । उनले कृषक सहकारी समुह आदीको मागको आधारमा कार्यालय फलफूलका बिरुवा बितरण गर्न शुरु गरेको बताए । जिल्लाका करिब १ सय ५० बढी सहकारी र समुहहरुले फलफूलका बिरुवाहरुको माग गरेको बताए ।
‘कृषकहरुको मागको आधारमा बिरुवाहरु बितरण गर्दै आएका छौँ, ५ वटा भन्दा बढी बिरुवा लिने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराउछौँ, त्यो भन्दा कम लिनेहरुको हकमा सतप्रतिशत मूल्य तिर्नुपर्दछ’— उनले भने । उनले यस मौषममा बिरुवा रोप्नु उचित हुने बताए ।
पछिल्लो समयमा जिल्लाका किसान फलफूल खेतीमा आकर्षित भइ फलफूल जातका बिरुवाको माग बढेको र किसानलाई तत्काल फाइदा पुग्ने तथा दीर्घकालीन रुपमा समेत सहयोग पु¥याउने बिरुवा वितरण गरेको उनको भनाई छ । उनले रौतहट जिल्लाबाट आँप र लिचीका बिरुवा ल्याएर कृषकहरुलाई बितरण गरिएको बताए ।
यस्तै सुन्तला, कागती र अनारका बिरुवा बितरण गर्न शुरु गरिएको पनि उनले बताए । उनले जिल्लाका बिभिन्न नर्सरीहरुमा उत्पादन भएका बिरुवा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बितरण गर्न थालिएको बताए । यस जिल्ला फलफूल खेतीको लागी पनि राम्रो सम्भावना बोकेको जिल्ला भएकाले जिल्लाका कृषकहरु फलफूल खेतीमा उत्साहित भएका छन् उनले भने ।
उनले जिल्लामा सुन्तला, कागती, अनार खेतीको राम्रो सम्भावना भएको भएपनि ब्यबसायिक रुपमा आँपखेतीको लागी त्यति राम्रो सम्भावना नभएको दावी गरे । ‘जिल्लाका कृषकहरु आँपखेती तर्फ उत्साहित हुनुहुन्छ, तर पनि यहाँको हावापानी, भूवनोटले त्यती साथ दिदैन्, चिसो बढी हुने भएकाले तराईको जस्तो स्तरीय आँप उत्पादन हुदैन’— उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *