शैक्षिक संस्था सञ्चालनमा नआउंँदा पाठ्यपुस्तक सामग्रीको विक्रीमा गिराबट

अर्थ/वाणिज्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
चितवन, २७ असार


लामो समयको लकडाउनका कारण बन्द भएको शैक्षिक संस्थाहरु सञ्चालनमा आउंँदा पाठ्यपुस्तक सामग्रीको विक्री न्यून भएको छ । शैक्षिक सत्र शुरु भएपनि अधिकांश संस्थागत विद्यालयमा अनलाइन कक्षाबाट पठनपाठन हुदै आएको र सामुदायिक विद्यालयका विद्यार्थीहरुले समेत पाठ्यपुस्तक प्रयोग नगर्दा यी सामग्रीको कारोबारमा कमी आएको हो ।

गतसालको तुलनामा यस शैक्षिक सत्रमा झण्डै ८० प्रतिशत कम पाठ्यपुस्तक विक्री भएको व्यवसायीले बताएका छन् । जसका कारण यस्ता सामग्री मौज्दातमा राख्नुपरेको उनीहरुको गुनासो छ । सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटा यसपटक विद्यालयका पाठ्यसामग्रीको विक्रीमा भारी गिरावट आएको बताउंँछन् । अन्य पुस्तकहरु केही मात्रामा विक्री भएपनि विद्यालयका पाठ्यसामग्रीको विक्री न्यून छ । उनका अनुसार हाल उनको पसलमा गतसाल विद्यालयका सम्पूर्ण पाठ्यपुस्तक विक्री भएपनि यसपटक ३० देखि ३५ प्रतिशत पुस्तक मात्र विक्री भएको छ । ‘निजी विद्यालयका पुस्तक किन्न ग्राहक आउंँछन्, उनले भने, तर जति आउनुपर्ने हो त्यस्तो उपस्थिति छैन ।’ चितवनमा लकडाउन अगावै एसईई बाहेक सबै कक्षाहरुको परीक्षा सकिएको थियो । जसले गर्दा व्यवसायीहरुले उल्लेखनीय मात्रामा किताब र स्टेशनरी सामान खरीद गरी विक्रीका लागि तयारी अवस्थामा थिए । तर लकडाउन लम्बिँदै गएपछि विद्यालय खुल्न नसक्दा उनीहरुको पाठ्यसामग्री विक्री नभएको हो । हाल केही महिनादेखि अधिकांश संस्थागत र केही सामुदायिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको हुनाले पनि विद्यार्थीहरुलाई पाठ्यपुस्तक आवश्यकता त्यति पर्दैन ।

नेपाल पुस्तक तथा स्टेशनरी महासंघ, चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारी विद्यालय सञ्चालनमा नआउंँदा आफ्नै पसलमा मुस्किलले १५ देखि २० प्रतिशत मात्र पाठ्यपुस्तक विक्री भएको बताउंँछन् । ‘यो महामारीमा कापीकिताब प्राथमिकता नै पर्दैन, उनले भने, लकडाउनका कारण अधिकांश अभिभावकको क्रयक्षमता पनि कम भएको छ ।’ सरोकार निकायसंँग छलफल गरेर निकास निकाल्ने प्रयास भएपनि बिद्यालय नखुल्दासम्म किताबको विक्री नहुने उनले बताए ।

लकडाउनको अवधि कम होला र विद्यालयहरु छिटै नै शुरु होलान् भन्ने आशाले जिल्लाका सबैजसो व्यवसायीले लाखौं लगानी गरेर पाठ्य तथा स्टेशनरी सामग्री खरीद गरेपनि बिक्री नहुंँदा थन्क्याउनु पर्ने अवस्था छ । केही व्यवसायीले एजेन्टमार्फत सामुदायिक विद्यालयका किताबहरु बिक्री गरेपनि गतसालको भन्दा निकै नै कम विक्री भएको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २२, धनौजीका असल स्टेशनरी पसलका सञ्चालक अपिल घिमिरे संस्थागत विद्यालयका किताब बिक्री ठप्प भएपनि सामाुदायिक विद्यालयमा भने किताब विक्री गरिसकेको बताउंँछन् । ‘बोर्डिङ्गका विद्यार्थीले त सोध्न पनि आएका छैनन्, उनले भने, सामुदायिक केही बिद्यालयमा भने बेंचें । उनका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक निःशुल्क पाउने भएकोले किताब बिक्री भएपनि कापी तथा अन्य स्टेशनरी सामान भण्डारण मात्र गर्नुपरेको छ । विद्यालय तथा कलेजलाई चाहिने अन्य स्टेशनरी सामान पनि बिक्री नभएका कारण पनि थप मार परेको उनको भनाइ छ । विद्यालयहरु नखुलेपनि जिल्लाका सबै सामुदायिक विद्यालयका लागि किताब वितरण लगभग सकिएको छ । जनक शिक्षा सामग्री लिमिटेड बागमती प्रदेश कार्यालय, भरतपुरले बारा, पर्सा, रौतहट, मकवानपुर, नवलपुर र चितवनका गरी ९५ प्रतिशत पुस्तक वितरण गरिसकेको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख विनय श्रेष्ठ गत साल भन्दा वितरण कार्य ढिला भएपनि कार्यालय मातहतका जिल्लाहरुमा पुस्तक वितरण अन्तिम चरण पुगेको बताउंँछन् । ‘हाम्रो काम एजेन्टलाई दिने हो, उनले भने, विद्यार्थीले पाए, पाएनन् हामीलाई जानकारी हुंँदैन ।’ बारा र पर्सामा केही विद्यालयमा पुस्तक वितरण बांँकी रहेपनि बांँकी जिल्लामा पुस्तक वितरण गरिसकिएको उनले जानकारी दिए । जिल्लामा बैशाख २२ देखि सामुदायिक विद्यालयमा पुस्तक वितरण कार्य थालिएको थियो । जिल्लामा हाल संस्थागत विद्यालय १६५ ओटा छन भने एक सय ५० को हाराहारीमा सामुदायिक विद्यालय छन् । यहांँ करीब ५ लाख विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *