जनसंख्या व्यवस्थापन सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री ढकाल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनसंख्या व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५औँ विश्व जनसंख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए।

मन्त्री ढकालले जनसंख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसंख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए।

उनले जनसंख्याका क्षेत्रमा राम्रा काम भए पनि केही सुधार गर्नुपर्ने औंल्याए। ‘सन्तुलित जनसंख्याको वितरण र प्रभावकारी जनसंख्या व्यवस्थापनको मार्गमा जनसंख्याका खासखास सूचकहरुमा सुधार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधार निर्माण गरी अव्यवस्थित सहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको छ।’

देशको आधा हिस्साभन्दा बढी रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैंगिक समानता, रोजगारीजस्ता विषयहरुमा राज्यले विशेष रूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो।

यस वर्षको विश्व जनसंख्या दिवसको नारा ‘कोभिड-१९ संक्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं,’ रहेको छ। सन् १९८७ मा विश्वको जनसंख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन्।

नेपालको जनसंख्या करिब तीन करोड पुगेको छ। त्यसमध्ये सहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसंख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले जानकारी दिइन्। यसैगरी नेपाल विश्वको जनसंख्याको ४९ औँ स्थानमा रहेको छ। नेपालको औसत आयु ७१.७४ छ भने प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *