बायर्न २०औं पटक जर्मन कप च्याम्पियन

खेलकूद विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडाैं, २१ असार

यो सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जितेको जर्मन महारथी बायर्न म्युनिख जर्मन कप (डिएफबी पोकल) को च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बायर लिभरकुसनमाथि ४–२ को जित निकाल्दै बायर्न २०औं पटक जर्मन कप च्याम्पियन बनेको हो ।

बर्लिनमा भएको खेलमा बायर्नलाई ४-२ गोलको जित दिलाउन रोबर्ट लेवान्डोवस्किले दुई तथा डेभिड अल्ब र सर्जे ग्नाब्रीले एक/एक गोल गरे । लिभरकुसेनका लागि स्भेन बेन्डेर र कई हाभर्टले एक/एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यस्तै २४ औं मिनेटमा सर्जेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले जोसुआ किमिचीको पासमा गोल गर्दै पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए ।

खेलको ६९ औं मिनेटमा लेवान्डोवस्किले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै लिभरकुसेनका एन्डेरले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । खेल सकिन एक मिनेट बाँकी हुँदा लिवान्डोवस्किले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-१ गोलको अग्रता दिलाए । तर खेलको इन्जुरी समयमा हाभर्टले पेनाल्टीमा गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए पनि हार टार्न भने सकेनन् ।

गतवर्षको समेत च्याम्पियन रहेको बायर्नले यस सिजनसहित २०औं पटक जर्मन कपको उपाधि जितेको छ । यता लिभरकुसेनले भने आफ्नो २७ वर्षपछि पनि इतिहास फर्काउन सकेन । लिभरकुसेनले पछिल्लो पटक सन् १९९३ मा जर्मन कपको च्याम्पियन बनेको थियो । त्यसयता लिभरकुसेनले २००२, २००९ र यस वर्ष गरि तीन पटक जर्मन कपको फाइनल खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *