प्रहरी हस्तक्षेपका बावजूद खोकनावासीको रोपाइमा उपत्यकाबासीको समर्थन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
ललितपुर, २० असार


जनसरोकार समिति खोकनाको आयोजनामा आज खुदडोलफाँट खोकनामा प्रहरी हस्तक्षेपका बावजूद पनि रोपाइ सम्पन भएको छ । खोकनाबासीको रोपाइमा उपत्यकाबासीले साथ दिएका कारण उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।


प्रहरी र किसानबीचको झडपमा १०–१५ जना घाइते भएका छन् । शान्तिपूर्ण रुपमा रोपाइ भइराखेको उक्त स्थानमा प्रहरी आफै ढुंगा हानी उत्तेजित पारेको आयोजकको भनाइ छ । आजको रोपाइमा विशेषतः भक्तपुरबासीको ऐक्यबद्धताका कारण खोकनाबासीको मनोबल बढेको छ ।


रोपाइस्थल पुग्नुअघि खोकनाबस्तीबाट नाराजुलुशसहित र्‍याली भएको थियो । र्‍याली अघिको कार्यक्रममा समितिका अध्यक्ष नेपाल डंगोलले आज पाँच जना पीडित किसानको जग्गामा रोपाइ हुने बताए । उनले पीडित किसानको निम्ति ऐक्यबद्धता दिने सबैमा आभार प्रकट गरे । उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णभक्त डंगोलले फास्ट ट्रयाकको रुपमा मात्र होइन, हरेक बहानामा खोकनाबासीको सम्पूर्ण जग्गा हडप्न खोजेको आरोप लगाए । उनले ऐतिहासिक क्षेत्र खोकना बचाउनका लागि उपत्यकाबासी उठेको बेला खोकनाबासी अब चुप लागेर नबस्ने बताए ।
कुटो, कोदालो, धानको बीउलगायतका कृषि औजारसहितको उक्त र्‍यालीमा सचिब कृष्णचन्द डंगोलले पनि खोकनाबासीको पीडा पोखेका थिए ।


र्‍यालीमा पीडित किसान एकता जिन्दाबाद, सुरुङमार्ग चाहिँदैन, हाइटेन्सन चाहिँदैन, पेट्रोलियम पदार्थको भण्डारण चाहिँदैन, फास्ट ट्रयाक चाहिँदैन, रोपाइ गर्न पाउनुपर्छ, रोपाइ रोक्न पाइँदैन, स्मार्ट सिटी चाहिँदैन, वागमती कोरिडोर चाहिँदैन, रेलवे परियोजना चाहिँदैन, गरिब जनता एक होऔं लगायतका नारा लगाएका थिए । रोपाइपश्चात रोपाइस्थलमै समापन कार्यक्रम भएको थियो । कार्यक्रममा उपाध्यक्ष कृष्णभक्त डंगोलले आफ्नो हकहितको लागि लड्नुपर्ने, मौलिक सम्पदा संरक्षण गर्नुपर्ने बताए । उनले वि.सं. २०६४ देखि हालसम्म विना मुआब्जा जग्गा अधिग्रहण गरी रोपाइसम्म नगराइ फास्ट ट्रयाकलगायतका परियोजना ल्याएको बताएको छ । कार्यक्रममा उनले प्रहरी हस्तक्षेपको घोर भत्र्सना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *