न्यूज अपडेट संवाददाता
भक्तपुर, ६ पुस

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मङ्गलबार एक भव्य समारोहबिच उद्घाटन भयो ।
कार्यक्रमको उद्घाटन गर्दै अतिथि बिजुक्छेँले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको अभिन्न अङ्ग भएको बताउनुभयो । खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउँदै अध्यक्ष बिजुक्छेँले समाजवादी देश क्युवा खेलकुदमा धेरै प्रगति गरेको देश भएको बताउनुभयो ।
खेल स्वास्थ्य, अनुशासन र मित्रताका लागि मात्र होइन देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरू खेलकुदमा सहभागी हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री र प्रशिक्षकहरू तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउँदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गर्नुभ्यो ।
उहाँले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं. ८ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको जानकारी गराउँदै हाल भनपा १० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र महेश्वरी खेलमैदान र सहिदस्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको अवगत गराउनुभयो ।
उहाँले भन्नुभयो, “देशको लागि स्वस्थ र सक्षम नागरिक तयार गरी खेलकुद क्षेत्रमा पनि नमुना विकास गर्न भनपा लागिरहेको छ ।”
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइसँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण हुने बताउँदै खेलकुद क्षेत्रलाई अझ फराकिलो बनाउँदै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिँदै उहाँले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीहरूको अधिकारको विषय बनाइनुपर्ने विषयमा विद्यालय कलेजहरूमा छलफलको विषय बनाई शिक्षित बनाउनुपर्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले खेलकुदमा हारजित स्वाभाविक भएको बताउँदै अनुशासन र मित्रताको लागि खेलकुदमा सहभागी हुन खेलाडीहरूलाई हौसला प्रदान गर्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष तथा भक्तपुर नपा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वान्डो, कराते, एथ्लेटिक्स, ब्याडमिन्टन, जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १४ ओटा खेलका लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला कबड्डी सङ्घका अध्यक्ष विनोद प्रजापति, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा र भनपा ८ वडा सदस्य रामसुन्दर बासीले खेलकुदको महत्वबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटनअघि दत्तात्रयमा भनपा वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले बोल्नुभएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायत खेलप्रेमीहरूको उपस्थितिमा र्याली सुरु भएको थियो । दत्तात्रयबाट सुरु भएको उद्घाटन र्याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
उद्घाटन कार्यक्रममा निर्णायकको तर्फबाट भलिबल खेलका राष्ट्रिय रेफ्री रुकेश शाही, प्रशिक्षकको तर्फबाट बासु माविका पुनेन्द्रप्रसाद कुसी र खेलाडीको तर्फबाट विद्यार्थी रीतिका महर्जनले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढङ्गले सञ्चालन गर्न शपथग्रहण गर्नुभएको थियो । सोही समारोहमा खेलाडीहरूले जिम्नास्टिक खेलको कौशल प्रस्तुत गरेका थिए ।