भक्तपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने आम्दानीका स्रोतहरुको पहिचान गर्न आवश्यक- सांसद सुवाल

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ७ असार

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद प्रेम सृुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन कार्यक्रम आइतबार भएकाे छ ।

समारोहमा सांसद सुवालले भक्तपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने आम्दानीका स्रोतहरुको पहिचान गर्न आवश्यक भएको बताए । भक्तपुर नगरपालिकाले समाजवादी देशको शिक्षा नीति र पद्धतिबाट सिक्दै आफ्नो शैक्षिक नीतिहरुलाई अगाडि बढाउनुपर्ने, खेलकुदमा प्राप्त पदकलाई शैक्षिक योग्यतासँग जोड्ने नीति अगाडि सार्नुपर्ने भन्दै उनले राजस्व र कर संकलनले मात्र देशको आर्थिक विकास नहुने बताए।

सत्तारुढ नेकपाले ल्याएको नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावमा असहमति जनाउँदै सांसद सुवालले विदेशी बुहारीलाई कम्तीमा १५ वर्षपछि मात्र अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राख्नुपर्ने धारणा राखे। विदेशी नागरिकता त्यागेको प्रमाणित भइसकेपश्चात मात्र अंगीकृत नागरिकताको बन्दोबस्त गर्नुपर्ने अडान उनको थियो ।

सांसद सुवालले उपभोक्ता समिति र अमानतबाट हुने विकास निर्माणका कार्यहरुमा आर्थिक अनुशासनको खाँचो आवश्यक भएको बताउँदै जनप्रतिनिधिहरुले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने — ‘सिंहदरबारलाई पुरानो गाडी थन्क्याउने थलो बनाइरहेको छ । अनावश्यक नयाँ गाडी किनेर धेरै फजुल खर्चका कारण देशको स्थिति झन् कमजोर हुँदै गएको छ ।’
अपराधी र कर्पोरेटहरुले चलाएको देशमा व्यापक जनताको हित नहुने भन्दै सांसद सुवालले शासक दलहरुले व्यक्तिगत फाइदाको निम्ति मात्र राजनीति गरिरहेको बताए ।
देशको सन्तुलित विकासको लागि देशका विभिन्न ठाउँहरुमा स—साना सहरहरुको विकास, युवाहरुलाई कृषिमा आकर्षण, जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने उनले बताए ।

कार्यक्रमको सभापतित्व ग्रहणसँगै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आव २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नीतिभन्दा व्यक्तिगत पहुँचको आधारमा संघ र प्रदेशको बजेट विनियोजन हुने गरेको भन्दै प्रमुख प्रजापतिले अहिले पनि जनप्रतिनिधिहरू सिंहदरवार धाउनुपर्ने सामन्ती संस्कारले निरन्तरता पाइरहेको बताए।
केन्द्र र प्रदेशको आदेश र निर्देशनमा शासन चलाउन खोज्नु संघीयताविपरीत भएको बताउँदै उनले स्थानीय तहहरू स्वायत्त छन् र पूर्ण स्वायत्त हुनुपर्ने र स्थानीय तहको अधिकारमाथि कहीं कतैबाट कुनै किसिमको हस्तक्षेप हुन नहुने बताए ।

उनले घना जनसंख्याका कारण उपत्यकामा फोहरमैला व्यवस्थापन, खानेपानी, ट्राफिक जाम र वातावरण प्रदुषण जस्ता समस्याहरू दिनानुदिन बढिरहेको अवस्थामा उपत्यकामा ठूल्ठूला उपसहरहरूको विकासले उपत्यकावासीले थप समस्या भोग्नुपर्नेे बताए ।
संकटको बेला जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने मान्यताकासाथ जनतालाई कुनै समस्या नपरोस् भन्ने कुरामा भक्तपुर नपाले सचेततापूर्वक काम गर्दै आइरहेको र कोरोना भाइरस संक्रमण तथा नियन्त्रणको लागि नियमित सरसरफाइ, राहत वितरण, तरकारी बजार व्यवस्थापन, टोल–टोलमा साबुन पानीको व्यवस्था, टोल टोलमा क्लोरिनसहित बिषादी छर्किने, बाहिरबाट आएकालाई क्वारेन्टाइनको व्यवस्था र दैनिक माइकिड्ड गरी जनचेतना जगाउने कार्यहरू गर्दै आएको बताए ।

नेमकिपा केन्द्रीय सदस्य एवम् प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कुशल रुपमा कार्यान्वयन हुने विश्वास प्रकट गरे।
दुई तिहाईको नेकपा सरकारले ल्याएको प्रदेशको नीति तथा कार्यक्रम र बजेट पुँजीवादी चरित्रबाट अभिप्रेरित भएको बताउँदै सांसद गोसाईंले आर्थिक र सामाजिक संकटको समयमा जनप्रतिनिधिलगायत सम्पूर्ण निकायहरुले दत्तचित्त भई इमानदार, निःस्वार्थ र अनुशासित ढंगले काम गर्न प्रेरित गरे।

जनप्रतिनिधिहरुले जनताको आलोचनाबाट डराउन नहुने र समाजको सेवालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्दै उनले शासक दलहरुले भ्रष्टाचारी र कमिसनखोरहरुलाई गरेको संरक्षणका कारण देश आर्थिक रुपले पछाडि धकेलिरहेको बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जाेशीले स्वागत गर्दै काठमाडौं उपत्यकामा भएका बस्तीहरु व्यवस्थित गर्न जरुरी भएको बताइन् । उनले उपत्यकाको क्षमता अनुसार मात्र नयाँ बस्ती बसाल्नुपर्नेमा जोड दिँदै नगरवासीहरुको साथ र सहयोगमा नगरको चौतर्फी विकासका लागि विकास निर्माणका कामहरु/संरक्षणका कामहरु निर्वाध रुपमा अगाडि बढाइरहेको स्पष्ट पारिन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले देश विकासको लागि सम्पूर्ण स्थानीय तहहरुले उदाहरणीय कार्यलाई प्राथमिकता दिई बजेट तथा नीति र कार्यक्रममा समावेश गरी त्यसको असल कार्यान्वयन गर्नु आवश्यक रहेको बताइन्। भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापनाको लागि गरिरहेको पहलले भक्तपुर र देशकै शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रजिअ पाण्डेले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने
बताइन् ।

नगरसभा उद्घाटन समारोह कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले धन्यवाद ज्ञापन गरेको थियो भने भक्तपुर नपा वडा नं.९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि मन्तव्य व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *