अन्ततः एमसीसीबाटपछि हटे ओली

राजनीति विशेष समाचार समाचार
काठमाडाैं, ४ असार

अमेरिकी विकास सम्बन्धी सहयोग परियोजना विकास मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने योजनाबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्न तयार भएका छन् । शुक्रवार सचिवालय बैठक बसेर १० असारमा स्थायी कमिटीको बैठक बस्ने छ । उक्त बैठकले एमसीसीको बिषयमा आधिकारिक निर्णय गर्नेछ । पार्टीको सचिवालय र स्थायी कमिटीमा यथास्थितिमा एमसीसी पास गर्नु नहुने पक्षहरूको बाहुल्यता छ ।

प्रधानमन्त्री ओलीले पार्टीबाट नभई संसदबाट एमसीसी पारित गर्ने रणनीति बनाएपनि अन्ततः पार्टीको निर्णय मान्नैपर्ने अन्यथा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हट्नुपर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओली पछि हटेको स्रोतले दाबी गरेको छ । यसको अर्थ एमसीसी संसदबाट पारित हुने सम्भावना सकिएको छ ।

अर्कोतिर प्रधानमन्त्री ओली एमसीसीबाट पछाडि हट्नुमा चीनको चासो पनि कारक रहेको बताइन्छ । एकातिर सत्तारूढ नेकपाका बहुमत सदस्यहरूले एमसीसीलाई इन्डो प्यासिफिक रणनीति अन्तरगत भएको भन्दै एमसीसीबाटपछि हट्न दबाब दिंदै आएका छन् । अर्काेतिर चीनले समेत इन्डो प्यासिफिकलाई अमेरिकाले आफ्ना विरुद्ध चालेको चाल भन्दै अमेरिकाको एशियामा आफ्नो प्रभुत्व जमाउने रणनीतिको रूपमा लिएको छ ।

चीनको विदेश मन्त्रालयको धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले इन्डो प्यासिफिक रणनीतिबाट अमेरिकाले एशियामा प्रभुत्व जमाउन खोजेको उल्लेख गरेको छ । उसले एशियामा यो रणनीतिबाट चीनलाई घेरा हाल्न खोजिएको भनेको छ ।

अमेरिकी रणनीतिक परियोजनाहरुमा चीनको चासो निकै देखिएको छ । नेपालमा पनि एमसीसीप्रति चीनको धारणा सकारात्मक छैन । चीनले यस्ता विषयमा चासो नभएको जस्तो गरेपनि अमेरिकी रणनीतिक परियोजनालाई सकेसम्म नेपालमा प्रवेश गर्न नदिने योजना बनाएको छ । यो प्रकट रुपमै देखिदैछ ।

नेपालको कम्युनिष्ट सरकारमा चीनको प्रभाव बढेको विषय बाहिर आउने गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाल कम्युनिष्ट पार्टीको विशेष सम्बन्ध छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता आएर नेकपामा प्रशिक्षण दिएर गएका थिए । नेकपा नेताहरुको चीन ओहोरदोहोर बाक्लो हुँदै आएको छ । यसको असर एमसीसीलाई हेर्ने दृष्टिकोणमा देखिएको छ । नेकपाभित्र एमसीसीलाई पारित गर्न नहुने मत बलियो हुनुमा चिनियाँ प्रभाव पनि कारण हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पारित गर्ने पक्ष लिएपनि उनले अब पार्टीलाई देखाएर पछि हट्ने रणनीति बनाएका छन् । अमेरिकालाई भन्ने बाटो उनले पाएका छन् । पार्टीमा अल्पमतमा परियो भनेर अमेरिकी पक्षलाई मनाउन सक्ने अवस्था देखिएको छ । वास्तवमा ओलीले चीनलाई खुशी बनाउने चतुर्याई गर्न लागेको चर्चा समेत चलेको छ ।

चीनकै सहयोगमा ओलीको सत्ता हालै जोगिएको जगजाहेर नै छ । चिनियाँ राजदुत होउ यान्छी लकडाउनको बेलामा खुलेआम नेकपा नेताहरुको घर घर पुगिन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्तापछि चिनियाँ राजदुतको दौडाहा भएको थियो । चीनसँग ओलीले देखाएको निकटता र एमसीसीको विषयमा लिइने निर्णयको अन्तरसम्बन्ध सतहमै देखिनसक्छ । चीनले अमेरिकी रणनीतिलाई रोक्न खोजिरहँदा नेपालको सवालमा ओली त्यसमा सहयोगी बनेमा आश्चर्य नमाने हुन्छ ।

एमसीसीमापछि हटेर ओलीले दुईवटा फाइदा लिन सक्छन् । पहिलो पार्टीभित्र सम्भावित दुर्घटना टर्ने र चीनलाई खुशी बनाउने । तर, अमेरिका चिढिएमा उनका सामु चुनौती बढ्न सक्ने सम्भावना उत्तिकै छ । भारत चिढिएको अवस्थामा अमेरिका पनि चिढिएमा आउनसक्ने चुनौती उत्तिकै गम्भीर हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *