८ करोड ३४ लाख बढी मूल्यमा पीसीआर किट खरिद गर्दै स्वास्थ्य सेवा विभाग

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

स्वास्थ्य सेवा विभागले ८ करोड ३४ लाखरुपैयाँ बढी रकम कबुल गर्ने कम्पनीसँग पीसीआर किट र आरएनए एक्स्ट्र्याक्सन किट खरिद गर्नका लागि टेन्डर आवेदन गरेको कम्पनीसँग सम्झौताको तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको विभागले कम रकम कबुल गर्ने कम्पनीहरूलाई छोडेर सबैन्दा बढी रकम कबुल गर्ने लिस्टको दोस्रो नम्बरमा रहेको कम्पनीसँग पीसीआर किट र आरएनए एक्स्ट्र्याक्सन किट खरिद गर्ने निर्णय गरको छ।

विभागले १ लाख ५० हजार पीसीआर किट र १ लाख ५० हजार थान नै आरएनए एक्स्ट्र्याक्सन किट खरिदका लागि बढी रकम कबुल गर्ने कम्पनी ओम सर्जिकल कन्सर्नसँग खरिदका लागि सम्झौता गर्न लागेको हो।

तर, विभागले सस्तो मूल्यमा दिएको भन्दै चीनमै अयोग्य ठहर भएको कम्पनीका भिटिएम किट खरिद गर्ने निर्णय गरेको हो। ‘मेडिकल सामाग्री खरिदमा पूरै सेटिङ चलेको छ,’ विभागका एक कर्मचारीले भने, ‘सस्तो भन्दै भिटिएम किन्ने कम्पनीले मन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाकारको स्वार्थ पूरा गरिदिन महँगोमा पीसीआर किट र आरएनए एक्स्ट्र्याक्सन किट खरिद गर्ने काम भएको छ।’

विभागले पीसीआर किट र आरएनए एक्स्ट्र्याक्सन किट खरिदका लागि जेठ ११ गते सूचना प्रकाशन गरेको थियो। उक्त प्रस्तावमा १४ वटा कम्पनीले पिसिआर किट र आरएनए एक्स्ट्र्याक्सन किट दिने इच्छाप्रकट गर्दै टेन्डरमा सहभागी भएका थिए। तर, विभागले  बढी रकम कबुल गर्ने कम्पनीहरुको दोस्रो नम्बरमा रहेको कम्पनी ओम सर्जिकल कन्सर्नसँग २४ करोड ८१ लाख रुपैयाँमा उक्त सामान दिने प्रस्ताव पेस गर्नेुसँग उक्त सामाग्री खरिद गर्ने निर्णय गरेको हो।

सोही प्रस्तावमा हाम्रो बालाजी जेभीले पीसीआर किट र आरएनए एक्स्ट्र्याक्सन किट १६ करोड ४७ लाख रुपैयाँ दिने कबुल गरेको थियो भने सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनी भने सुदीप इन्टरनेसनल थियो। सुदिप इन्टरनेसनलले भने २५ करोड ४४ लाख रुपैयाँमा १ लाख ५० हजार पिसिआर किट र १ लाख ५० आरएनए एक्स्ट्र्याक्सन किट दिनसक्ने कबुल गर्दै प्रस्ताव पेस गरेको थियो।

तर, विभागले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाकार डा खेम कार्कींको स्वार्थमा ओम सर्जिकलसँग उक्त सामग्री खरिद गर्ने निर्णय गरेको छ। कम रकम कबुल गर्ने कम्पनी छोडेर महँगो रकम कबुल गर्ने कम्पनीसँग किन पिसिआर किट र आरएनए एक्स्ट्र्याक्सन किट खरिद गर्न लागेको भनेर हामीले विभागमा जिज्ञासा राखेका थियौं। विभागका एक उच्च अधिकारीले भने ‘अन्य विषय भन्दा पनि ओमले दिन लागेका सामग्री गुणस्तरीय छन्।’

विभागले पीसीआर किट र आरएनए एक्स्ट्र्याक्सन किट खरिदमा गुणस्तरको कुरा गरेपनि १ लाख ७० हजार भिटिएम खरिद गर्दा भने चीनमा नै प्रतिबन्ध लगाएको कम्पनीको उत्पादन दिने भन्दै कम रकम कबुल गर्ने कम्पनी जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग खरिद सम्झौता गर्नका लागि पत्र पठाइसकेको छ।यसबाट के प्रष्ट हुन्छ भने मेडिकल सामग्री खरिद गर्दा गुणस्तरभन्दा बढी कमिसन हेर्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *