लकडाउनलाई देखाएर सेयर बजार बन्द गरेर नबस्न धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन, सेटलमेन्ट समय घटाईने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, २६ जेठ

अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनकै कारण लामो समयसम्म सेयर बजारलाई बन्द बनाएर नराख्न निर्देशन दिएका छन् । ‘सरकारले लकडाउन गरेको छ भनेर धितोपत्र बोर्डले पूँजी बजारलाई सधै बन्द गरेर बस्न मिल्दैन,’ बोर्डको २८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘आफुसँग भएको सेयर स्वामित्व कारोबार गर्न नपाउँदा लगानीकर्ताहरुलाई समस्या परेको छ यस विषयमा बोर्डले आफ्ना सिस्टमलाई परिस्कृत गर्दै बजार संचालन गर्नेतर्फ सोच्नुपर्छ ।’

कोरोनासँगै मानिसको जीवनयापन संचालन गर्नुपर्ने भएकाले आधारभूत आर्थिक क्रियाकलाप संचालन गर्न अबका दिनमा पूँजी बजार खुला गर्नेतर्फ ध्यान दिन अर्थमन्त्री खतिवडाले सेवोन र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएका छन् । साथै उनले पूँजी बजारमा बढी तरलता ल्याएर पूँजी परिचालन गर्न हाल रहँदै आएको T+3 को सेटलमेन्ट समयलाई समेत घटाउनु पर्ने बताए ।

यसैगरी सेयरको मूल्य अनुमान योग्य बनाउनका लागि बजारमा संस्थागत लगानीकर्ताहरुको प्रवेशलाई बढवा दिनुपर्ने बताए । बैंक खाता वा डिम्याट खाता खोल्नुमात्रै सेयर बजारमा आवद्ध भएको नहुने भन्दै सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिताको सुनिश्चितता गर्न बजारको सूचना प्रणालीदेखि कम्पनीको वित्तीय विवरणलाई समेत पारदर्शी बनाएर राख्नुपर्ने बताए । पछिल्लो धितोपत्र बोर्डजस्ता स्वायत्त निकायले गरेका निर्णयका सम्बन्धमा बाहिर धेरै विरोध आउने गरेको भन्दै यसलाई आन्तरिक रुपमै मिलाउनुपर्ने बताए ।

कोरोना महामारीबाट विश्व सेयर बजारलाई नै ठूलो असर पुर्याएको भन्दै अबका दिनमा नेपालको पूँजी बजारलाई सार्क क्षेत्रमा विस्तार गर्नुपर्ने बताए । ‘सार्क क्षेत्रमा पूँजी परिचालन गर्न होस् वा प्रविधि हस्तान्तरणका लागि पनि अबका दिनमा सोही अनुरुप पूँजी बजारलाई विस्तार गर्नु जरुरी छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *