न्यूज अपडेट
भक्तपुर, १५ जेठ

जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवार सभ्यता र संस्कार अनुरुप हरेक वर्ष सिथि नखः पर्व मनाईन्छ ।
महिना जेष्ठको छ, बादलहरु आकाशमा पानी बोकेर हिँड्न उड्न थालिसके, अब आकाश अनि धर्ती दुबैतर्फ तैयारी छ, वर्षायामको ।
वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाईको कुरा आउँदछ । वर्षायामको तयारी अनि पानीको मुहानको सरसफाईका लागि नेवारी सभ्यता र संस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखः चाड मनाईने चलन छ ।
काठमाडौ उपत्यका जसरी मन्दिरको शहरका रुपमा प्रचलित छ, त्यसैगरी काठमाडौ पाटी पौवा अनि पोखरी, ईनार, ढुंगेधारा र कुवाँहरुको शहर पनि हो । पानीको स्रेातका लागि अत्यन्त महत्वपूर्ण यी कुराहरुको सरसफाई र सुब्यबस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाईने चलन भएको हो । आजको दिनमा काठमाडौ उपत्यका अनि काठमाडौ वासीहरुलाई सिथि नखः को महत्व अझै वढेर गएको छ ।
यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्दछ । आजको दिन ईनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नुपूर्व सरसफाई गर्ने चलन छ । यसरी सबैजना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्याकारी हुने दुरगामी संस्कार प्रशंसनीय छ ।

यसरी सिथि नखः मा सरसरफाई गरिसकेपछि केही दिनकालागि पानीका मुहानलाई प्रयोग नगरिकन पानीलाई चलाउनहुन्न र स्थिर गराएर पानीको सतह राख्नपर्दछ भन्ने मान्यता छ । पानी सफा गर्दा ईनार भित्र पसेर, पोखरी अनि कुँवामा पसेरनै सफा गरिन्छ र यसो गर्नाले पानीका तलका सतहहरु जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरु माथि आउने हुन्छ । ती कुराहरु तल्लो तहमा थिग्रेर राख्नका लागि पनि केही दिन पानीको मुहान प्रयोग नगरिकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दुध, घ्यू, मह, दही लगायतका कुराहरु हालिन्छ ।
उपत्यकामा पहिले जस्तो खुला जमिन र माटोको सेरोफेरो थोरै हुनगएकाले पानीको मुहान स्वच्छ र भरिभराउ नभएको तथ्य छ । जतिसुकै धेरै वर्षाको पानी परेतापनि वरपर सिमेन्टको भुई भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दानै धेरै जसो पानीका मुहानहरु सुक्दै गएका अनि उपत्यकाबासीहरु पाईप, ट्याकंर अनि जारका पानीमा धेरै निर्भर रहनुपरेको तथ्य पनि जायज छ ।
सिथि नखः का दिन पानीका मुहानको सामुहीक सरसफाई गरिसकेपछि घरघरमा गएर परम्परागत नेवारी खानाहरु बारा, चटामरी, छोयला आदिजस्ता परिकारहरु खाने चलन छ । यसै दिन भक्तपुरको चासुखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौको जैसिदेवलको शिवपार्वतीका जेष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिर्याँउदै गहना र आभुषण लगाईदिएर खटमा राखेर नगर परिक्रमा गराईने चलन छ । नेवार समुदायले आफ्नो घर प्रवेश द्वारमा राख्ने आठवटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँदछ । कुमार कार्तिकेयका वारेमा केही कुरा गर्न चाहयौ, शिवजीका यी पुत्र अलौकीक सैनिक दस्ताका महासेनानीका रुपमा पुराणहरुमा ब्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरुको वध गर्न सक्ने यी बलवानलाई गंगाका पुत्रका रुपमा पनि ब्याख्या गरिएका पात्र हुन् । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गंगाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ । गंगा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन्, यसअर्थमा गंगाका स्वरुप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग धेरै अन्तरसम्बन्ध पाईन्छ ।
वातावरण, पर्यायवरण अनि जीवनशैलीको अनुपम समिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाईको पाठ सिकाईरहेको छ ।
हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनाका मार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरु चलाईरहिएको छ, नियालेर हेर्ने हो भने हाम्रो पुराना सस्कारहरुनै आँफैमा वैज्ञानिक र परिवर्तनकारी छ । सिथि नखः को शुभकामना, हाम्रा पानीका मुहान र चित्त दुबै शुद्ध र सफा हुन् ।
यस वर्ष भने विश्व महामारी रेागका रूपमा रहेकेा केारेानाले गर्दा बन्दाबन्दीकेा अवस्थामा छ ।