बिस्का जात्रा व्यवस्थित रूपमा सञ्चालन गर्न सद्भाव र्‍याली

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २७ चैत


२०७८ चैत्त २७ गतेदेखि शुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम भएको छ ।

भक्तपुरको टौमढीमा आयोजित उक्त सभामा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा समयमै सम्पन्न गर्न सरोकारवाला निकायहरुले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

भक्तपुरको सभ्यता र संस्कृतिलाई जोगाउन भक्तपुर नपाबाट आयोजित सद्भाव र्‍यालीमा नयाँ पुस्ताको उत्साहप्रद सहभागिता रहेको उल्लेख गर्दै विश्वमै भक्तपुरको बिस्का जात्राको विशेष महत्व भएको हुँदा बिस्का हेर्न आउने सबैलाई जात्रा सभ्य, भव्य र सुरक्षित बनाउन आग्रह गरे ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको प्रसिद्ध जात्रा भएको हुँदा यसलाई सभ्य तरिकाले सम्पन्न गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरी जात्रा समयमा सम्पन्न गर्न आग्रह गरिरहेको बताए । आज आइतबारदेखि सुरु हुने बिस्का जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउँदै प्रमुख प्रजापतिले जात्राको समयमा हुने उच्छृंखल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्ने र जात्रालाई सहज रुपमा सञ्चालन गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

विद्यार्थीहरुलाई यहाँको सांस्कृतिक सम्पदाको महत्वबारे थाहा दिन अनेक प्रयासहरु गर्दै आइरहेको बताउँदै भक्तपुरको मूर्त र अमूर्त सम्पदा संरक्षणमा नपाले जोड दिँदै आइरहेको बताए । भक्तपुरलाई संसारकै जीवित संग्रहालयको रुपमा जीवित राख्ने प्रयासमा नपाले आवश्यक पहलहरु गर्दै आइरहेको उनले बताए ।

भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्ति सुरक्षाको निम्ति व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।

 

त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले भक्तपुरको धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको प्रसिद्ध बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्दै बिस्का जात्रा समन्वय, सहकार्य र समझदारीको आधारमा भव्य, सभ्य र सुरक्षित तरिकाले सफल पार्न अनुरोध गरे ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेको थियो । सचेतना कार्यक्रम शुरु हुन अगाडि भक्तपुर नपा वडा नं. ९ को सूर्यमढी र भनपा १ दुधपाटीबाट शुरु भएको सद्भाव ¥याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । र्‍यालीमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोलेको थियो । सचेतना कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *