भारतमा नेपाली राजदूतको अपमान, भारतीय राजदूतलाई बालुवाटारको रेड कार्पेट !

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, १३ जेठ

भारतद्वारा अतिक्रमित नेपाली भू-भाग समेटेर सरकारले केही दिन अगाडि नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा दरार देखापरेको छ ।

यही समयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भने भारतीय विदेश मन्त्रालयको व्यबहारबाट पटकपटक अपमानित बन्दै आइरहेका छन् । राजदूत आचार्यले प्रधानमन्त्री त के विदेश मन्त्रालयको नेपाल डेक्स हेर्ने सहसचिवलाई समेत भेट्न सकेका छैनन् । नेपाली राजदूतलाई अपमान गर्दै भारत आफू शक्तिशाली रहेको सन्देश दिइरहेको विश्लेषण कुटनैतिक क्षेत्रका जानकारहरू बताउँछन् ।
यता काठमाडौमा भने प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत विनयमोहन क्वात्रा पटकपटक भर्चुअल छलफल मात्रै होइन प्रधानमन्त्रीको ‘रेड कार्पेट’ को आतिथ्यता नै पाएको सार्वजनिक भएको छ । शुक्रबार र शनिबार साँझ भारतीय राजदूत र प्रधानमन्त्रीबिच छलफल भएको स्रोतले दावी गरेको छ ।

प्रधानमन्त्री ओलीले भारतले नेपाली भूमी अतिक्रमण गरेको र यस्ता विवादित बिषय वार्ताको माध्यमबाट टुंग्याउन जोड दिइरहेका छन् । भारतीय राजदूतसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालसँग पर्याप्त तथ्य र प्रमाण रहेकाले लिम्पियाधुरा सहितका अतिक्रमित भू-भाग समेटिएको नक्सा जारी गरिएको जानकारी भारतीय राजदूतलाई दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीको छलफलमा भारतीय राजदूत क्वात्रासँगै भारतीय गुप्चतर संस्था ‘रअ’ उच्च प्रतिनिधि समेत सहभागी भएको दावी छ । प्रधानमन्त्रीसँगको भेटमा राजदूत क्वात्राले के सन्देश दिए भन्ने सार्वजनिक भएको छैन । नेपालले भारतसँग वार्ताको प्रयास गर्दा भारतले विभिन्न बहानामा अस्वीकार गर्दै आएको समयमा प्रधानमन्त्री ओलीको राजदूत क्वात्रासँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।

उता दिल्लीमा नेपाली राजदूत पटकपटक अपमानित हुँदा यता प्रधानमन्त्रीले नै भारतीय राजदूतलाई बालुवाटारमा ‘रेड कार्पेट’ बिच्छाएर स्वागत गर्दा नेपाली राजदूतको अपमानलाई नेपालले समेत अनुमोदन गरेको जानकारहरूको भनाइ छ । आफ्ना राजदूतले नेपाल डेक्स हेर्ने सहसचिव भेट्न नपाएको बेलामा यता प्रधानमन्त्रीले नै भेट गर्नुलाई आशंकाको नजरले हेर्ने पनि उत्तिकै छन् ।

भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नेपालले संशोधित नक्सा जारी गरेपछि भारतले तत्काल विज्ञप्ति जारी गरेर नयाँ नक्सालाई स्वीकार नगर्ने बताएको थियो । यसअघि भारतले नेपाली भूमि अतिक्रमित गर्दै चीनको सिमानासम्म पुग्ने सडक बनाएपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदै भारतलाई कुटनीतिक नोट पठाएर विरोध गरेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपालको असन्तुष्टि जारी गरेका थिए । नेपालले सीमालगायतका समस्या समाधानका लागि भारतलाई वार्ताका लागि पटक पटक गरेको आग्रहलाई भारतले अटेरी गरेपछि सरकारले गत बुधबार औपचारीक रुपमा वास्तविक नक्सा सार्वजनिक गरेको थियो । यो प्रकरणले भारत उत्तेजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *