नेपालको नयाँ नक्सा सार्वजनिक, भारतद्वारा अस्वीकार

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, ८ जेठ

नयाँ नक्सा सार्वजनिक गर्दै भूमि व्यवस्थामन्त्री पदमा अर्याल ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदले सेामबार स्वीकृत गरेकेा नक्सा सार्वजनिक गरेकी हुन् ।

यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।

अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग हुनेछन् । साथै आम प्रयोगकर्तालाई पनि अब नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्न मन्त्री अर्यालले आग्रह गरिन् ।

हामी पुल्कित भएका छौं : मन्त्री अर्याल

भूमिसुधारमन्त्री अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक गर्न पाउँदा आफूहरु गौरवान्वित र पुल्कित भएको बताइन् । ‘नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसरमा सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण हो’ उनले भनेकी छन् ।

१८१६ को सुगौली सन्धीअनुसार काली नदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भएपनि हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय भएको उनले बताइन् ।

‘यो निर्णयले नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ’ भूमिसुधारमन्त्री अर्यालले भनिन्, ‘आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारत सरकारसंग द्विपक्षीय वार्ता र कुटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौ । मित्रराष्ट्र भारतले सकारात्मक रुपमा लिनेछ भन्ने विश्वास लिएका छौं ।’

नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्यः भारत

भारतले नेपालकेा नयाँ राननीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने बताएको छ । सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछैां ।’ सम्बादका माध्यमबाट सीमासम्बन्धी समस्या समाधान गर्ने पूर्व सहमतिको उल्लंघन गर्दै भारतीय भूमी दावी गर्नेगरी आएको यो नक्सा स्वीकार्य नहुने उसले बताएको छ ।

साथै नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे । यस्ता एकतर्फी कार्यबाट टाढै रहन र वार्तामार्फत् सीमासम्बन्धी समस्या समाधानका लागि वातावरण बनाउन उसले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

भारतले नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

नेपाली भूभागलाई समेटेर नक्सा जारी गरेको भन्दै नेपालले विरोध गर्नुका साथै कूटनीतिक नोट पठायो । सीमा विवादबाट सम्वाद गर्ने परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको मिति दुई पटक प्रस्ताव गरिसकेको छ ।

तर, भारतले बैठक टार्दै आएको थियो । साथै लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको कोभिड-१९ को महामारीकै बेला उद्घाटन गरेपछि नेपालले विरेाध गर्‍येा ।  तत्काल सीमा विवाद सम्बादबाट समाधान गर्न चाहेको भन्दै परराष्ट्र मन्त्रालयले बिज्ञप्ति जारी गरे पनि भारतले त्यसलाई बेवास्ता गरेको थियो ।

कोरोना संकट समाधान भएपछि सम्वाद गर्ने  भारतले फेरि वार्ता टार्न  खोजेपछि नेपाल सरकारले सोमबार मन्त्रिपरिषद्बाटै नयाँ नक्सा पारित गरी बुधबार अपरान्ह सार्वजनिक गरेको थियो ।

वार्ताका लागि पटकपटक नेपालले गरेका प्रयासलाई लत्याएको भारतले यसपटक भने वार्ता गर्न चाहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *