Wednesday, May 08, 2024

हतियार र सैन्य शक्तिले जित्दैन सबै लडाइँ

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट

भारतले लिपुलेक क्षेत्रमा अतिक्रमण गरी सडक बनाएको विरोधमा पत्रकार समाज नेपालको आयोजनामा शनिबार अनलाइन प्रवचन कार्यक्रम भएको छ। कार्यक्रममा वक्ताहरूले भारतले एकतर्फीरूपमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोमा विरोध गर्दै नेपाल सरकारले तत्कालै त्यसको प्रतिरोध गर्नुपर्ने बताए।

            कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘नेपाललाई कुनै अरू देशले उक्साएकोले लिपुलेकमा सडक निर्माणको विरोध गरेको’ भन्ने भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रति कडा विरोध गर्दै भने, “यो विषयमा भारतीय सेनाको प्रमुखले बोल्ने होइन । हातहतियार र सैन्य शक्तिले संसारका कुनै पनि लडाइँको छिनोफानो भएको इतिहास छैन ।”

            राजनीतिले नै देश–देशबीचको समस्या समाधान हुने चर्चा गर्दै उनले यदि सैन्य शक्तिले मात्र कुनै पनि युद्धको टुङ्गो लाग्ने भए भियतनाम युद्धमा संरा अमेरिकी सेना भाग्नुनपर्ने, दोस्रो विश्वयुद्धमा मुसोलिनी र हिटलर पराजित नहुने र नेपोलियन पनि सेन्ट हेलेना टापुमा कैद हुन नपर्ने बताए ।

            भारतमा सत्तासीन भारतीय जनता पार्टीको धर्म, जाति, अन्धराष्ट्रवाद, अति राष्ट्रवाद सफल नहुने भन्दै अध्यक्ष बिजुक्छेँले भारतीय शासक वर्गको आक्रामक फासीवादी नीतिबाट दक्षिण एसियाली देशहरू सजग हुनुपर्ने आवश्यकता औँल्याए।

            अध्यक्ष बिजुक्छेँले संरा अमेरिका स्वयम् पतनोन्मुख भएको अवस्थामा त्यहाँका शासक वर्गको सहयोगमा भारतीय शासक वर्गले दक्षिण एसियामा आफ्नो आक्रामक नीति लागू गर्न खोज्नु बुद्धिमानी नहुने उल्लेख गर्दै भने, “अमेरिकी साम्राज्यवादका दिन धेरै बाँकी छैन, अब अमेरिकी साम्राज्यवादी शक्तिलाई उसको ईश्वरले पनि जोगाउन सक्दैन ।”

            लिपुलेक तीर्थयात्रीहरूको मात्र बाटो नभएको बरू आवश्यक परे अहिले भारतले बनाएको बाटोमा सैनिक ट्याङ्क पनि गुड्न सक्ने धारणा राख्दै  उनले नेपाल साम्राज्यवादी युद्धको आधारभूमि बन्न सक्नेप्रति नेपाली जनता सजग हुनु जरुरी रहेको बताए ।

            भारतीय विस्तारवादका पक्षपाती र भारतीय कामदार जनता गरी भारतमा दुईथरी जनता रहेको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले नेपाली जनता भारतीय कामदार जनताको साथमा रहेको बताए ।

            “भारत सरकारले त्यहाँका मजदुर, किसान, अल्पसङ्ख्यक र प्रगतिशील जनतामाथि दमन गरिरहेको छ । हामी शोषित भारतीय जनताको पक्षमा छौं”, बिजुक्छेँले भने ।

            “हामी युद्धविरोधी हौँ । यतिबेला हाम्रो लडाइँ कोरोना भाइरसजस्तो महामारीविरूद्ध हुनुपर्छ । तर, भारतीय शासक वर्गले नेपाललाई सानो देश ठानेर हेप्नु गलत हो । असल मित्र देश हो भने छिमेकीसँग मिलेर बस्न सक्नुपर्छ ।” उनले भने ।

            पश्चिमा साम्राज्यवादले दुई वटा विश्वयुद्ध सामना गरिसकेको हुँदा युरोप र अमेरिकाले तेस्रो विश्वयुद्ध पनि सामना गर्न नसक्ने भएकाले उनीहरू एसियाली देशहरू लडाएर नयाँ युद्ध गर्न खोजिरहेका छन्, उनले भने ।

            नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाली भूमि भारतीय नक्सामा समेट्ने भारतीय कदमविरूद्ध नेपाल सरकार अन्तर्राष्ट्रिय अदालत र अन्य अन्तर्राष्ट्रिय दबुमा पुग्नुपर्ने विचार व्यक्त गरे ।

            केही पूर्वप्रधानमन्त्रीहरूले आज भारतीय हस्तक्षेपको विरोध गरेको तर्फ सङ्केत गर्दै उनले आफू प्रधानमन्त्री हुँदा भारतीय हस्तक्षेपबारे किन केही नगरेको भनी जनताले उनीहरूसँग प्रश्न सोधिरहेका बताए।

            देशको सिमाना रक्षाको लागि सुरक्षाकर्मी नपुगेको बेला पूर्वपदाधिकारीको सुरक्षाको नाममा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्नुपर्नेमा जोड दिँदै उनले औद्योगिक क्षेत्रहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी जवानहरूलाई सीमा सुरक्षामा खटाउनुपर्ने रआवश्यक परे नेपाली सेनालाई पनि नेपालको सिमाना रक्षाको निम्ति परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

            सांसद सुवालले भने, “भारतले अतिक्रमित भूमि पहिलदेखि नै नेपालको भूमि भएकोले भूमि ‘प्राप्त गरिसकेपछि’ नयाँ नक्सा निकाल्ने भन्न नमिल्ने बरू लिम्पियाधुरासम्म र अन्य अतिक्रमित ठाउँको भूमिसमेत संलग्न गरी नेपाल सरकारले तत्कालै नक्सा जारी गर्नुपर्छ ।”

            वरिष्ठ पत्रकार तथा सीमा बचाउ अभियानका अगुवा भैरव रिसालले भारतले नेपाली सिमाना मिचेको विषयलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताए ।

“बालुवाटार र सिंहदरबारमा आफ्ना सल्लाहकार र मन्त्रीसामु त जसले पनि बोल्छ । त्यही कुरा अन्तर्राष्ट्रिय मञ्चमा बोल्न सक्छ कि सक्दैन भन्ने कुरा मुख्य हो”, उनले भने ।

            नेपाली जनताले अरूको कुरा सुनेर भारतीय हस्तक्षेपको विरोध गर्‍यो भनी भारतीय सेना प्रमुखले बोल्नु केटाकेटीपन भएको धारणा राख्दै उनले अब कूटनीतिको भाष्य परिवर्तन गर्ने बेला आएको बताए ।

            “अब कूटनीतिको भाष्य परिवर्तन गर्नुपर्छ । मौन र भद्र कूटनीतिले मात्र काम गरेन । अब धर्ना बसेर हुन्छ कि ह्यान्ड ब्रेक कूटनीतिक प्रयोग गरेर हुन्छ, हाम्रो भूमि फिर्ता लिनुपर्‍यो”, रिसालले जोड दिए ।

            भारतले लिपुलेक क्षेत्रमा बनाएको सडकलाई नेपालले आफ्नो स्वामित्वमा ल्याउनुपर्नेमा जोड दिंदै उनले भने, “दुईतिर रिसल्ला दौडाएर, कालो गाडी चढेरमात्र अब देश जोगिने छैन ।”

            उनले दार्चुला जिल्लाको उत्तरी क्षेत्रका जनताको दैनिक आवश्यकता र सुविधाको निम्ति नेपाल सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

            सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले लिपुलेकमा बनाएको सडकको निर्माण कार्य थप रोक्न सरकारले ह्यान्ड ब्रेक कूटनीतिक प्रयोग गर्नुपर्ने बताए ।

            “हाम्रा प्रधानमन्त्रीले आजै भारतका प्रधानमन्त्रीसँग कुरा गरेर सडक निर्माणको कार्य तत्काल बन्द गर्न भन्नुपर्‍यो । गाडीलाई तत्काल रोक्न ह्यान्ड ब्रेक समातेजस्तै भारतको निर्माण कार्यलाई त्यसरी नै रोक्न जरूरी छ”, उनले भने ।

            उनले नेपाल सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा निकालेर सबै विद्यालय, कार्यालय र घर–घरमा पुर्‍याउनुपर्नेमा जोड दिंदै नेपाल सरकारले लिम्पियाधुरासहितको चुच्चे नक्साबारे जनताकै दबाबको कारणमात्र ध्यान दिएको बताए ।

            सिमाना अध्येता रतन भण्डारीले नेपालको सिमानाबारे अब टुक्राटाक्री कुरामा भन्दा समग्र कुरालाई लिएर सरकारले बोल्नुपर्ने बताए ।

           “हामीले कहिले लिपुलेकको मात्र कुरा गर्‍यौँ, कहिले कालापानी र लिम्पियाधुराको मात्र कुरा गर्‍यौँ, कहिले सुरक्षा क्याम्पको मात्र कुरा गर्‍यौँ, अहिले सडकको मात्र कुरा गर्‍यौँ, अब समग्रमा त्यो क्षेत्रको कुरा गर्नुपर्छ ।”, उनले भने ।

            उनले लिम्पियाधुरा नै त्रिदेशीय नाका भएको प्रस्ट पार्दै भारतको अतिक्रमणकारी कदम र नेपाल सरकारको गैरजिम्मेवार व्यवहार नै आजको अवस्थाको दोषी भएको बताए ।

            कार्यक्रममा पत्रकार समाज नेपालका अध्यक्ष अनुराधा थापामगर र सचिव नीरज लवजूले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *