भुल्केका नयाँ संक्रमित : पहिले नेगेटिभ, पुनःपरीक्षण गर्दा पोजेटिभ 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ बैशाख

कोशी अस्पतालको कोरोना परीक्षण ल्याब

२७ बैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।

शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यसअघि संकलन गरिएको थ्रोट स्वाब ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमुना संकलन गरिएको थियो ।

रि–स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । ‘उहाँहरुको रि–स्वाब संकलन गरिएको हो,’  डाक्टर मेहताले भने, ‘उहाँहरुमा पहिले नेगेटिभ देखिएको थियो ।’

यसअघि ५ बैशाखमा उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदमा बस्दै आएका १६ मध्ये १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ६ बैशाखमा १ जना तथा ८ र ९ बैशाखमा थप १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

१७ दिनयता उदयपुरको भुल्केमा संक्रमण देखिएको थिएन । भुल्केको दैनिकी पनि सामान्य अवस्थामा फर्कदै थियो । तर अहिले थप तीन जनामा कोरोना पोजेटिभ देखिएपछि प्रदेश १ लाई झस्काएको छ ।

भुल्केबाट मात्र २३७ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालमा पठाइएको थियो । कोशीमा आएका स्वाबमध्ये शनिबार बिहानसम्म आधा नमुनाको परीक्षण सकिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

भुल्केमा संक्रमण पुष्टि भएका १४ डिस्चार्ज

कोरोनाको हटस्पट उदयपुरको भुल्केमा संक्रमितको संख्या ३१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ३४ पुगेको छ । उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका २८ मध्ये १४ जना उपचारपछि निको भएका छन् ।

कोरोना मुक्त भएपछि कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट शुक्रबार ८ जना र बुधबार ६ जना डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *