मुम्बईबाट लुकिछिपी आएका थिए कपिलवस्तुका संक्रमित गाउँ छिर्न नदिइ क्वारेन्टाइनमा राखिएको थियो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरुसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार रातको समयमा नेपाल प्रवेश गरेका उनीहरु पाँचै जना भारतको मुम्बइबाट सँगै आएका थिए ।

आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरु कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ अभिरावका हुन् ।

वडा नं. २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरुलाई गाउँमा प्रवेश गर्न नदिइ बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए ।

यसअघि कोरोना पुष्टि भएका कपिलवस्तुका २ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत छन् । नयाँ संक्रमित ३ जनालाई पनि आज बुटवल ल्याइँदै छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।

उनीहरु पाँचैजना मायादेवी १ को पकडी छत्रपाली माबिमा बनाइएको क्वारेन्टाइनमा थिए । सो क्षेत्रमा हाल आउ–जाउ बन्द गरिएको छ ।

कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *