पोखरा महानगरद्धारा सुत्केरीलाई कोसेली पुर्‍याउने अभियान शुरु

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
कास्की, २२ बैशाख


विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । गत चैत ११ गतेदेखि सरकारले नागरिकको सुरक्षाका लागि लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण उद्योग, कलकारखाना, भौतिक निर्माण लगायतका काम ठप्प छन् ।
लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर दैनिक गुजारा चलाउने बिपन्न परिवारका लागि स्थानीय सरकारले विभिन्न प्याकेज बनाएर राहत वितरण समेत गरिरहेका छन् । पोखरा महानगरले लकडाउनबाट प्रभाबित ३१ हजार निम्न बर्गीय नागरिकलाई राहत वितरण गरिसकेको छ ।
राहत प्याकेजपछि महानगर यति बेला सुत्केरीलाई पौष्टिक आहार सहित भेटघाटमा जुटेको छ ।
महानगरले लकडाउनका कारण सुत्केरी भएर घरमै बसेका सुत्केरी महिलालाई भेटने र कोसेलीका रुपमा घिउ, हर्लिक्स, तेल, सावुन सहित नगद पाँच सय रुपैयाँ उपलब्ध गराउने अभियान शुरु गरेको छ ।
आफन्तजन र माइतीको अत्यास मेदाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सुत्केरी भेट्ने अभियान शुरु गरेको महानगरले जनाएको छ ।
महागनरले पहिलो दिन पोखराका विभिन्न ठाउँमा रहेका १८ जना सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको छ । शनिबारसम्म २६ जना सुत्केरीको नाम महानगरको हटलाइन नम्वर मार्फत टिपाइएको थियो ।
आइतबार पोखरा महानगरपालिका वडा नम्वर ९, १० र १५ मा वडा अध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहार लिएर सुत्केरी भेट्न घरदैलोमा पुगेका छन् ।
महागनरले उपलब्ध गराएको पौष्टिक आहारमा एक किलो घिउ, एक किलो हर्लिक्स, एक लिटर तेल, एउटा साबुन र नगद पाँच सय रुपैयाँ रहेको छ । सुत्केरी महिलालाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महानगरले १ हजार ५ सय रुपैयाँ बराबरको प्याकेज सहित नगद पाँच सय रुपैयाँ दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
‘सुत्केरी भएपछि पोशिलो खाना खानुपर्ने महिलालाई हर्लिक्स, घिउँ, तेल उपलब्ध गराएका छौ’ उनले भनिन् । ‘हामीले दिएको बाहेक केही आवश्यक सामग्री किन्न नगद पाँच सय रुपैयाँ समेत उपलब्ध गराएका छौ ।’
चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिनसम्मका महिलालाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको उनले बताइन् । ‘सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ’ उनले भनिन् । ‘यसलाई राहतको रुपमा भन्दा पनि सुत्केरीका लागि आवश्यक पर्ने पोशिलो खानाका रुपमा बुझ्नु पर्छ ।’


यस अभियान अन्तरगत सुत्केरी राहत महानगरका सवै सुत्केरी महिलालाई उपलब्ध गराउने उनले बताइन् । ‘नाम टिपाएका सबैलाई घरघरमै पुगेर पौष्टिक आहार पुर्‍याउँछौं ’ उपप्रमुख गुरुङले भनिन् ।‘वडाका जनप्रतिनिधिको समन्वयमा महागनरका कर्मचारी सहित सुत्केरी महिलाको घरमै सामान पुर्‍याउँछौ ।’
आइतबार पोखरा १५ मा वडा अध्यक्ष प्रकाश पौडेल, वडा सदस्य पार्वती कार्की, महागनरका कर्मचारी शर्मिला भण्डारी र रेवती भण्डारीले सुत्केरी महिलाको घरमै पुगेर पौष्टिक आहार उपलब्ध गराएका थिए ।
त्यस्तै वडा नम्वर १० मा वडा सदस्य सम्मरबहादुर श्रेष्ठ लगायत कर्मचारी सहित पुगेर पौष्टिक आहार उपलब्ध गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *