नेपाल कम्युनिस्ट आन्दोलन विषयक कार्यपत्रमाथि का. रोहितको टिप्पणी

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ माघ

नेपाल कम्युनिस्ट आन्दोलन विषयक कार्यपत्रमाथि का. रोहितको टिप्पणी

अप्रिल २२ को दिन लेनिन जयन्ती मनाउनुपर्ने बेला यो गोष्ठीको आयोजना गर्नुभयो, त्यसको लागि आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु ।

कार्यपत्र प्रस्तुत गर्ने साथीले यसमा कमी–कमजोरीहरू छन् भन्नुभएको छ । मलाई लाग्छ, कार्यपत्र प्रस्तुत गर्दा कमी–कमजोरीहरूबारे क्षमा माग्नुपर्ने गरी कार्यपत्र तयार गर्नु हुँदैनथ्यो किनभने, जुन कुरामा आफ्नो विश्वास छैन, त्यसमा दाबाका साथ भन्नु पनि मिल्दैन । उहाँले कुन कुराको लागि क्षमा माग्नुभयो र कुन कुरालाई अस्वीकार गर्नुभयो ठम्याउन गार्‍हो छ ।

कार्यपत्र जसरी आएको छ, त्यसबारे स–शब्द भनिरहँदा धेरै समय लाग्ने हुँदा एक दुई बुँदामा मात्र टिप्पणी गर्दा तपाईँहरूको धेरै समय लिनुपर्ने हुँदैन । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे पनि यसमा उल्लेख भएको हुनाले त्यसलाई पनि छोटोछोटो टिप्पणी गर्नुपर्ने देखिन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा कहिलेकाहीँ शब्दको उचित चयन र प्रयोग नहुँदा हामी धेरै अल्मलिएका थियौँ । त्यसो नहोस् भन्नाका लागि टिप्पणीभन्दा पहिले त्यस्ता शब्दहरूमा जान चाहन्छु । सबभन्दा पहिले म लेनिन जयन्ती भएको हुनाले लेनिनबारे एक दुई कुरा भन्न चाहन्छु –

लेनिनले मार्क्सवादलाई पिछडिएको रुसमा लागू गर्नुभयो । रुसमा पनि पुँजीवाद आउने कुरा प्लेखानोभले देखाइदिएका थिए । त्यहाँ अर्कै किसिमको साम्यवादको कल्पना त्यतिबेलाका मानिसहरूले गरेका थिए । रुसमा पनि पुँजीवादको विकासको कुरा लेनिनले स्पष्टरूपमा व्याख्या गर्नुभएको थियो । रुसमा पुँजीवादको विकास भन्ने कृतिमा नरोदवादको खण्डन र मजदुर आन्दोलनको व्याख्या लेनिनले गर्नुभएको थियो । मजदुर र किसानका समितिहरूलाई साम्यवादको बीउको रूपमा उहाँले लैजानु भयो । स्वयंस्फूर्त होइन, नियोजित सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा १९०५ को क्रान्तिबाट उहाँले अवगत गराउनुभयो । पेरिस कम्युनको शिक्षा उहाँले बडो गहिरोसित लिनुभयो । किसान र मजदुरको एकताको आवश्यकता पेरिस कम्युनमा किसानहरूलाई नै सेनामा ल्याएर दबाउन दिइएबाट पुष्टि भयो । यसैलाई उहाँले सिद्धान्तको रूपमा लिनुभयो । सेनाको बारेमा गुप्तता हुनुपर्ने भएकोले सेनाको आफ्नो सङ्गठन हुनुपर्ने, सेनाभित्र पनि पस्नुपर्ने र त्यो फलाकेर हिँड्ने कुरा नभई केन्द्रीय समिति वा निश्चित समितिलाई मात्र जिम्मा दिनुपर्ने र १९१७ को अक्टोबर क्रान्तिलाई अगाडि सार्नुपर्ने कारण पनि गुप्तता भङ्ग भएकोले हो । सेनाको कुरा कराएर हिँड्ने, गीत गाएर हिँड्ने होइन भन्ने हिसाबले लेनिन लिनुहुन्थ्यो । लेनिनको सबभन्दा सूक्ष्म कुरा मैले बुझेको के हो भने वामपन्थी अवसरवाद केटाकेटी रोग, हडताल, आन्दोलन र निर्वाचनले जनतालाई शिक्षा दिनु, प्रतिक्रियावादी प्रभावबाट जनतालाई छुटकारा दिनु आदि महत्वपूर्ण कुरा लेनिनबाट हामी सिक्छौँ र नेपालको सन्दर्भमा मैले सिक्नुपर्ने यस्तै विषय देखेको छु ।

जहाँसम्म कार्यपत्र प्रस्तुतकर्ता बाबुरामजीको कुरा छ, व्यक्तिगतरूपमा उहाँलाई साधारणरूपमा मात्र चिन्छु तर मैले बुझेअनुसार उहाँको अध्ययन हामीले विस्तारवाद भनेकै भारतको दिललीमा भएको हो – बडो सहुलियतसाथ, उहाँले अध्ययन गर्न पाउनुभएको थियो ।

हाम्रो समाजमा जस्तै हिन्दुस्तानमा पनि वर्ग र जात (Class and Cast) सँगसँगै जाने गर्दछ । यसबाट पनि उहाँ टाढा हुनुहुन्न । उहाँले अमेरिका घुम्ने र पढ्ने मौका पाउनुभयो, जहाँसुकैबाट होस् । त्यतिमात्र होइन बेलायतमा आफ्नो परिवारलाई पढाउने व्यवस्था गर्न सक्नुभयो । यो कुरा उठाएको कारण उहाँको कार्यपत्रको हरेक ठाउँमा क्षेत्रीय वा सहर र सहरिया मानिसप्रति जुन आक्रोश र विरोध हो त्यसबारे म बिस्तारै बताउँदै जानेछु । जसरी कविताको अर्थ बुझ्न कविलाई नबुझी हुँदैन र कवितालाई बुझेर हामीले कविलाई चिन्छौँ त्यसरी नै प्रस्तुतकर्तालाई चिन्न र बुझ्न सजिलो यस कार्यपत्रले गरेको छ । अब म शब्दको बारेमा जाँदै छु ।

नेपाल कम्युनिस्ट आन्दोलनमा शब्दले धेरै अस्पष्टता ल्याएको छ । उदाहरणको निम्ति नेपाली काङ्ग्रेसलाई पुँजीपतिहरूको दलाल भनेर कति साथीहरू भन्नुहुन्छ र केहीले विदेशी पुँजी ‘परस्त’ पनि भन्ने गर्दछन् । ‘परस्त’ फारसी र उर्दू शब्द हो यसको अर्थ हो पूजा गर्नु । बाबुरामजीले कुन अर्थमा लिनुभएको हो मलाई थाहा छैन । त्यतिमात्र होइन हामी हिन्दुस्तानमा पढ्ने र हिन्दुस्तानको विश्वविद्यालयबाट उत्तीर्ण हुने भएकोले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि हिन्दुस्तानको कम्युनिस्ट आन्दोलनबाट शब्द शब्दलाई जस्ताको तस्तै लिने गर्दा अर्थको अनर्थ पनि भएको पाइन्छ । यही हाम्रो समस्या हो ।

अर्को कुरा, विभाजन र गल्तीलाई पनि हामीले ‘महान्’ भन्ने शब्द प्रयोग गरेका छौँ । यो कार्यपत्रमा पनि यस्तै शब्द प्रयोग भएको छ । मलाई लाग्छ विभाजन कुनै राम्रो कुरा होइन र महान् विभाजन कसरी भयो ? शब्दको चयन कसरी मिल्यो ? ठूलो गल्ती हुन सक्छ, महान् गल्ती हुनसक्दैन ।
‘ऐतिहासिक विडम्बना’ भन्ने शब्द यस कार्यपत्रमा प्रस्तुत छ । विडम्बना शब्द भाग्यसँग सम्बन्धित कुरा हो । भौतिकवादी दृष्टिकोणले हेर्दा ऐतिहासिक विडम्बना कसरी हुन्छ ? पुस १ गते २०१७ सालको कुरा उल्लेख छ, यसलाई फौजी काण्ड भनिएको छ । फौजी काण्ड भनेको के हो ? कुन राजनैतिक शब्दावली हो ? प्रजातन्त्रको हत्या हो कि ? सैनिक विद्रोह हो कि ? संसद्को विघटन हो कि ? प्रतिक्रियावादी कदम हो कि ? राजनैतिक शब्दावली के हो ?

मार्क्सवाद–लेनिनवादभित्रै सशस्त्र क्रान्ति समावेश हुन्छ, त्यसकारण बम, तोप, गुलेली आदि सबै कुरा उल्लेख गर्नु पर्दैन । हरेक राजनैतिक पार्टीले कुनै न कुनै रूपले राज्यसत्ता कब्जा गर्ने अनि ऐन–कानुनमार्फत विरोधी वर्गलाई दबाएर आफ्नो सिद्धान्त लागू गर्न जोड दिएको हुन्छ । त्यसमा एटम बमको कुरा उल्लेख गर्नु पर्दैन । सशस्त्रको कुरा राजनीति शास्त्रको प्रारम्भिक अवस्थामा अध्ययन गर्ने कुरा हो । तर, यस कार्यपत्रमा फेरि त्यस्तै कुरा आएको छ । सायद बाबुरामजी ‘टेक्निकल साइन्स’ को विद्यार्थी हुनाले उहाँले त्यसबारे पढ्नुभएन होला । त्यसबारे हर राजनैतिक शास्त्रका विद्यार्थीहरू, मार्क्सवादी र लेनिनवादी मजदुर आन्दोलन र किसान आन्दोलनसँग सम्बन्धित सबैलाई जानकारी नभएको होइन ।

नेपाली काङ्ग्रेसको विषयमा सायद कार्यपत्र प्रस्तुतकर्तालाई भ्रम हुनुपर्दछ । नेपाली काङ्ग्रेस सदा राजावादी पार्टी रहेको छ, त्यो राणाको विरोधमा बनेको पार्टी हो । बैरगनियाँ सम्मेलनदेखि वीरगञ्ज सम्मेलनसम्म तपाईँ यही कुरा देख्नुहुन्छ । अरूले भनेको विचारै नगरी किताबमा लेखिएको कुरा बुझ्दै नबुझिकन या मनोगत ढङ्गबाट बुझेर दोहो¥याउनु मलाई लाग्छ कम्युनिस्ट आन्दोलनको निम्ति हितकर हुँदैन । मार्क्सवाद–लेनिनवादले हामीलाई यस्तो कुरा सिकाएको छैन ।

जहाँसम्म पी.एल. को कुरा छ, पी. एल. ले नेपाली काङ्ग्रेसलाई उदार पुँजीवादी र विदेशी पुँजीपरस्त शक्तिको रूपमा लिनुभएको छ । यस कुरालाई गलत ढङ्गबाट कार्यपत्रमा व्याख्या गरिएको छ । पुष्पलालजीको महत्वपूर्ण कुरा के हो भने मैले बुझेअनुसार उहाँ बेलायती र फ्रान्सेली पुँजीवादी क्रान्तिबाट सार्‍है प्रभावित हुनुहुन्थ्यो । यसप्रकार उहाँ पूरा गणतन्त्रवादी हुनुहुन्थ्यो । फेरि उहाँको गणतन्त्रवादी भावना र रामराजाको गणतन्त्रवादी भावनामा धेरै फरक छ । यसलाई विश्लेषण गरियो भने धेरै समय लाग्ने भएकोले बुँदामात्र भन्छु । यसबारे छुट्टै विश्लेषणको आवश्यकता छ ।
शम्भुरामजीको कुरा पनि यस कार्यपत्रमा उल्लेख छ, शम्भुरामजी सदा नेपाली काङ्ग्रेसको खरो आलोचक रहँदै आउनुभएको छ । पुँजीवादी क्रान्तिको विषयमा पनि कम्युनिस्ट आन्दोलनमा धेरै भ्रम छ । उदाहरणको निम्ति बेलायत र फ्रान्सको क्रान्ति सामन्तवादको विरोधमा भएको थियो । बेलायत र फ्रान्सलाई एक रूपमा पुँजीवादी राज्य क्रान्ति भनिन्छ । तर, जर्मनी क्रान्तिमा बाटो बिराएको देखिन्छ । किनभने, क्रामवेलहरूले चाल्र्सहरूको हत्या गरिसकेपछि परिस्थितिले नयाँ मोड लियो । समानतावादीहरूको विद्रोह भयो र बेलायतीहरू बडो चलाख भएर तिनीहरू स्वयंले राजा स्थापना गर्न थाले । सामन्त र पुँजीपति वर्गबिच तालमेल भएन भने तल्लो वर्ग उठ्ने रहेछ भन्ने कुरो फ्रान्सेली क्रान्ति र बेलायती क्रान्तिबाट थाहा भयो । यसरी क्रान्ति गर्दै गएपछि तल्लो वर्ग अगाडि आयो । अनि नेपोलियनलाई अगाडि ल्याइयो । तर, जर्मनीमा सामन्त वर्ग र पुँजीपति वर्ग बिचमा मेल भयो । अनि, कार्ल मार्क्स र साथीहरूले देश छोडेर जानुपर्ने भयो ।

त्यसबेला कार्ल मार्क्सले भन्नुभएको थियो – अब पुँजीपति वर्ग क्रान्तिकारी रहेन । लेनिनसम्म आइसकेपछि त त्यो पूर्णरूपमा थाहा भयो । त्यसैले, पुँजीपतिवर्गबारे भ्रम राख्नु पर्ने मलाई लाग्दैन । रुसी क्रान्तिमा जारशाही र सामन्तवादको विरोध भयो । त्यतिमात्र होइन, पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने करेन्स्की सरकारको पनि विरोधमा सङ्घर्ष भयो ।

मार्क्सवाद–लेनिनवादभित्रै सशस्त्र क्रान्ति समावेश हुन्छ, त्यसकारण बम, तोप, गुलेली आदि सबै कुरा उल्लेख गर्नु पर्दैन । हरेक राजनैतिक पार्टीले कुनै न कुनै रूपले राज्यसत्ता कब्जा गर्ने अनि ऐन–कानुनमार्फत विरोधी वर्गलाई दबाएर आफ्नो सिद्धान्त लागू गर्न जोड दिएको हुन्छ । त्यसमा एटम बमको कुरा उल्लेख गर्नु पर्दैन । सशस्त्रको कुरा राजनीति शास्त्रको प्रारम्भिक अवस्थामा अध्ययन गर्ने कुरा हो । तर, यस कार्यपत्रमा फेरि त्यस्तै कुरा आएको छ । सायद बाबुरामजी ‘टेक्निकल साइन्स’ को विद्यार्थी हुनाले उहाँले त्यसबारे पढ्नुभएन होला । त्यसबारे हर राजनैतिक शास्त्रका विद्यार्थीहरू, मार्क्सवादी र लेनिनवादी मजदुर आन्दोलन र किसान आन्दोलनसँग सम्बन्धित सबैलाई जानकारी नभएको होइन । अब हामीले कुन बाटो जाने ? हाम्रो क्रान्तिको तारो के हो र हाम्रो क्रान्तिको बाटो के हो भन्ने निश्चित गर्नुपर्ने हो । उहाँको कार्यपत्रमा त्यो पाइँदैन । सबैले यो गरेन, त्यो गरेनमात्र छ तर आफूले के गरेँ भन्ने कुरा त्यसमा छैन । त्यसकारण, अब मुख्य प्रश्न के आउँछ भने त्यो कार्यपत्र उहाँको हो कि उहाँको पार्र्टीको ? यदि कार्यपत्र उहाँको पार्र्टीको होइन भने उहाँ एउटा पार्र्टीको सदस्य भएर अलग कार्यपत्र प्रस्तुत गर्ने अधिकार पनि उहाँलाई हुँदैन । त्यो अनुशासनसँग सम्बन्धित कुरा हो । उहाँको आफ्नो पार्र्टीको कार्यपत्र हो भने उहाँको पार्टीको तारो के हो ? उहाँको पार्टीको उद्देश्य के हो ? यी सबै यसमा उल्लेख छैनन् ।

मनमोहन अधिकारीको विषयमा पनि यहाँ कुरो उठेको छ । किसान आन्दोलनको नेतृत्वमा आइसकेपछि अप्रिय तौर तरिका अपनाउनु हुँदैन भन्ने उहाँको भनाइ थियो । २००८–०९ सालदेखि ०१२–०१३ सालसम्मको किसान आन्दोलनमा लाखौँलाख किसानहरूले भाग लिएका थिए । तराई क्षेत्रलाई ओगटेको त्यो किसान आन्दोलनले निश्चित क्षेत्रमा सरकार पनि घोषणा गरेको थियो । उनीहरूले आ–आफ्ना जेलहरू खडा गरेका थिए । त्यस आन्दोलनलाई दबाउन त्यहाँका शोषक र सामन्त वर्गले हिन्दुस्तानको सिमानामा सेना राख्न लगाएको, त्यसबेला दिल्लीमा गरेको तारको खर्च मात्र १५ हजार तिरेको थियो । त्यसबेला एउटा ठूलो आन्दोलन चलेको थियो ।

नेपाल कम्युनिस्ट आन्दोलनको व्याख्या गर्दा र सिंहावलोकन गर्दा यो किसान आन्दोलनलाई बडो गम्भीरतापूर्वक लिनुपर्ने हो । चीनको सशस्त्र क्रान्तिलाई पनि किसान क्रान्तिको रूपमा लिइन्छ । त्यस कुरालाई ख्याल नगर्नु पनि कम्युनिस्ट आन्दोलनप्रति अन्याय नै हुनेछ ।

अर्काे, मनमोहनजी सदा भारतीय विस्तारवादविरोधी हुनुहुन्थ्यो – उहाँको भाषणमा, उहाँको अभिव्यक्ति र भावशैली सबै कुरामा । उहाँ पञ्चायतलाई जीवित सत्य भन्नुहुन्थ्यो । त्यस्तै पशुपतिनाथ रहेसम्म राजा रहनेछन् भन्नुहुथ्यो । नेपालको महत्वपूर्ण आन्दोलनबारे म बिच–बिचमा भन्दै जान्छु जसले सन्दर्भ मिलाउन सजिलो हुनेछ ।

बाबुरामजीको कार्यपत्रमा अस्पष्ट भएको विषयलाई म स्पष्ट गर्न खोज्दै छु । यसबाट साथीहरूलाई पनि सजिलो होला ।

माओको बेलामा चिनियाँ कम्युनिस्ट पार्टी र अन्य पार्टीहरू राजा र राजकुमारलाई पनि मोर्चामा राखेर साम्राज्यवादको विरोध गर्ने नीति मान्थे । यसको उदाहरण सिंहानुक हो । लावसका राजकुमारहरू र राजा महेन्द्रसम्म पनि यही कुरा आउँछ । सिंहानुकले साम्राज्यवादविरोधी सङ्घर्षमा भाग लिएका थिए । रायमाझी र मनमोहनजीले यसबाट माओको कुरा बुझ्नुभएको हो होइन थाहा छैन ।
कार्यपत्रमा शब्दको गलत चयन यत्रतत्र पाइन्छ । एक दुईवटा भनिहालौँ । उहाँले सहरिया र गाउँले भन्ने शब्द उल्लेख गर्नुभएको छ । तर, मार्क्सवादी साहित्यमा सहरिया र गाउँलेको रूपमा होइन वर्गीयरूपमा उल्लेख गरिन्छ । किनभने, मार्क्सवाद वर्गसँग सम्बन्धित छ, स्थानसँग होइन । त्यसकारण, एउटा निश्चित ठाउँ नै समाजवाद होइन ।

संयोगले नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू यही उपत्यकाभित्रका परे, साथै नेवार जातिका । माक्र्सवाद मजदुर वर्गले ल्याएको होइन, मार्क्स स्वयं पनि मजदुर नभई एक संवेदनशील समुदायका सदस्य हुनुहुन्थ्यो । हाम्रो अर्थमा बुद्धिजीवी भनौँ – यो स्वाभाविक हो, समाजवादका सिद्धान्तकारहरू पनि साधारण तल्लो वर्गका थिएनन् ।

काल्पनिक समाजवादीहरू पनि पढेलेखेका र संवेदनशील समुदायबाट आएका हुन् ।
पुँजीवादले सामन्तवादलाई ध्वस्त पारिसकेपछि सामन्ती समाजका पुराना मूल्य र मान्यताहरू बाँकी हुन्छन् । त्यसको ठाउँमा नयाँनयाँ मूल्य र मान्यताहरू, जालझेल र शोषणको व्यवस्था खडा हुन्छ । पुँजीवादी व्यवस्थामा उत्पन्न रोग, शोक, भोक आदिबाट वाक्क भएर समाजवादलाई पुनःनिर्माण गर्ने भावनाबाट प्रेरित भई समाजवादी सिद्धान्तको प्रादुर्भाव भएको थियो । त्यस चिन्तनमा सहरकै संवेदनशील र बुद्धिजीवीहरूको बढी भूमिका थियो, पुँजीवाद पहिले सहरमै विकास भएको थियो, गाउँमा होइन । कलकारखानाहरू सहरमै खुलेका थिए, मजदुरवर्ग त्यही उत्पन्न भएको थियो । पुँजीवादी शोषण प्रत्यक्षरूपमा सहरमै देखिएको थियो । यसरी सहरबाट समाजवादी चिन्तन पनि अगाडि बढेको थियो । बुद्धिजीवीहरू नै पहिले नयाँ नयाँ विचार र चिन्तनबाट आकर्षित हुन्छन् ।
नेपालमा पनि पहिले राणाहरूको निरङ्कुशताको विरोधमा वा समाजवादी विचारको क्षेत्रमा सहरकै मानिसहरू वा युवाहरू आकर्षित भएका थिए र बिउँझेका थिए । त्यसमा जातीय हिसाबले नेवारहरू परे, त्यसलाई गलत ढङ्गले व्याख्या गर्नु उपयुक्त होइन ।

मजदुर आन्दोलनको सुरुआत पनि सहरबाटै अथवा विराटनगरका जुट मिलका मजदुरहरूको हडतालबाट भएको थियो । त्यो नेपालको पहिलो मजदुर हडताल थियो । कर्मचारी आन्दोलन काठमाडौँबाट सुरु भयो । विद्यार्थी आन्दोलनको इतिहास पनि त्यस्तै छ । विद्यार्थी हडताल काठमाडाैंबाट भएको हो । अहिलेको अखिलको सिलसिला पनि सहरबाट वा काठमाडाैंबाट सुरु भएको हो ।

गाउँलाई नै सबै कुराको आदर्शको रूपमा लिनु उपयुक्त हुँदैन । त्यसलाई पनि आलोचनात्मक रूपले हेरिनुपर्छ । जमिनदारहरू गाउँमै बस्छन्, धनी किसान, मध्यम किसान र गरिब किसान पनि गाउँमै बस्छन् । आर्य सभ्यता गाउँको सभ्यता हो । हडप्पा र मोहन्जोडाडोको सभ्यता सहरी सभ्यता हो । त्यस सभ्यताकै विरोधमा आर्यहरू उठेका थिए । हामी आर्य भएकै हुनाले सहरकै विरोध गरिरहेका हौँ त ? त्यसो पनि भन्न मिलिरहेको छैन । सहरी सभ्यताको विरोध गर्नु एक प्रकारले सभ्यताकै विरोध हो । सहरकै विरोध गर्दा गम्भीररूपले सोच्नुपर्ने हुन्छ । सामान्यतया उत्पादनका साधनहरू पछि परेको हुनाले नै किसानहरूको चिन्तन पछि परेको हुन्छ – तिनीहरूको स्वार्थ पनि फरक–फरक हुन्छ, त्यस्तै उनीहरू असङ्गठित हुन्छन् । कम्युनिस्ट घोषणापत्र वा माक्र्स र एङ्गेल्सका रचनाहरूमा किसानहरूलाई प्रतिक्रियावादी भनिएका छन् । पेरिस कम्युनको विरोधमा किसानहरूलाई भड्काउँदा मजदुरहरू चुप लागेर खान खोज्छन् भनिएको थियो । पेरिस कम्युनलाई दबाउन किसानहरूकै सेना प्रयोगमा ल्याइएको थियो । त्यसबाट कम्युनिस्टहरूको आँखा खुले र पछि–पछि किसानहरूको पनि सङ्गठन गरियो । उनीहरूले किसान र मजदुरहरूको बिचको एकताको महत्व थाहा पाए र त्यसलाई अगाडि बढाइयो । बाबुरामजीले के भन्न खोज्नुभएको हो प्रस्ट छैन ।

पूर्वमा अर्थात् चीनयाँ चिनियाँ क्रान्ति त किसान क्रान्तिकै रूपमा अगाडि बढ्यो । त्यसबेला चीनको जनसङ्ख्या ४३ करोड थियो भने औद्योगिक सङ्ख्या २० लाख मात्रै थियो । तर, चिनियाँ क्रान्तिले विचार वा सिद्धान्त भने मजदुर वर्गकै लिएको थियो । त्यसरी चीनको क्रान्ति किसान क्रान्तिको रूपमा अगाडि बढेको हो ।

तर, बाबुरामजीले ‘सहरिया शिक्षित’ शब्द प्रयोग गर्नुभएको छ । अहिले उहाँ पनि सहरिया नै हुनुहुन्छ किनभने कोटेश्वरमा उहाँले घर बनाइसक्नुभएको छ । उहाँ बुद्धिजीवी पनि हुनुहुन्छ, गाउँमा बस्नु पनि हुन्न ।

अब म उहाँको कार्यपत्रको दृष्टिकोणतिर जान्छु । उहाँको कार्यपत्रमा सहरमुखी र ‘गाउँमुखी’ शब्द प्रयोग भएको छ । मजदुर आन्दोलन वास्तवमा ‘सहरमुखी’ नै हुन्छ । गाउँमुखी भनेको के हो ? मेरो विचारमा बाबुरामजीको दृष्टिकोण सब्जेक्टिभ (मनोगत) छ र हुनुपर्ने अब्जेक्टिभ
(वस्तुगत) हो ।

नेपालको कम्युनिस्ट आन्दोलन सहरमुखी छ भन्ने उहाँको आरोप छ, तर २००८–०९ सालदेखि २०१२–०१३ सालसम्मको किसान आन्दोलन गाउँमा भएको थियो, जसमा लाखौँलाख किसानहरू सामेल भएका थिए । सायद यो कुरा बाबुरामजीलाई थाहा छैन । कार्यपत्र भौतिकवादी वा वस्तुवादी नभई प्रधानरूपमा मनोगतवादी देखिन्छ र ऐतिहासिक भौतिकवादी दृष्टिकोण त कार्यपत्रमा पटक्कै देखिन्न । उदाहरणको निम्ति दासहरूले पनि दासयुगमा विद्रोह गरेका थिए । ती दास विद्रोहहरूले मजदुर आन्दोलनको रूप किन लिन सकेनन् र मार्क्सवादी सिद्धान्तअनुसार सशस्त्र क्रान्ति किन गरेनन् र सत्ता कब्जा किन गरेनन् भनेर त्यसलाई दोष दिने वा आरोप लगाउने कुरै थिएन । त्यसबेला औद्योगिक सर्वहारावर्ग बनिसकेको थिएन र कार्ल माक्र्सको समेत जन्म भइसकेको थिएन । त्यसबेला ‘सर्वहारा क्रान्ति’ भएन भन्नु स्वयं सन्दर्भहीन कुरा हुन्छ ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको सुरुमा २०–३० हजार मजदुरहरू पनि नेपालमा थिएनन् । त्यसबेला सर्वहारा क्रान्ति किन अगाडि बढेन भन्नु स्वयं ऐतिहासिक भौतिकवादी दृष्टिकोणविपरीत कुरो थियो । हरेक कुरा देश, काल र परिस्थितिसँग सान्दर्भिक हुनुपर्ने देखिन्छ ।
जहाँसम्म नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिनको प्रश्न छ । म पुष्पलालजीसँग केही वर्ष बसेको हुनाले केही दस्तावेजमा मिति लेखिएको पढेको छु । त्यसमा १५ सेप्टेम्बर लेखिएको थियो । म त्यस विवादमा फस्न चाहन्न । म त्यस विवादमा नगई नेपालको कम्युनिस्ट पार्टीमाथिको प्रभावबारे बताउन चाहन्छु, जो कार्यपत्रभन्दा फरक छ ।

कार्यपत्रमा बाबुरामजीले नेपाल कम्युनिस्ट पार्टीमा भारतीय आन्दोलन र चिनियाँ क्रान्तिको प्रभाव परेको बताउनुभएको छ । तर, मेरो अध्ययनले बताएअनुसार नेपाल कम्युनिस्ट आन्दोलनमा भारतीय स्वतन्त्रता आन्दोलनको प्रत्यक्ष प्रभाव परेको छ । चिनियाँ क्रान्तिको प्रभाव भन्नुभन्दा चीनको हुनान प्रान्तको किसान आन्दोलनको प्रत्यक्ष प्रभाव देखिन्छ । नारायण विलास जोशीको कापीमा हुनान किसान आन्दोलनको अनुवाद मैले एकचोटि २०१२–०१३ सालमा देखेको थिएँ। त्यसैको प्रभावपछि बारा, पर्सा, रौतहट, सिराहा, सप्तरीको किसान आन्दोलनमा प्रस्ट देखापरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र मार्क्स–एँगेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रको अनुवाद (पी.एल.) को भूमिका हेर्दा भारतविरोधी अभिव्यक्तिहरू खचाखच भरिएको छ । भारतीय साहित्यबाट प्रभावित भएरै होला – ती दस्तावेजहरूमा नेहरुको विरोध गरिएको थियो । नेपाली काङ्ग्रेसको पनि विरोध गरिएको थियो ।

त्यसकारण, सुरुमा नेपाल कम्युनिस्ट आन्दोलनलाई वा पुष्पलालजीलाई भारत ‘परस्त’ थिए वा काङ्ग्रेस ‘परस्त’ थिए भन्न मिल्दैन । मैले के थाहा पाएको छु भने त्रिपुराको मुख्यमन्त्री नृपेन चक्रवर्ती नेपाल कम्युनिस्ट पार्टीका सुरुका सल्लाहकार थिए वा भारतीय कम्युनिस्ट पार्टीकै गाइड लाइन (निर्देशन) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र अङ्ग्रेजीमा लेखिएको थियो । भाषा परिमार्जित थियो । तर, कार्यपत्रमा बाबुरामजीले त्यसमा भ्रम र सुधारवाद देख्नुभएको छ, किन होला, थाहा छैन ।
मैले बुझेअनुसार संशोधनवाद भनेको कम्युनिस्ट आन्दोलनभित्र देखापरेको पुँजीवादी विचारधारा हो । कार्यपत्रमा लेखकले संशोधनवाद शब्दलाई किन हटाउन खोज्नुभयो, यो एक स्वयं गम्भीर विषय हो ।

सुधारवादको मुख्य अर्थ छिट्टै मौलिक परिवर्तन नगरी अलिअलि गर्दै २–४ सय वर्ष लगाएर समाजवादको स्थापना गर्नु हो । नेपाल कम्युनिस्ट आन्दोलनमा सुधारवादको आरोप गलत हो । संशोधनवाद शब्दको ठाउँमा बाबुरामजीले सुधारवाद शब्दको चयन गर्नु स्वयं शङ्काको विषय बनेको छ ।

(नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ४५ औँ वर्षको अवसरमा थापाथली क्याम्पस काठमाडौँमा एउटा गोष्ठी भएको थियो । उक्त गोष्ठीमा डा. बाबुराम भट्टराईले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँ विचारधारामा पतन भएका व्यक्तिको रूपमा विभिन्न पत्रपत्रिका र राजनीतिक विश्लेषकहरूले चित्रण गरेका छन् । विचारमा दिशाहीन बन्न पुगेका भट्टराई नेपालको राजनीतिक घटनाक्रममा बदनाम पात्रको रूपमा परिचित छन् । कम्युनिस्टको खोल ओढेर ‘जनयुद्ध’ गरेका भट्टराई कहिले भारतपरस्त भए त कहिले पच्छिमी प्रजातन्त्रको बाटो लिए । उहाँको कार्यपत्रमाथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको टिप्पणी हो यो –सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *