वैशाख २५ पछि लकडाउन खुकुलो हुने स्वास्थ्यमन्त्री ढकालको संकेत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन्। शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन्।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाव आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनको भनाइ छ।  कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनको भनाइ छ।

कारोनाका कारण दीर्घरोगी र अन्य बिरामी अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीलाई अस्पतालसम्म पुर्‍याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले उल्लेख गरे।

‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ। अब सहजीकरण गर्दै जानुपर्छ। कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्‍याउनुपर्छ। कोरोना भनेकै कारण दीर्घरोगी अस्पतालको सेवाबाट बञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भएन भने अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ,’ मन्त्री ढकालले भने।

विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्‍यापिड डाइग्नोस्टिक परीक्षण जारी रहेको पनि उनले बताए। सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्‍याउन आदेश जारी गरेपछि सरकारले घर पुर्‍याउने नीति अवलम्बन गरेको उनले उल्लेख गरे।

बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्‍याइएको र आरडिटी परीक्षण जारी रहेको बताउँदै उनले महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *