स्ट्याण्डर्ड चार्टड बैंक मर्जरमा नजाने, अर्को बैंक नमिसाउने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, २६ असार


स्ट्याण्डर्ड चार्टड बैंक नेपालले मर्जरका बारेमा आफ्नो औपचारिक धारणा सहित नेपाल राष्ट्र बैंकलाई प्रतिबद्धतापत्र बुझाएको छ। बुधबार राष्ट्र बैंकलाई एक पत्र लेख्दै चार्टडले अर्को बैंक नमिसाउने जनाएको छ।

बिदेशी बैंकलाई अन्य बैंक भन्दा छुट्टै व्यहार गर्न भन्दै चार्टडले राष्ट्र बैंकले थालेको मर्जर अभियानमा आफु सहभागी नहुने स्पष्ट पारेको छ। चार्टडमा ७०।२१ प्रतिशत सेयर चार्टड ग्रुपको छ।

सबै बैंकलाई स्थानीय तहमा जानलाई दबाब दिएपनि चार्टडलाई भने राष्ट्र बैंकले कुनै निर्देशन दिन समेत सकेको छैन। बिजनेश नै कम भएका स्थानीय तहमा अन्य बैंकहरु जाँन बाध्य हुँदा चार्टड भने आफु अनुकुल नै चलिरहेको छ।

त्यस्तै बिदेशी लगानी भएको नेपाल बंगलादेश बैंकले समेत मर्जरको लागि आफ्नो प्रतिबद्दतापत्र बुझाएको छ। बंगलादेशको साझेदार आईएफआईसीसंग थप छलफलको आवश्यकता रहेको बंगलादेश बैंकले राष्ट्र बैंकलाई बुझाएको प्रतिबद्द्दतापत्रमा उल्लेख छ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी रहेको बंगलादेश बैंकले मौद्रिक नीति कुर्ने निर्णय गरेको छ।

त्यस्तै हिमालयन बैंकले पनि मर्जरको लागि प्रतिबद्दतापत्र बुझाएको छ। हिमालयन बैंकले प्रतिबद्दतापत्रमा मर्जरको लागि स्पष्ट धारणा लेखेको छैन। यद्दपी २० प्रतिशत लगानी रहेको पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिने तयारि गरेकाले यसको निर्क्यौल भएपछि मात्र मर्जरको ठोस धारणा बनाउने योजनामा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ। स्रोतकाअनुसार हिमालयन बैंकमा रहेको हबिब बैंकको २० प्रतिशत सेयर स्वामित्व बेलायतको सीडिएस समुहले लिने तयारिमा छ। पाकिस्तानको हबिब बैंकमा सीडिसीले १२१ मिलियन डलर लगानी गरेको छ।

नेपाल राष्ट्र बैंकलाई मर्जरको प्रतिबद्दता जनाउनेको सुचिमा थप तीन वटा बाणिज्य बैंक थपिएका छन। यस अघि १७ वटाले प्रतिबद्धता जनाएकोमा बुधबारसम्म सिद्दार्थ, स्ट्यान्डर्ड चार्टड र नेपाल बंगलादेश बैंक पनि सुचिमा थपिएका छन। त्यस्तै ३ बिकास बैंकले समेत मर्जरको लागि प्रतिबद्दतापत्र बुझाएका छन्।

राष्ट्र बैंकका अनुसार प्रतिवद्धता जनाएकामध्ये चारले सहमति गरिसकेका छन्। ग्लोबल आइएमईमा जनता बैंक तथा सिटिजन्समा सहयोगी विकास बैंक मर्ज हुने निश्चित भइसकेको छ।

मर्जका लागि प्रतिवद्धता जनाउने अन्य वाणिज्य बैंकहरूमा एसबिआई, एनएमबि, सनराइज, लक्ष्मी, एनसिसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेन्चुरी, इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, कुमारी, मेगा छन्। त्यस्तै विकास बैंकहरूमा संग्रिला र महालक्ष्मी छन्।

अर्थमन्त्री डा युबराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट मार्फत ठुला बैंकलाई मर्जरको लागि प्रोत्साहन गर्ने भनेसंगै नेपाल राष्ट्र बैंक मर्जरको लागि तिब्र तयारि थालेको छ। सोहि अनुरुप राष्ट्र बैंकले असार १२ गते बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरुलाई डाकेर मर्जरको लागि तयार रहन निर्देशन दिएको थियो। मौद्रिक नीतिमा मर्जरको बिषय उल्लेख्य हुने भन्दै त्यसअघि नै तयार रहन राष्ट्र बैकले बैंक बीत्तीय संस्थाहरुलाई मर्जरको लागि उपयुक्त जोडी रोज्न निर्देशन दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *