कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १९ बैशाख

कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित

कोभिड–१९ को कारण १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसले पनि श्रमिकका समस्या समाधान गर्न दबाब दिने उद्देश्यले देशभरका एकाइमार्फत सरकारलाई पत्राचार गरेको जनाएको छ । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोना भाइरस सङ्क्रमणपछि नेपालका श्रम क्षेत्रमा भएको परिस्थितिलाई सामाना गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए ।

मजदूर आन्दोलनको सम्झनामा मई दिवस

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *