आ.व. २०७८/७९ का लागि वागीश्वरी मा.वि. र कलेजकोे बजेट सार्वजनिक

अर्थ/वाणिज्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १० भदौ


वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजले बिहीवार अनलाइन जुममार्फट संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिकीकरण गरेको छ ।

विद्यालय र कलेजको नयाँ बजेट आउँदा शिक्षक कर्मचारीको तलब कति बढ्यो ?, सुविधा कति बढ्यो ? भन्नु भन्दा के नयाँ कार्यक्रम आउँदैछ भन्ने तर्फ ध्यान दिनुपर्ने कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गरेको छ ।
उनले प्राध्यापक÷शिक्षकले कुनै काम गर्दा उद्देश्यमूलक ढंगले गर्नुपर्ने बताउँदै निरुद्देश्य घुमफिर गर्ने, खर्च गर्ने, रमाइलो गर्ने कार्यले समाजमा नकारात्मक प्रभाव पर्ने बताए । उनले वागीश्वरी परिवार पाँच हजार विद्यार्थीको परिवार भएकाले शिक्षक प्राध्यापममार्फत नागरिक भावना जगाउनु पर्नेमा ध्यानाकर्षण गराए । पारदर्शिता नै सफलताको आधार भएको बताउँदै अध्यक्ष प्रजापतिले वागीश्वरी मा.वि. र कलेजलाई नमूना बनाउन र देशमै चिनाउन सबैको प्रयास हुनुपर्नेमा जोड दिए ।

वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले विद्यालयको बजेट १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स (प्राविधिक शिक्षा)तर्फ दुई करोड ६५ लाख ८१ हजार १ सय ६९ रुपैयाँ गरी जम्मा १७ करोड २१ लाख ७५ रुपैयाँको बजेट प्रस्तुत गर्दै कार्यरत शिक्षक कर्मचारीहरुलाई श्रम ऐन बमोजिम आन्तरिक स्रोतबाटै सुविधा दिएको बताए । उनले यस वर्ष ब्रह्मचारिणी आधारभूत विद्यालयको स्तरोन्नतिको काम गरिरहेको जानकारी दिए ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पाँच करोड ७२ लाख २८ हजार २ सय ६४ रुपैयाँको बजेट प्रस्तुत गर्दै यसवर्ष कलेजले अनुसन्धानमूलक गतिविधिको लागि २८ लाख ७५ हजार बजेट विनियोजन भएको बताए । कलेजको शैक्षिक गुणस्तर बढ्दै गएको, उत्तीर्ण दरमा उत्कृष्ठ नतिजा हासिल गर्नुका साथै विद्यार्थी भर्ना वृद्धिले उत्साहित भएको उनले ठम्याइ छ ।

कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले कलेज र विद्यालयले झण्डै एक करोडको छात्रवृत्ति दिँदै आएकोमा खुशी व्यक्त गरे । उनले विद्यालय कलेजको प्रगति हेर्न नचाहने तत्वहरु निहुँ पाएपछि जसरी पनि बिगार्ने भड्काउने दाउमा रहने बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समुदाय सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, विद्यालयको सहायक प्र.अ. कृष्ण प्रसाद कर्माचार्य, कलेजका लेखा सहायक रमेश गोसाईलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *