स्वास्थ्य सुरक्षा मापदण्डमा कृषिकर्म गर्दै प्यूठानका किसान

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
प्यूठान, १७ जेठ


कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिइरहेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ । देशमा निषेधाज्ञा जारी भइरहँदा विभिन्न विकास निर्माणका साथै धेरै कृषिकर्मको काम पनि प्रभाबित भएका छन् । तर प्यूठानका किसानलाई भने धान रोप्न तथा कृषि गर्न भ्याइनभ्याइ देखिन्छ । यतिबेला प्यूठानका अधिकांश किसानहरु मकै लगाउन, गोडमेल गर्न तथा धान रोप्न ब्यस्त छन् । यो समय मानो रोपेर मुरी फलाउने समय हो ।

यतिबेला प्यूठानको झिमरुक फाँटमा किसानहरु असारे गीत गाउँदै धान रोप्न तथा आली लगाउँदै गरेको देख्न सकिन्छ । यो बर्ष समयमै पानी परेको तथा सिँचाइ सुबिधा भएका कारण बैशाखमै रोपाइ गर्न पाएको किसानहरु बताउँछन् । अहिले कोरोना भाइरसको दोस्रो लहर आएपनि स्वास्थ्य साबधानी अपनाएर कृषि काम गरिरहेको प्यूठान नगरपालिका ९ का गोबिन्द बहादुर केसीले बताए । ‘यस फाँटमा बाह्रै महीना सिँचाइ सुबिधा छ, जसले गर्दा समयमै रोपाइ हुन्छ’ उनले भने, ‘गत बर्षजस्तै यसबर्ष पनि कोरोनाको महामारी भएका कारण घरपरिवार र छिमेकीले मात्रै काम गरेका छौँ ।’ बिगतका बर्षमा गीत गाउँदै, हिलो छ्याप्दै रमाइलो गर्दै रोपाइ गरेपनि गतबर्षबाट परिवार मात्रै सीमित भएर रोपाइ गरेको उनी बताउँछन् ।

जिल्लाको मल्लरानी, ऐरावती, झिमरुक, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाका विभिन्न वडाहरुमा धान खेती गरिन्छ । यहां बैशाखको अन्तिमदखि नै रोपाइ सुरु हुन्छ । अहिले प्यूठान नगरपालिकाको बिजुवार, जुम्रि, बाग्दुला, बिजयनगर, खैरा, मरन्ठाना, धर्मावती, मल्लरानीको चुजांठाटि, ऐरावतीको बरौला, माण्डवीको नयाँगाउँ, जस्पुर लगायतका विभिन्न ठाउँमा रोपाइ चलिरहेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै प्यूठानमा जेठ ३१ गतेसम्मका लागि लकडाउन गरिएको छ । लकडाउनको असर सबै क्षेत्रमा परेको भए पनि यहाँका ग्रामीण क्षेत्रको कृषि काम भने भौतिक दूरी कायम गरी जारी रहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) ईकाइ प्यूठानका अनुसार जिल्लाको कुल ४२ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये ६ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । प्यूठानमा अहिले कुल क्षेत्रफलको ५५ प्रतिशत क्षेत्रफलमा रोपाइ भइसकेको छ । जेठ अन्तिमसम्ममा ८५ प्रतिशत रोपाइ सकिन्छ भने बाँकी टारी खेतहरुमा असारमा रोपाइ हुन्छ । गत बर्ष जेठको पहिलो सातामा सकिएको रोपाइ यसबर्ष लकडाउनका कारण केही ढिला भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) ईकाइ प्यूठानका कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइ हुने प्यूठानमा २०७५ सालमा प्रतिहेक्टर ३.८७ मेट्रिकटनका दरले २५ हजार ३ सय ४८ मेट्रिकटन धान उत्पादन भएको पौडेलले जानकारी दिए । उनका अनुसार गतवर्ष ३.८७ मेट्रिकटन प्रतिहेक्टरका दरले उत्पादन भएको धान अहिले बढेर ४ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ । गतबर्ष प्यूठानमा २६ हजार २०० मेट्रिकटन धान उत्पादन भएको थियो । भने यसबर्ष उत्पादन बढेर ४.६ मेट्रिकटन प्रतिहेक्टर पुगेको कार्यालयको तथ्याङ्क छ । यसबर्ष किसानका लागि अनुदानमा साना आधुनिक मेसिनरी औजार तथा उपकरण, कृषि चुन, बिउ, मल लगायतका सामग्री उपलब्ध गराएकाले यसबर्ष धान उत्पादनमा अझै वृद्धि हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *