संसारलाई येनान चिनाउने पत्रकार

अन्तर्वार्ता राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १७ जेठ

(चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा चाइना डेलीले ‘एक सय दिनमा एक सय चिनियाँ कम्युनिस्ट पार्टीका कथा’ को श्रृङ्खला चलाइरहेको । सो श्रृङ्खलाअन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भोगेका र सहभागी भएका विदेशीहरूको जीवन परिचय समावेश छ । उनीहरूको जीवनकथाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्न मद्दत पुग्ने आशा गरिएको छ । सोही शृङ्खलाअन्तर्गतको आलेख प्रस्तुत छ ।)
सन् १९४४ को सेप्टेम्बर १ मा येनानको छिङलियाङ पहाडको एउटा गुफाबाट सिन्ह्वा समाचार संस्थाले आफ्नो पहिलो अङ्ग्रेजी भाषाको बुलेटिन संसारभर पठायो । त्यस बुलेटिनमा चीनको कम्युनिस्ट पार्टीले नेतृत्व गरेको आठौँ मार्ग सेना, नयाँ चौथो सेना र जापानविरोधी आधार क्षेत्रका समाचार छापिएका थिए । त्यही दिनदेखि संसारले चिनियाँ कम्युनिस्ट पार्टीको आवाज सुन्न थालेको हो । यो अभूतपूर्व कामको पछाडि ‘विदेशी अनुहार’ भएका चिनियाँ कम्युनिस्ट पार्टीका एक जना सदस्यको कडा मिहिनेत थियो । विदेशी अनुहार भएका चिनियाँ कम्युनिस्ट पार्टीका उनी थिए, इजरायल इप्स्टिन ।
पोल्यान्डको वार्सामा सन् १९१५ मा इप्स्टिनको जन्म भएको थियो । उनी यहुदी थिए । उनी दुई वर्षको छँदा उनको परिवार चीनमा बसाइ सरेको थियो । चीनको तान्जिनमा आफ्नो बाल्यकालको स्मरण गर्दै उनले लेखेका छन्, “म किशोर नै भइसकेको थिइनँ । चीनको जताततै युद्ध र भोकमरीमात्र व्याप्त थियो । त्यही भएर तान्जिनमा हाड र छालामात्र भएका फोहोरी शरणार्थीहरूको ओइरो लागेको थियो । कोही बलिन्द्र आँसु झार्दै खानको लागि केही माग्थे, कोही आफ्ना केटाकेटी किन्न अनुनय गरिरहेका हुन्थे । …जाडो महिनाको एक बिहान मेरो लागि अविस्मरणीय लाग्छ । …म त्यस्तै बा¥ह वर्षको केटो थिएँ । …ढोकामा एउटा जमिसकेको चिसो लास थुचुक्क बसेको थियो । कठ्याङग्रिंदो जाडो रातमा कतै ओत खोज्ने प्रयास गर्दागर्दै उनको प्राणपखेरु उडेको प्रस्ट देखिन्थ्यो ।” गरिब र कमजोर चीनले युवा इप्स्टिनको मन रुन्थ्यो । चीनका जनताले भोगिरहेका दुःखकष्ट देखेर उनलाई निद्रा पर्दैनथ्यो । त्यहीबेला उनले विचार गर्न थाले–चीनलाई यो अवस्थाबाट कसले निकाल्न सक्ला ? त्यस परिस्थितिमा आफ्नो जीवनको लक्ष्य के हुनुपर्छ ?
सन् १९३७ देखि १९३८ को मध्यमा इप्स्टिन साङ्घाई, नान्जिङ, उहान र चीनका अन्य विभिन्न सहरमा युनाइटेड प्रेस इन्टरनेसनल(यूपीआई)को प्रतिनिधिको रूपमा पुगे । सन् १९३८ को अप्रिलमा ताइअरच्वाङको लडाईँ ९त्जभ दबततभि या त्बष्भचशजगबलन० को समाचार सङ्कलन गर्न उनी लडाइँको मोर्चामा पुगे । त्यहाँ उनले आठौँ मार्ग सेना कसरी जनताको पक्षमा उभियो भन्ने कुरा आफ्नो आँखाअघि देखे । त्यहाँ मानिसहरू नागरिकको रूपमा आफ्नो अधिकार पूर्णतः उपयोग गरिरहेका थिए र आत्मसम्मानको जीवन व्यतीत गरिरहेको प्रत्यक्ष अनुभव गरे । चीनको त्यस्तो दृश्य यसअघि कहीं देखिएको थिएन । त्यसबाट चिनियाँ जनतामा आफ्नो देशको रक्षा गर्नु भनेको आफ्नो जमिन रक्षा गर्नु हो भन्ने कुरा बुझे । अनि मानिसहरू आठौँ मार्ग सेनाले बनाएका सैनिक सङ्गठनमा सामेल हुन हुरुक्कै भएर लागे ।

अध्यक्ष माओसँग इप्स्टिनलगायत विदेशी पत्रकार

सन् १९४४ को मे महिनामा इप्स्टिनले यूपीआईको प्रतिनिधिको रूपमा पहिलोपटक येनानको भूमिमा पाइला टेके । विदेशी पत्रकारहरूको प्रतिनिधिमण्डलमा सामेल भएर उनी त्यहाँ पुगेका थिए । येनान जाने क्रममा उनीहरू देखे, कोमिङताङको कडा नाकाबन्दीबीच पनि सीमावर्ती क्षेत्रमा सिपाहीं र गाउँलेहरूले ‘बृहत् उत्पादन अभियान’ लाई जोडतोडका साथ अघि बढाइरहेका थिए । उत्तरी शान्सी प्रान्तको बाँझो र उजाड जमिनलाई उर्वर कृषि भूमिमा रूपान्तरण गरिएको थियो । पत्रकारहरू सुनजस्तो पहेंलो गहुँ र कोदो बारी छिचोलेर अघि बढे । सिमी, कपास र अलसीका लहलह झुलेका बाला हेर्दै उनीहरू अघि बढेका थिए । सबै बालीनाली राम्ररी फलेका थिए । ३५९ औं ब्रिगेडका सैनिक अधिकारी र सिपाहीहरूको एउटा टोली ननिवनमा हातमा कुटो कोदाली बोकेर गीत गाउँदै खेत खनिरहेको दृश्य देखेपछि उनीहरू अझ बढी प्रभावित बने । उत्तरी शान्सी प्रान्तले आफूमाथि पारेको पहिलो प्रभावबारे उनले लेखे,“उत्तरी शान्सीको कुनै बेलाको उजाड भूमि सफल कृषि भूमि बनेको थियो । त्यहाँ असङ्ख्य गाईवस्तु र भेडा च्याङ्ग्रा थिए । हस्तकला उद्योगको विकास भइरहेको थियो । मानिसहरू कुनै पनि कुराको अभाव नभएको भरिपूर्ण जीवन बिताइरहेका थिए । सिपाही र जनता मिलेर बाँझो भूमिलाई उर्वर भूमि बनाइरहेका थिए । सिपाहीहरू गर्मी महिनामा खेतीपातीमा लाग्थे र जाडो महिनामा सैनिक तालिम गर्थे । उनीहरू स्थानीय किसानहरूलाई कति पनि दुःख र बोझ नदिई आफ्नो हातमुख जोड्ने व्यवस्था आफै गर्थे ।”

येनानको संस्मरण

त्यहाँ पुग्दा इप्स्टिनलाई अर्कै संसारमा गएको जस्तो अनुभव भएको थियो । “चीनका अन्य ठाउँमा मानिसहरू सेना आउने बित्तिकै भागाभाग गर्थे । तर, त्यहाँ त किसानहरूले सिपाहीहरूलाई पिलाउन तातोपानी ल्याइदिन्थे । सिपाहीहरूले केही नभन्दा पनि जनता सिपाहीका घोडाको स्याहारमा लाग्थे । …जनताले सिपाहीलाई कुनै लामो यात्राबाट फर्केको आफ्नो आफन्तजस्तै व्यवहार गरिरहेका थिए ।”
येनानमा सबै कुरा निकै भिन्न थियो । आफ्नी श्रीमतीलाई लेखेको चिट्ठीमा उनले सो क्षेत्रलाई ‘सानोतिनो महान् देश’ को उपमा दिएका थिए । “त्यहाँ मानिसहरू पक्का पनि ज्यादै सक्रिय थिए । उनीहरू आफूहरू नै चीन र चीनको भविष्य भएकोमा ढुक्क थिए । उनीहरूले मुखले त्यसो भनेनन् । तर, उनीहरूका काम, आत्मविश्वास र मुस्कानले त्यही बताइरहेको थियो । मलाई पूर्ण विश्वास भइसकेको थियो– अर्को दशकसम्ममा येनान विस्तार भएर सिङ्गो चीन येनान बन्नेछ ।”
इप्स्टिन तीन महिना येनान बसे । सो क्रममा उनले माओ त्सेतुङ, चु तेह, चाओ एन लाइ र अन्य नेताहरूसँग अन्तर्वार्ता लिए । ‘जटिल रणनीतिक सोचलाई पनि सरल भाषामा बुझाउन जान्ने र निरक्षर व्यक्तिलाई समेत त्यसको अर्थ भित्रसम्म बुझाउन सक्ने’ माओ त्सेतुङको क्षमताबाट उनी ज्यादै प्रभावित थिए ।
“माओ येनानको गुफामा बस्नुहुन्थ्यो । तर, उहाँलाई संसारको अवस्थाबारे गहिरो जानकारी थियो । माओलाई भेटेका जो कोहीले पनि उहाँ शताब्दीकै एक महान व्यक्ति भएको आफ्नो प्रभाव सुनाउँथे । उहाँसँग राजनीतिकरूपमा मत नमिल्नेहरूले पनि यस्तै भन्थे । माओको व्यक्तित्व, गम्भीरता र हाँसो ठट्टा, धैर्यता र निर्णायात्मक, चिन्तन र कार्य, आत्मविश्वास र नम्रताको सङ्गम थियो”, इप्स्टिनले भनेका छन् ।
इप्स्टिनको अनुभवमा चाओ एन लाइ निकै मिलनसार थिए । उहाँलाई युद्धमा जन्मेको नेता भन्नै नसुहाउने थियो । चाओ सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो अनि आफ्नोबारेमा त्यत्ति ध्यान दिनुहुन्नथ्यो । उहाँ जतिसुकै व्यस्त भए पनि आफ्ना सहकर्मी र सहयोगीहरूको काम, अध्ययन र दिनचर्याबारे सोध्ने समय निकाल्नुहुन्थ्यो ।
येनान बसाइको क्रममा इप्स्टिनले येनान र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको विषयमा लेखेका समाचार र लेखहरूले संसारलाई चीनमा हुर्किरहेको नयाँ समाजबारे बुझाउन सफल भए । ‘द न्यु योर्क टाइम्स’ लाई लेखेका एउटा समाचारमा उनले आठौँ मार्ग सेनाले जनतासँग नजिकको सम्बन्ध कायम गरेको र जनताबाट एक पैसा पनि लिने नगरेको लेखेका छन् । धेरै वर्षपछि येनानको आफ्नो त्यो भ्रमण आफ्नो बाँकी जीवन क्रान्तिकारी बाटोमा अघि बढ्न प्रोत्साहित गर्न निकै महत्वपूर्ण भएको स्मरण गरे । “मैले त्यहाँ नितान्त फरक चीन देखेँ । त्यो चीन च्याङ काई शेकले शासन गरेको चीनभन्दा पूर्णतः भिन्न खालको चीन थियो । त्यो चीन पूर्णतः आशाले भरिपूर्ण थियो । त्यहाँ भोक थिएन । त्यहाँ पराजित मनस्थिति थिएन ।” उनी प्रतिक्रियावादी शासनको अन्त्य हुने र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ चीनको उदय हुनेमा विश्वस्त भए ।

हार्बिनमा आमासँग इप्स्टिन

येनानको त्यही भ्रमणबाट सुरु भयो–पहेँलो नदीको लोकगीतसँग इप्स्टिनको सम्बन्ध । यिनै गीतमा निहीत चिनियाँ जनताको भावनाबाट प्रेरित भएर उनले पहिलोपटक तिनको शब्द अङ्ग्रेजीमा अनुवाद गर्न थालेका थिए । पहेंलो नदी क्षेत्रका ती लोकगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्न उनले महत्वपूर्ण भूमिका खेले ।
सन् १९४५ मा इप्स्टिन संरा अमेरिका फर्के । जनवादी गणतन्त्र चीनको स्थापनापछि उनी र केही अन्य प्रगतिशील व्यक्तिहरू मिलेर नयाँ चीनको राष्ट्रिय झन्डासहितको पहिलो अमेरिकी प्रकाशन संस्था ‘द लाइट इन द ब्रोड इस्ट’ स्थापना गरे । सन् १९५१ मा उनी चीन फर्के । त्यसको ६ वर्षपछि उनले चीनको नागरिकता प्राप्त गरे । सन् १९६४ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बने ।
इप्स्टिनले सन् १९५५, १९६५ र १९७६ गरी तीनपटक तिब्बतको भ्रमण गरे । उनले तिब्बतका झन्डै एक हजार मानिसको अन्तर्वार्ता गरे र दस लाख शब्द टिपोट बनाए । तिनै टिपोटको आधारमा उनले तिब्बतको रूपान्तरणबारे एउटा पुस्तक लेखे । तिब्बतमा भइरहेको चामत्कारिक परिवर्तनबारे त्यो पुस्तक विश्वसनीय अभिलेख थियो । इतिहासको स्थापित दिशाभन्दा भिन्न बाटो लिइरहेको थियो, तिब्बतले । पुस्तकमार्फत तिब्बतबारे नयाँ चीनको नीतिबारे धेरै मानिसले जानकारी पाए । साथै मुक्तिपछि तिब्बतले अङ्गालेको विकासको बाटोबारे पनि मानिसलाई जानकारी भयो ।
इप्स्टिनले निकै स्नेहपूर्ण भन्ने गरेका छन्–चिनियाँ जनताको क्रान्तिकारी लक्ष्यमा सामेल र सहभागी हुँदाको आफ्नो अनुभवभन्दा उत्तर र अर्थपूर्ण कुरा अरू केही छैन । संसारकै पाँच भागको एक भाग जनसङ्ख्या भएको चीनले सिङ्गो संसारको भविष्यको लागि ठुलो जिम्मेवारी वहन गरेको छ । हरेक क्रान्तिमा जस्तै चीनको क्रान्तिकारी सङ्घर्षमा पनि खुसी छ, दुःख छ, पीडा छ, आरोह छ, अवरोह छ । तर, समग्रमा क्रान्ति उँभो लाग्दो छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रगतिमा ठुलो योगदान गरेको छ ।
सन् २००५ को मे महिनामा गौरवपूर्ण र विलक्षण जीवनयात्रापछि इप्स्टिनको पेइचिङमा निधन भयो । अन्तिम समयमा आफ्नो वरपरका सबैलाई चीनको व्यापक प्रगतिको कारण उसको अन्तर्राष्ट्रिय प्रभाव स्वाभाविक भएको बताएका थिए । तर, चीनको प्रगति भर्खर सुरु भएको उनको भनाइ थियो । सधैँजसो बाटोमा अनेकन अवरोधहरू छन् । तर, चीन ती अवरोध छिचोलेर अघि बढिरहनेछ ।
स्रोतः चाइना डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *