‘ड्राइभिङ लाईसेन्स’को ट्रायल अनिश्चित, विभाग भन्छ–दशैंपछि पनि कहिले खुल्छ भन्ने टुंगो छैन

अर्थ/वाणिज्य विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडाैं, ६ असाेज

कोरोना भाइरस (कोभिड–१९) का कारण विगत ६ महिनायता रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाईसेन्स) को ट्रायल कहिलेदेखि खुल्छ भन्ने अनिश्चित बनेको छ ।

सरकारले असोज १ देखि प्रायः सबै क्षेत्रमा बन्दबन्दी तथा निषेधाज्ञा अन्त गरेपनि यातायात व्यवस्था विभागले भने कहिलेदेखि ड्राइभिङ लाईसेन्सको ट्रायल खुलाउने भन्ने टुंगो लगाउन नसकेको हो । जसका कारण ड्राइभिङ लाईसेन्स लिन चाहने हजारौं जना ट्रायल कहिले खुल्ने हो भनेर कुरिरहेका छन् ।

विभागले भने छापेर तयार भएका लाखौं सवारीसाधन चालक अनुमतिपत्र समेत वितरण गर्न सकेको छैन् । यस्तो अवस्थामा नयाँ लाइसेन्सका लागि ट्रयाल कहिले खुल्छ भनेर अहिले बताउन नसकिने विभागका अधिकारी बताउँछन् । विभागले हाल संक्रमितको संख्या बढिरहेको अवस्थालाई ध्यानमा राख्दै दशैपछि मात्रै लाईसेन्सको ट्रयाल खोल्न सकिन्छ कि भनेर अध्ययन गरिरहेको बताएको छ ।

पछिल्लो समय नेपालमा दैनिक १ हजारमाथिको संख्यामा कोरोना संक्रमित थपिरहँदा ट्रयाल खोल्नु जोखिम भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् । विभागमा कर्मचारीको कमी र ट्रयाल दिँदा मानिसको बढी भीडभाड हुने भएपछि जोखिम बढने भएकाले दशैंअघि ट्रायल खुलाउने योजना नरहेको उनले बताए ।

तर, दशैंपछि पनि अवस्था के हुने र सोहीअनुसार ट्रयाल खुल्ने नखुल्ने भन्ने अझै बताउन नसकिने समेत उनले प्रष्ट पारे । ‘कोरोनाकै कारण कार्यालयमा भनेअनुसार कर्मचारी उपस्थित हुन सकेका छैनन,’ उनले भने, ‘यस्तो बेलामा ट्रयालका लागि गरिने विभिन्न व्यवस्थापन नै अप्ठ्यारो भएको छ । जनजीवन सामान्यजस्तै भएपनि संक्रमित बढिरहने भएपछि अझै केही डराउनुपर्ने अवस्था छ । यस्तो बेलामा ट्रयाल खोल्दा एक्कासी यातायात कार्यालयहरुमा भीडभाड बढ्छ । र सोहीअनुसार कोरोना संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । यसैले अहिले नै यसबारेमा केही सोच्न नसकिएको विभागका महानिर्देशक हमाल बताउँछन् ।

यस्तै दशैपछिको अवस्थाका बारेमा हालसालै कुनै अड्कलबाजी गर्न नसकिने भएपछि पनि यसमा केही अन्यौलता अझै बाँकी छ । सोही अनुसार दशैपछि पनि कहिले सवारी लाईसेन्सको ट्रयाल खुल्ने भन्ने नै टुंगो लगाउन नसकिने हमालको भनाइ छ ।

लाईसेन्स प्रिन्टको ब्याकलक सकियो, वितरण गर्न सकिएन

केही बर्षदेखि वितरण गर्न बाँकी लाईसेन्स भने यातायात व्यवस्था विभागले लकडाउनको सदुपयोग गर्दै प्रिन्ट गरेर सकाएको छ । लकडाउनअघि ६ देखि ७ लाखको हाराहारीमा रहेको ब्याकलक हाल शून्यमा झरेको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार विभागले बाँकी रहेका सबै लाईसेन्स छापेर कार्यालयहरुमा पठाइसकेको छ । तर कार्यालयहरुले भने भीडभाड हुन्छ भनेरै अझै लाईसेन्सहरु वितरण गरिसकेको अवस्था छैन ।

यता विभागमा पनि केही कार्यालयहरुले लिन बाँकी ३० देखि ४० हजार थान स्मार्ट लाईसेन्स बाँकी नै छन् । तर पनि हाल विभागले भने लाईसेन्स नविकरण गर्ने कार्य भने गरिरहेकै छ । विभागका महानिर्देशक हमालका अनुसार हाल प्रतिदिन २ देखि ३ हजारको संख्यामा लाईसेन्स नविकरण हुने गरेका छन् ।

ट्रायल खुलेपछि काठमाडौंको हकमा एक हप्तामै लाईसेन्स पाइने

विभागले लकडाउनको सदुपयोग गर्दै व्याकलकमा रहेका सबै लाईसेन्सको छपाइ सकाएको छ । जसका कारण अव लाईसेन्स छपाइमा धेरैभन्दा धेरै दुखः हुँदैन । अब ट्रायल खुलेपछि प्रतिदिन ट्रायल पास हुनेजति लाईसेन्स छापेर यातायात कार्यालयमा पठाउने विभागले तयारी थालेको छ ।

काठमाडौंको हकमा ट्रायल पास भएको १ हप्तामै लाईसेन्स पाइएपनि उपत्यका बाहिरको हकमा १ महिनाको समय लाग्ने बताइएको छ । विभागबाट लाईसेन्स लिएर कार्यालयले वितरण गर्दा केही समय लाग्ने भएकाले बाहिरका जिल्लाहरुमा भने केही समय लाग्ने विभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *