नेपालको क्षेत्रफल बढ्यो, अब १,४७,६४१.२८ वर्ग किलोमिटर लिम्पियाधुरा समेटिएको नक्सासहितको सन्दर्भ पुस्तक तयार

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ३१ भदाै

पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ ।

पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू-भाग समावेश गरिएको छ । यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन ।

सरकारले गत ७ जेठमा सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा अनुसार पुस्तक तयार पारिएको हो ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय गरिसकेको छ ।

पुस्तकमा के छ ?

आफ्नो राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै आमजनतामा सचेतता र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी मुलुकहरूसँग बेलाबेलामा देखा पर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमा सम्बन्धी विवादहरूको जानकारी राख्ने सहयोगी हुने अभिप्रायले पुस्तक तयार पारिएको शिक्षा मन्त्री पोखरेलले जानकारी दिए । यो पुस्तक सीमा विवादका कारणहरू पहिल्याउने, विवाद समाधानका तरिकाहरूको पहिचान गर्ने, यस सम्बन्धी संवेदनशीलता र उचित दृष्टिकोणको विकास गर्न पनि उपयोगी हुने उनी बताउँछन् ।

पुस्तक समेटिएका मुख्य विषयहरूः

–नेपालको प्राचीन, मध्यकालीन लगायत ई.सं. १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ

–अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमाविवाद, सीमा विवाद हुने कारण र समाधानका उपायहरूको छोटो जानकारी

–नेपालको सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरू

–नेपाल र भारत बिचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाणहरू

–नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता क्षेत्रको अतिक्रमण सम्बन्धी छोटो जानकारी

–नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोग सम्बन्धी विषयवस्तु

–यस सामग्रीको प्रयोग र कक्षभित्र र बाहिर गरिने क्रियाकलापहरू सम्बन्धी शिक्षकका लागि केही निर्देशन

–सुगौली सन्धिलगायत नेपालको सीमा सम्बन्धी विभिन्न सन्धि सम्झौताहरूको सूची

लिम्पियाधुरासम्म नेपालहो भन्ने केही तथ्य र प्रमाण

पुस्तक सीमा बचाऔँ अभियानका अभियन्ता कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् एवम् कार्टोग्राफर शेरबहादुर गुरुङ र भूगोलविद् एवम् पाठ्यपुस्तक लेखक सहप्राध्यापक केशवराज ढकालसहितको कार्यदलबाट र संयोजन पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेम भट्टराईले लेखेका हुन् ।

सन् १८१६ मा भएको सुगौली सन्धि (वि.स. १८७३) को धारा ५ ले काली नदी पश्चिमको भागमा नेपालले दावीगर्ने छैन भनी कालीनदीसम्म नेपालको सिमाना कायम गरेको देखिन्छ । यसबाट कालीनदी सहित सोभन्दा पूर्वको भाग नेपाल रहेको स्पष्ट छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको करिव ५४१.६ (५४२ व.कि.मि)क्षेत्रफलको नेपाली भूभाग भारतद्वारा अतिव्रmमणमा परेको छ ।

तत्कालीन समयमा प्रकाशित नक्साहरू, जुलाई २२, १९४९ (वि.सं.२००६ साल साउन ७ गते) मा तत्कालीन नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको सदस्यताकालागि गरेको अनुरोध पत्रमा उल्लिखित नेपालको नक्सा र विभिन्न समयमा सीमा निर्धारण, जनगणना तथा तिरो तिरेका प्रमाण र आधारहरू, तत्कालीन शासक, प्रशासकहरूका निर्देशन, चिठीपत्र लगायतका दस्तावेजहरू पुस्तकमा समावेश छन् ।

लिम्पियाधुराबाट निस्कने कुटीयाङ्दी भनिने पश्चिमोत्तर शाखा नै वास्तविक कालीनदी हो र सोभन्दा पूर्वको भूगोल नेपालको हो भनी प्रमाणित गर्ने विभिन्न सीमाविद् र अनुसन्धानकर्ताका निष्कर्षहरू‐

(अ) नदी प्रणाली सम्बन्धी नियमानुसार सबैभन्दा लामो र जलाधार क्षेत्र सबैभन्दा धेरै भएको नदी नै मुख्यनदी हुन्छ ।

(आ) भौगोलिक सूचना प्रणाली (Geographic Information System) र दुर‐सम्प्रेक्षण प्रणाली (Remote Sensing) प्रयोग गरी नदी विज्ञानको विश्लेषण गर्दा‐

  •  काली, लिपु र टिङ्कर नदीको लम्बाइ क्रमश: ६६.७८, २४.२१ र २९.९२ कि. मि. रहेको
  • काली, लिपु र टिङ्कर नदीको जलाधार क्षेत्रको क्षेत्रफल क्रमश: ७७९.५६, २५३.६४ र ४५७.५५ वर्ग कि.मि. रहेको । यहाँ कालीनदीको लम्बाइ र क्षेत्रफल नजिकका अन्य नदीहरूको भन्दा धेरै रहेकाले यस तथ्यले कालीनदीको मूल पश्चिमोत्तर शाखा नै हो भनी प्रमाणित हुने
  • नदीको क्रमानुसार र शाखाहरूको सङ्ख्या विश्लेषण गर्दा काली, लिपु र टिङ्कर नदीको क्रमश: ५, ३, ४ र ११६, २७, ४७ रहेको ।

सन् १९९८ को स्थलगत अध्ययन अनुसार काली र लिपु नदीको बहाव क्रमश: २२ र ७ घनमिटर प्रति सेकेन्ड (m3/s) छ । यस तथ्य अनुसार पनि पश्चिमोत्तर शाखाबाट बग्ने नदीको बहाब धेरै भएकाले सोही शाखा कालीनदीको मुहान भएको प्रमाणित तथ्य रहेको पुस्तकमा उल्लेख छ ।

सर्वे अफ इन्डियाले २०७६ कार्तिक १६ गते प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र पारेपछि त्यसको तीव्र विरोध भएको थियो । आफ्नो अतिक्रमण गरेको विषयलाई नेपालले कुटनीतिक संवादद्वारा समाधान गर्न पटक पटक वार्ताका लागि औपचारिक तथा अनौपचारिक तरिकाले पहल गरेको देखिन्छ । तर भारतले भने नेपालको आव्हानलाई वेवास्ता गर्दै आएको छ ।

संवादको माध्यमबाट सीमा समस्या समाधान गर्न नेपालले गरेको प्रयासलाई भारतले वेवास्ता गरेपछि भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *