इन्टरनेटले कामै गर्न छाडेपछि सेवाग्राही मारमा

अर्थ/वाणिज्य विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट
ताप्लेजुङ, २८ भदौ


नेपाल टेलिकमले प्रदान गर्दै आएको (एडीएसएल) इन्टरनेट सेवा प्रभावकारी नहुँदा ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । पछिल्लो एक सातादेखि इन्टरनेटले कामै गर्न छाडेपछि सदरमुकामका सर्वसाधारणदेखि सरकारी तथा गैरसरकारी कार्यालयहरु मारमा परेका हुन् । इन्टरनेटले कामै गर्न छाडेपछि इन्टरनेटकै भरमा चल्ने बैंंक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु साथै सञ्चार माध्यमहरुको काममा प्रत्यक्ष असर परेको छ । इन्टरनेटका माध्यमबाट हुने कतिपय कामहरु छिटोछरितो नहुँदा ग्राहकले दुःख पाएका छन् ।

‘केही दिन यता इन्टरनेट नचलेर अफिसियल सिस्टम नखुल्दा ग्राहकले बुझाउने प्रिमियमको बीलसम्म काट्न पाएको छैन, सेवाग्राही त्यसै फर्किने गरेका छन्,’ एसियन लाइफ इन्स्योरेन्स कम्पनी ताप्लेजुङ शाखा प्रमुख राजकुमार कार्कीले भने । इन्टरनेट नचलेकै कारण पटक पटक सेवाग्राही आएर फर्किने गरेको कार्कीको भनाइ छ । यस्तै कोभिड १९ को संक्रमणले विद्यालयहरु बन्द भएपछि चलाइएका अनलाइन शिक्षण सिकाइ क्रियाकलापमा समेत विद्यार्थीहरु सहभागी हुन पाएका छैनन् ।

यता इन्टरनेटकै भरमा आफ्नो पेशा व्यवसाय चलाइरहेका कम्प्युटर एशोसिएशन अन्तर्गतका पेशा व्यवसायी समेत मारमा परेको एशोसिएशनका जिल्ला अध्यक्ष विष्णुकुमार लिम्बूले बताए । गुणस्तरीय सेवा नहुँदा यहाँका सूचना प्रविधि क्षेत्र गम्भीर समस्यामा परेको भन्दै तत्काल समस्या समाधानका लागि एशोसिएशन र नेपाल पत्रकार महासंघ जिल्ला शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत उक्त मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष लिम्बूले जानकारी दिए । टेलिकमको कार्यालय ताप्लेजुङ निमित्तको भरमा चलेको, दक्ष प्राविधिक तथा जनशक्तिको अभावमा रहेको लगायतका कारण पनि सामान्य समस्या आउँदा तत्काल समाधान नहुने गरेको एशोसिएशनले जनाएको छ । आवस्यक रिक्त जनशक्ति व्यवस्थापन सहित गुणस्तर सुधारका लागि एशोसिएशनले ध्यानाकर्षण गराएको छ । यस्तै टेलिकमले नयाँ प्रविधि जडान गर्ने, भएकालाई व्यवस्थित गर्ने जस्ता कार्यमा चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन् ।

यता कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले भने समस्या समाधानका लागि माथिल्लो निकायसंग पटक पटक समन्वय भइरहेको बताए । जिल्ला तहबाट मात्रै यो समस्या समाधान नहुने उनको भनाइ छ । ‘अहिले देखिएको समस्या चाहिँ बेण्डवीथ कम भएर पनि हो, विभिन्न स्टेशन हुँदै आउने बेण्डवीथ कम भएकाले अहिले राम्रोसंग चलिरहेको छैन र यो समस्या समाधानका लागि सम्वन्धित ठाउँमा कुरा भइरहेको छ”–चेम्जोङले भने ।

जिल्लामा इन्टरनेटको समस्या नयाँ भने होइन । वर्षौदेखि इन्टरनेट सेवा भरपर्दो छैन । कहिलेकाहिँ राम्रै चल्ने गरे पनि अधिकांश समय चल्दै नचल्ने गरेको सेवाग्राहीहरु बताउँछन् । “पहिलेदेखि नै इन्टरनेटको गुणस्तर छैन, दुःखले काम चलाउ हुँदै आएको भए पनि एक सातादेखि त पूरै चल्नै छाड्यो, २÷३ सय केबीपीएस भन्दा बढीको स्पीड छैन, यसले इमेलसम्म खुल्दैन”–फुङलिङ निवासी गणेस श्रेष्ठले भने ।

यसैबीच निजीक्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट प्रदान भएको इन्टरनेट सेवाको हालत पनि टेलिकमको भन्दा फरक छैन । प्रायः बैंकहरुले र मालपोत कार्यालयले निजीक्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट सेवा लिइरहेका छन् । तर ती संस्थाका सेवा समेत नाम मात्रका रहेका छन् । उनीहरुले वितरण गरेको इन्टरनेट सेवा सुस्त छ । निजीक्षेत्रका वल्र्डलिंक, सुविसु क्लासिक लगायतका संस्थाहरुले उनीहरुलाई इन्टरनेट सेवा दिइरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *