‘कोभिड डेडिकेटेड’ अस्पताल बन्दै वीर र ट्रमा सेन्टर

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २५ बैशाख

सरकारले कोरोना संक्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित हाल चलिरहेको अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको हो।

मन्त्रालयमा भएको छलफलमा दुवै अस्पतालका निर्देशकले समेत सहमती जनाएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

मन्त्रालयमा भएको छलफल अनुसार ट्रमाको २ सय शय्या, वीर अस्पतालको हाल चलिरहेको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शय्या बनाउने निर्णय भएको छ। वीरको नयाँ सर्जिकल भवनमा क्रमश: आवश्यकता अनुसार शय्या थप गर्ने निर्णय पनि भएको मन्त्रालय स्रोत बताउँछ।

मन्त्रालयमा शनिबार भएको छलफलमा वीर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेका कारण उपचारमा सजिलो हुने विषय पनि उठेको थियो। यस्तै ट्रमा सेन्टरमा पनि लिक्विड अक्सिजन ट्यांक रहेकाले अक्सिजन चाहिने संक्रमितलाई सहज रुपमा उपचार सेवा दिन सकिने कुरा पनि उठेको छ।

ट्रमामा २ सय शय्या रहे पनि हाल त्यहाँ हाडजोर्नीका धेरै बिरामी उपचाररत रहेका कारण उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि मन्त्रालयमा छलफल भएको छ।

ट्रमाका निर्देशक डा सन्तोष पौडेलका अनुसार ट्रमामा अहिले ६० जना बिरामी उपचाररत छन्। ती बिरामीको व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

‘ट्रमामा अक्सिजन चाहिने संक्रमितलाई उपचार दिन पूर्वाधारहरु रहेका कारण कोभिड अस्पतालका रुपमा चलाउने विषयमा छलफल भएको छ’ उनले भने, ‘यहाँ रहेका बिरामीलाई वीर अस्पतालमा लगेर व्यवस्थापन गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ। अहिले हामी छलफलकै क्रममा छौं।’

यसका साथै मन्त्रालयले वीरको नयाँ अस्पताललाई ‘कोरोना डेडिकेटेड युनिफाइड कमान्ड’ अस्पतालका रुपमा चलाउने गरी प्रस्ताव मन्त्रिपरिषदमा लगिएको बताइएको छ। यसका लागि मन्त्रालयमा प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति गठन गरिने प्रस्ताव गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *