कोरोनाले सांस्कृतिक क्षेत्रमा पारेको प्रभाव

कला/साहित्य विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १९ भदौ


मल्लकालमा काठमाडौं, ललितपुर र भक्तपुरमा कोही नयाँ मानिस भेट भयो भने उनको नाम र बतन सोधिने गरिँदैन । कुन जात्रा मान्ने हो भनी सोध्ने गरिन्छ । बिस्केट जात्रा मान्छु भन्यो भने भक्तपुरको, मछिन्द्रनाथ जात्रा मान्छु भन्यो भने पाटनको र इन्द्रजात्रा मान्छु भन्यो भने काठमाडौंको हो भनी चिन्ने गरिन्थ्यो । आजकल यीनै उपत्यका भित्रका नेवाः समुदायको परिचयको रुपमा रहेको प्राण भन्दा प्यारो मानिएको बिस्केट जात्रा, रातो मछिन्द्रनाथको जात्रा र काठमाडौंको इन्द्रजात्रा स्थगन भएको छ । बिस्केट जात्रा शुरु हुनु भन्दा पन्ध्र बीस दिन अगाडि लकडाउन शुरु भएपछि उक्त जात्रा पहिलोपल्ट स्थगन हुन पुग्यो । त्यसको साथै ललितपुरको मछिन्द्रनाथ जात्राको लागि विभिन्न रुपमा साइत निकालेर देवीलाई रथमा बिराजमान गरिसक्दा पनि यो वर्ष रथ तान्ने कार्य हालसम्म पनि अन्योलमा परिरहेको छ । त्यसको लागि उपयुक्त दिन निकाल्ने र सामान्य अवस्था कायम गरी एकै दिन जाउलाखेल पुर्‍याउने पनि योजना बन्यो । तर ललितपुर महानगरका मेयरको त्यो योजना हालसम्म फत्ते हुन सकिरहेको छैन । पाँजुहरुले त यस्ता कोरोना सोरोना त के न के बाह्र वर्षसम्म पानी नपरी सुक्खा भएर देशमा अनिकाल परेको बखत समेत करुणामयको जात्रा शुरु भएर सहकाल शुरु भएको इतिहास रहेकाले अथवा भारतको कामारु कामक्षबाट संकटको बेला नै रातो मछिन्द्रनाथ भित्राएकाले जात्रा स्थगन गर्न नहुने बताउँछन् ।

पूर्व तयारी नभएकाले लकडाउन शुरु गरेको कारण अलपत्रमा परेका कयौं मानिसहरु अलपत्रमै रहे । लामो समयसम्म लकडाउन जारी भएपछि कयौं बाहिरबाट उपत्यकामा आएर रोजीरोटीमा संलग्न मानिसहरु रातारात हिडेर पनि गाउँ ठाउँ पुगे । भोकले ग्रष्ट भएर प्यासी अनुहार लिएर गाउँघर पुगेका ती हजारौं ब्यक्तिलाई सरकारले केही पनि वास्ता गरेनन् । सरकारले अलिकता लकडाउन हल्का गरेपछि वा खुकुलो गर्न थालेसँगै पुनः ती बाहिरीएका मानिसहरु उपत्यकामा छिर्न थाले । लकडाउन हटेसँगै ती ब्यक्तिहरुले पुनः गाउँ ठाउँबाट फर्कने क्रममा तराईबासी नागरिकले भारत नजिकबाट आएका कारण भारतीय भूमिबाट भित्रिएको कोरोना पनि सँगै ल्याए । सरकारले सीमा नाकामा कडा गर्नुको सत्ता आफू बच्ने हिसावले लकडाउन हटाएर कर उठाउनेतिर मात्रै ध्यान दिन थाले । त्यसैले पनि गाउँ ठाउँबाट पुनः काठमाडौं उपत्यका भित्रिएका मानिसहरुबाट पहिलो पल्ट कोरोना भाइरसको संक्रमण शुरु भयो । त्यसैले पनि शुरुमा चीनमा देखा परेको कोरोना भाइरसको प्रकोप नेपालमा भने भारतीय मार्ग भएर प्रवेश गरेको पाइन्छ । चीन र नेपाल बीच प्राकृतिक रुपमा अग्लो हिमाल खडा भएको कारण चीनबाट नेपालमा कोरोना भाइरस सर्ने निकै कम मात्रै सम्भावना रहन्छ । तर नेपाल र भारत बीच सदियौँंदेखि खुलमखुला सीमा कायम रहेको मात्रै होइन कि धार्मिक, सांस्कृतिक र ब्यापारिक लगायत यता रहेका छोरीबेटी उता लाने र उताका छोरीबेटी यता ल्याउने क्रम पनि जारी नै रहेकाले भारतबाट नेपालमा कोरोना भाइरस प्रवेश गरेको पाइन्छ ।

सांस्कृतिक सम्वन्ध भनेको मानिसको डिमागसम्म प्रभाव पार्ने सम्वन्ध हो । त्यसैले पनि पहिलादेखि उपत्यकाबासीहरुले आफ्नो परिचयको रुपमा रहेको मात्रै होइन कि त्यसलाई आफ्नो जिउ ज्यान भन्दा माया गरिरहन्छन् । छोरीबेटीको लेनदेन, बैबाहिक सम्वन्ध वा प्रेम सम्वन्ध भनेको मानसिक र शारिरीक सम्वन्ध मात्रै होइन कि व्यावहारिक रुपमा स्वच्छ बन्ने उपाय पनि हो । जात्रा हेर्न नपाएर कतिपय पागल बनेका वा मानसिक रोगले ग्रष्ट बनेका पनि छन् । नेपालको परिवेशलाई हेर्ने हो भने हाल सयौं मानिसहरु कोरोनाका कारण मरेका छन् भने हजारौं ब्यक्ति मानसिक रोगले ग्रष्ट भएर आत्महत्या गरेको रेकर्ड छ । यो भनेको जात्रा पर्व, सांस्कृतिक गतिविधिमा संलग्न भएर मानसिक रुपमा स्वच्छ हुन नपाएको कारण देखिएको परिणाम हुनसक्छ । मानिसहरु खान पाउँदैमा, पिउन पाउँदैमा वा लाउन पाउँदैमा मात्रै सुन्तुष्ट हुँदैनन् । उसलाई समय समयमा मनोरञ्जन पनि चाहिन्छ । खेती कार्यबाट केही बिश्राम पाउना साथ एक हप्तासम्म गाईजात्रा मनाएर मनोरञ्जन गर्ने परम्परा मल्लकालदेखि निरन्तर चलिआएको हो । त्यसैगरी लिच्छविकालदेखि शुरु भएको रातो मछिन्द्रनाथको जात्रा, लिच्छविकालमा शुरु भएको बिस्केट जात्रा, लिच्छविकालमै शुरु भएर मल्ल कालमा आएर विकास गरिएको भनिने कुमारीको रथ तानेर मनाइने इन्द्रजात्रालाई आफ्नो अभिन्न जीवनपद्धितिको रुपमा उपत्यकाबासीले मनाउने गरेका छन् ।

जीवन पद्धतिलाई नै बिगारेर, बाँच्ने काइदालाई नै चुनौती दिएर भेडाबाख्रा जस्तै वा जन्तु जनावरहरु जस्तै खाली खाना खाएर मात्रै मानिसहरु मानिस भएर बाँच्न सक्दैनन् । सांस्कृतिक पर्व, जात्रापर्व भनेको उपत्यकाका नेवाः समुदायको अस्तित्वसँग सम्वन्धित सभ्यता हो । यी चीजहरुलाई नै निमित्यान्न पार्न खोज्नु, बिगार्नु, बिर्सनु वा नमान्नु भनी बनाएको कानून कुनै हालतमा सह्य हुन सक्दैन । मर्दा पर्दा चाहिने गुथि, भजन, धल्चाका नियमहरु नेपाल सरकारको कानुनभन्दा पनि उच्च खालका दस्ताबेजहरु हुन् । त्यसैलाई चुनौती दिएर हाल स्थानीय निकायले जात्रा नमनाउनु, चाँडपर्व नमनाउनु, बुवाको मुख नहेर्नु, सोह्रश्राद्ध पनि नगर्नु भनिरहेको अवस्था छ । त्यसो भएको खण्डमा अब केही महिनामा आउने दशैं पनि निस्तेज नै हुने देखिन्छ । भक्तपुरमा मनाइने खःम्येय् जात्रा, नवदुर्गाको जात्रा, तलेजुको पायः जात्रा समेत प्रभावित हुने देखियो । अनि उपत्यकाको बैभवशाली भनिने नेपालको गौरव नेवाः जातिले मानिस भएर बाँच्ने हो कि पशु भएर खानको लागि मात्रै बाँच्ने हो भन्न अप्ठ्यारो हुने अवस्था सिर्जना हुनगयो ।

विश्वलाई प्रभावित बनाइरहेको उपत्यकाका ती जात्रा पर्वहरु आज विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले प्रभावित हुन पुगेको पाइन्छ । यसरी बिस्थापित गरी जात्रा पर्व बन्द गर्नु राम्रो कुरा भने होइन । त्यसलाई जसरी हुन्छ त्यसरी विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरी सामाजिक दूरी कायम गरेर भएपनि परम्परागत सांस्कृतिक पर्वलाई विधि पूरा गर्न दिनुपर्ने हो । भक्तपुर नगरपालिकाले नेवाः समुदायमा चाँडपर्व शुरु हुने पर्व घण्टाकर्ण नबनाउन भन्यो, स्थानीय जनताले बनाएर दोकामा लगेर जलाई देखाए । गाईजात्रा औपचारिकतामै सीमित गर्न अनुरोध गरेपनि परालको भैरब बनाएर हजारौं मानिसहरु भेला भएर नगर परिक्रमा गरे । यसरी स्वयंस्फूर्त रुपमा हुने कतिपय जात्रापर्व प्रहरी प्रशासन, नेपालको कानून वा स्थानीय निकायले बन्द गर्न खोज्दैमा बन्द हुँदैन । त्यो त व्यक्ति र समाज मिलेर नियमित रुपमा परम्पराको रुपमा चल्दै आइरहेको संस्कृति हो । कुनै आयोजक विना नै लाखौं लाख मानिसहरु सहभागी भएर भक्तपुरमा गाईजात्रा मनाउने गरिन्छ । राष्ट्रपति वा सरकार प्रमुख समेत सवारी हुने चलन गरेकाले ललितपुरको रातो मछिन्द्रनाथको जात्रा र काठमाडौंको कुमाारी जात्रामा पनि लाखौं मानिसहरुको जमघत हुने गरिन्छ । यस्तो बेला बन्देजको कुरा अगाडि ल्याएर निषेध आज्ञा जारी गरेकाले कयौं मानिसको मनमा गहिरो चोट पर्न जाने भएकाले मानिसहरु पागल हुने, मानसिक रुपमा विछिप्त हुने लगायत कतिपय मानिसहरुले आत्महत्या गरी आफ्नो ज्यानलाई समाप्त पार्ने कुरामा पनि सरकारले ध्यान दिनु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *