प्रविधिमार्फत ग्यास बिक्रीलाई व्यवस्थित बनाउँदै आयल निगम, अभावका बेला ट्रयाकिङ प्रणाली

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १४ भदाै

वर्षौदेखि केही दिनमात्रै असामान्य परिस्थिती हुनेवित्तिकै ग्यास अभाव हुने परिस्थितीले नेपाल आयल निगमलाई हैरानी खेलाउने गरेको थियो। एक/दुई दिन ग्यास नआउनेवित्तिकै केही डिलर र उद्योगीले खेलोखड्को समेत गर्थे।

पेट्रोलियम पदार्थको एकाधिकार पाएको निगमसँग सही तथ्यांक नभएकाले समेत अपजसको भारी बोक्नुपर्‍यो। अझ नाकाबन्दीका समयमा ग्यास वितरण प्रभावकारी बनाउन वाणिज्य मन्त्रालयले एउटा संयन्त्रनै खडा गर्‍यो। मुलुकभित्र रहेका ग्यास उद्योगले बिक्रेतालाई कति ग्यास दिए र कसरी वितरण गरे भन्ने बारेमा त्यो संयन्त्रले काम गर्थ्यो।

तर त्यो संयन्त्रले समेत प्रभावकारी काम गर्न सकेको थिएन्। एक/दुई दिन भारतबाट ग्यास नआउनेवित्तिकै यहाँ अभाव सुरु हुन्थ्यो। यो समस्याले निगम बदनाम भइरहेको थियो। ग्यास वितरणमा निगमको प्रत्यक्ष संलग्नता नभएपनि आरोपको भारी खेप्नुपरेको देखेपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सुचना प्रविधिमार्फत तथ्यांक राख्ने प्रणाली विकासका लागि अग्रसरता देखाए।

उनले  एलपीजी ट्रयाकिङ सिस्टम विकास ग्यास बिक्रीको तथ्यांक राख्न थालिएको छ। लकडाउनपछि परीक्षणको रुपमा यो ट्रयाकिङ सिस्टम कार्यान्वयनमा आएको छ। निगमका कार्यकारी निर्देशक पौडेलले दैनिक रुपमा ग्यासको तथ्यांक राखेर वितरण प्रणालीलाई चुस्तदुरुस्त राख्न थालिएको बताए।

‘बोटलिङ प्लान्टले भारतबाट ल्याउने ग्यासको तथ्यांक मात्रै हामीसँग थियो। यो आधारमा हामीले वितरण प्रणालीलाई राम्रोसँग हेर्न सकिएको थिएन्,’ उनले भने, ‘ग्यासको तथ्यांक सही रुपमा नहुँदा अभावले उपभोक्ताले सधै सास्ती ब्योहोर्नुपरेपछि हामीले यो प्रणालीको विकास गरेका हौं।’ उनका अनुसार यो प्रणालीमा मुलुकभित्र रहेका सबै बोटलिङ प्लान्टले आफूले उत्पादन गरेको ग्यास र डिलरमा पठाएको ग्यासको तथ्यांक दैनिक रुपमा अपडेट गर्नुपर्छ।

यो अपडेटका आधारमा निगमले कुन ठाउँमा कति ग्यास गएको छ भनेर हेर्न सक्छ। ‘कुनै बेलामा ग्यास अभाव भइहाल्यो भने हामीले निगममार्फतनै कुन डिपोमा कति ग्यास गएको छ भनेर हेर्न सक्छौं। विगतमा हामीले डिपोडिपोमा गएर अनुगमन गर्नुपर्ने अवस्था थियो। अब हामीले निगमबाटै त्यसलाई ट्रयाकिङ गरेर वितरण प्रणालीमा समस्या गर्न खोज्नेलाई रोक्न सक्छौं’, पौडेलले भने, ‘यदि त्यो डिलरले अनियिमतता गरेको रहेछ भने तत्कालै कारवाही गर्न सक्ने अवस्था पनि आउँछ।’

उनका अनुसार यो तथ्यांकले कुन ठाउँमा कति ग्यास खपत हुन्छ भन्ने पनि देखाउँछ। साइबाबा ग्यासका संचालक राजेन्द्र डल्लाकोटीले निगमले ग्यास आपूर्ति प्रभावकारी बनाउने गरि प्रविधिको विकास गरेको बताउँदै यसले ग्यास अभावको समस्या समाधानको लागि सहयोग पुग्ने बताए। ‘निगमले ल्याएको यो प्रणालीलाई सबै उद्योगीले सहयोग गर्नुपर्छ। यसले हाम्रो व्यवसाय प्रवर्द्धन गर्न सहयोग पुग्छ,’ उनले भने, ‘अहिले डिलर वा अरु कुनै हिसाबले बदमासी हुँदा पनि उद्योगीले आरोप खेपिरहनुपरेको छ। यो प्रणालीले स्वच्छ व्यवसायलाई सहयोग पुर्‍याउँछ।’

डल्लाकोटीले यो प्रणालीलाई उपभोक्तासम्म जोड्न सकेमा त्यसले अझै ठूलो सकारात्मक प्रभाव पार्ने जिकिर गर्छन्। ‘उपभोक्तासम्म ट्रयाकिङ गर्न सकिएमा ग्यासको अभावका बेलामा धेरै सिलिण्डर राख्ने परिपाटीको समेत अन्त्य हुन्छ,’ उनले भने। तर निगमका कार्यकारी निर्देशक पौडेलले भने अहिलेको ट्रयाकिङ सिस्टमले उपभोक्तासम्मलाई समेट्न कठिन हुने बताए।

‘यो प्रविधिले उपभोक्तासम्म जोड्न भने कठिन हुन्छ। हामीले अहिले डिलरसम्म मात्रै जोड्ने गरि बनाएका छौं,’ उनले भने, ‘उपभोक्तासम्म जोड्ने गरि प्रविधि विकासका लागि ठूलै धनराशी आवश्यक पर्ने भएकाले सम्भव छैन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *