धान काट्ने समयमा भएको अविरल वर्षाले किसान मर्कामा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

झापा, ३ कात्तिक

तीन दिनदेखि लगातार परेको वर्षाका कारण झापा जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टराईले जानकारी दिए। उनका अनुसार जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती छ । किसानले लगाएको गरिमा, रामधान र रञ्जितलगायत अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । धान पाके पनि किसानले दसैँका कारण धान थन्क्याउन पाएका थिएनन् ।

ज्ञान केन्द्रमा पाकेको धान लडेर र डुबेर क्षति पुगेको जिल्लाका विभिन्न स्थानका किसानबाट जानकारी आइरहेको उनले बताए। उनले भने, “किसानको धेरै गुनासो आएपछि आजैदेखि हामीले अनुगमन सुरु गरेका छौँ । धान खेत पुगेर हेर्दा विरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।”

वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उनले बताए। विगत वर्षहरूमा भन्दा यस वर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने केन्द्रले अनुमान गरेको थियो । वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकोले अब त्यो सम्भावना कम रहेको उनले जानकारी दिए।

गौरादह नगरपालिका–५ नमुना एकीकृत कृषि सहकारी संस्थाले बीउ उत्पादनका लागि लगाएको २० बिघा जमिनको धानमा क्षति पुगेको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिए । उनले भने, “अब बीउका लागि पानीमा डुबेको धानलाई ग्रेडिङ गर्न मिल्दैन । पानी यस्तै थप दुई दिनमात्र पर्‍यो भने खाद्यान्नका लागि पनि प्रयोग गर्न नमिल्ने गरी धान नष्ट हुने भयो ।”

उनले बेला न कुबेलामा परेको पानीका कारण धान किसान ठूलो मारमा परेको बताए। सहकारीले बासमती, कालो नुनिया, हाइब्रिड, रञ्जित, गरिमालगायत धानको बीउ उत्पादन गर्दै आएको छ । बाली थन्क्याउने बेला पानीले धानको बीउ नै मासिदिन्छ कि भन्ने पीरमा रहेको उनको भनाइ छ ।

तनहुँमा २० प्रतिशत उत्पादन घट्ने

केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति पुर्‍याएको जानकारी दिए। चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको बताए।

“एक रोपनीको धान झाटेर थन्क्याइसकेँ, बाँकी डेढ रोपनीको काटेर मात्रै राखेको थिएँ, पानीले बिगार्‍यो”, उनले भने। कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको उनले बताए। “यहाँ अरू कृषकको धान पाकेको छैन, मैले नयाँ प्रजातिको धान लगाएको थिएँ छिटो पाक्दो रहेछ”, उनले भने। पौडेलका अनुसार काट्न बाँकी रहेको धान भने खेतमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *