भक्तपुर काण्डः पञ्चायतको योजनाबद्ध षड्यन्त्र

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
काठमाडौं, ११ भदौ


नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड विषयक प्रवचन कार्यक्रम अनलाइन जुममार्फत बिहिबार भएको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर काण्डमा पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको बताउँदै सर्जमिन एकतर्फी गरिएको र जिल्ला अदालतमा मुद्दा नगरी विशेष अदालतमा गरिनु संविधान र ऐनकानून विपरित भएको बताए ।

उनले पञ्चायतले नेमकिपाका नेता–कार्यकर्ताहरुलाई युद्धबन्दीको जस्तो दुरव्यवहार गरेको बताए । उनले तत्कालीन प्रम, मन्त्रीलगायतका उच्च पदस्थहरुले नै “रोहितलाई फाँसी दे” भन्दै जुलुशमा नारा लगाउनु भर्त्सनायोग्य भएको बताए ।
उनले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरेको कारण त्यसलाई रोक्ने उद्देश्य लिएर षड्यन्त्र गरेको बताउँदै कम्युनिष्ट पार्टीविरुद्ध बेलायत, फ्रान्स, रुस, जर्मनी, अमेरिकालगायतका देशहरुमा पनि भएको प्रष्ट्याए ।

अध्यक्ष बिजुक्छेँले नेपालको सिमाना खुला भएकाले विदेशी जासुसहरु र पञ्चहरु नेपालका प्रमुख दलहरुमा भएको कारण शासक दलहरुले देश र जनताको सुरक्षा र सेवा गर्न नसक्ने औंल्याए ।
उनले विदेशीको सहयोगमा नभई जनताको सहयोगमा क्रान्ति गर्नुपर्ने बताउँदै माओवादी पार्टीले नेपालमा गरेको उपद्रवले नराम्रो परिणाम ल्याउने औंल्याए ।
अहिलेसम्म भारतले हाम्रो खुट्टा बाँधेको र यदि एमसीसी पास भएमा अमेरिकाले पनि हाम्रो खुट्टा बाँध्नेछ, दुबैले तान्दा नेपालको हविगत नाजुक हनेछ, अध्यक्ष बिजुक्छेँले भने ।

नेपालमा बिग्रेको मल आयात गर्ने मन्त्रीहरुलाई फाँसी दिनुपर्ने बताउँदै उनले ठेक्का पट्टा र गुन्डागर्दीबाट युवा–विद्यार्थीलाई टाढा राख्नुपर्ने र स्वयम्सेवक भई काम गर्न जोड दिए ।
उनले युवा–विद्यार्थीहरु पद–पैसाको निम्ति नभई देश र जनताको सेवा गर्नको लागि राजनीतिमा लाग्नुपर्ने बताउँदै २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेकोमा विरोध गर्नुपर्ने बताए ।

नेक्राविसंघ केन्द्रीय सदस्य सरजु फसिकवाले भक्तपुर काण्डको घटनाक्रम र नेमकिपाको सङ्घर्षबारे प्रस्तुती दिएको थियो ।

आयोजक समितिका अध्यक्ष सबिन ख्याजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष प्रकाश गुरुङ र सदस्य मिलन गणेजूले पनि आफ्नो धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *