यन्त्रमानवः मानव अस्तित्वको एक जटिल चुनौती

विज्ञान/प्रविधि विशेष समाचार समाचार

वर्षा खत्री
भक्त्पुर, ९ वैशाख

विज्ञान, प्रविधि र यसको आविष्कारले मानव जगतलाई धेरै सहज बनाएको छ। हाल २१औं शताब्दीको मुलुक प्रत्येक दिन केही न केही आविस्कार गरिरहेको छ । विश्वमा विकसित मुलुक भनेर चिनिने मुलुकहरुबीच नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको छ। यसरी विज्ञान र प्रविधिको विकास हुँदा सम्म त ठिकै थियो तर यही विज्ञान र प्रविधिको उपजको रूपमा रहेको रोबोट मानव अस्तित्व मै जटिल प्रश्न बनेको छ।

हाल विश्वमा भैरहेको विकास र आविष्कारको सुचिमा पर्ने एक महत्त्वपूर्ण विकास हो ‘यन्त्र मानव वा रोबोट’ । यन्त्रमानवको आविष्कारले मानिसको धेरै कार्यलाई सहज बनाउनुको साथै समयको पनि बचत गरेको छ । तर मानव जनशक्तिको विकल्पको अथवा विस्थापनको रूपमा आएको यन्त्रमानवको प्रयोग भने मानव अस्तित्वमा नै जटिल प्रश्न बनेको छ । हाल विश्वको धेरै मुलुकहरूमा मानव जनशक्तिलाई यन्त्रमानवले विस्थापन गर्न थालेका छन् । यो हेर्दा बैज्ञानिक र आधुनिक देखिए पनी यो मानव अस्तित्वको जटिल चुनौती हो।

यन्त्र मानव एउटा यन्त्र वा कम्प्युटर प्रोग्राम हो। वर्तमान विश्वमा मानव जनशक्तिको केही क्षेत्रलाई यन्त्रमानवले विस्थापन गरेको छ । मानिसलाई झै आराम, सेवा तथा सुविधा, तलब – भत्ता आवश्यक नपर्ने र विना थकान मानिसले भन्दा छिटो र सही काम गर्ने भएकोले पनि होला यन्त्रमानवको प्रयोग विश्वमा दिन प्रतिदिन बढ्दै गएको छ।

यन्त्र मानव वा रोबोट शब्दको उत्पत्ति हेर्ने हो भने सर्वप्रथम सो शब्दको प्रयोग चेकका लेखक केरेल चावेकले ‘रोसम युनिभर्सल रोबोट’ नामक पुस्तकमा गरेका र त्यसपछि रोबोटका बारेमा विभिन्न लेख तथा रचना लेखिएको र चलचित्र बनेको जानकारी विभिन्न स्रोतहरुमा उल्लेख गरिएको छ।

त्यस्तै रोबोटको इतिहासलाई हेर्ने हो भने सर्वप्रथम स्वचालित रोबोट जापानले बनाएको देखिन्छ । सन् १९६० को दशकमा काल्स डिमोल र जोसेफ एङलवर्गरले कम्प्युटर निर्देशित यन्त्रमानव वा रोबोट बनाएपछि सन् १९६२ देखि अमेरिकी उद्योगहरुमा प्रयोग हुन थालेको इतिहास विभिन्न स्रोतहरुले देखाउँछन् ।

इन्टरनेशनल फेडेरेशन अफ रोबोटिजले जनवरी २७, २०२१ मा प्रकाशन गरेको सूचना अनुसार सिङ्गापुर विश्वको सबैभन्दा बढी रोबोट प्रयोग गर्ने मुलुक हो, त्यस्तै उत्तर कोरिया दोश्रो र जापान तेस्रो बढी रोबोट प्रयोग गर्ने मुलुक रहेको छ । यस बाहेक जर्मनी, चीन, स्विडेन, डेनमार्क, अमेरिका आदि मुलुकहरूमा पनि अत्यधिक यन्त्रमानवको प्रयोग गर्ने मुलुकको रूपमा रहेको उक्त स्रोतले देखाएको छ। त्यस्तै रोबोट उत्पादन गर्ने मुलुकहरुको अग्र स्थानमा जापान रहेको छ।

सन् २०१९ देखि नेपालको रेस्टुरेन्ट, बैंक र ललितपुरको एउटा विद्यालयले रोबोटको प्रयोग गर्न थालेका छन् । यसरी प्रयोग भएका यन्त्रमानवले आकर्षण बढाइरहेको छ भने अर्कोतिर कार्यकुशलता र कार्यदक्षता पनि वृद्धि भइरहेको छ। विविध फाइदा भएपनि उक्त यन्त्रमानवले मानव अस्तित्वको लागि गम्भीर प्रश्न सिर्जना गरेको छ।

मानव जनशक्तिको विस्थापनको रूपमा आएको यन्त्रमानवले विश्वको लाखौं मानिसलाई बेरोजगार बनाएको छ। रोबोटले गर्दा एउटा मानिस बेरोजगार मात्र हुँदैन त्यस्ले गर्दा उसको व्यक्तिगत, पारिवारिक, सामाजिक र आर्थिक जीवन साथै जीवनको गुणस्तरमा समेत नकारात्मक असर पर्दछ । त्यस्तै रोजगारी गुमेको तनावले उसको मानसिक स्वास्थमा समेत असर पर्दछ । त्यस्तै रोबोटको प्रयोगबाट सिर्जना हुने बेरोजगारी र आर्थिक अभावले क्रान्तिको रुप नलेला भन्न सकिन्न ।

आज मानव जनशक्तिको विस्थापनको रूपमा मानिसकै नियन्त्रणमा विकास भइरहेका यन्त्रमानवले भोलि मानिसलाई आफ्नो नियन्त्रणमा नराख्लान् भन्न सकिँदैन । यसरी नै यन्त्रमानव तीव्र रूपमा विकास हुँदै जाने हो भने एउटा यन्त्रमानवले अर्को यन्त्रमानव नबनाउलान् भन्न सकिन्न । भविष्यमा यस्तो अवस्था सृजना भएमा आधुनिक विश्वका सम्पुर्ण कार्यहरु र स्वयम् मानव जाती पनि यन्त्रमानवको नियन्त्रणमा बस्नुपर्ने परिस्थिति आउन सक्छ। यन्त्रमानवले मानिसको सानो सानो काम मात्र नभई सबै काम कारबाहीमा आफ्नो नियन्त्रण राख्दा मानव जातिको अस्तित्व संकटमा नपर्ला भन्न सकिन्न । त्यसैले रोबोट उत्पादन र प्रयोगलाई व्यवस्थित र नियंत्रित बनाउनु पर्छ । मानवको आविष्कारलाई मानव जातिप्रतिको खतरा नभई मानव अस्तित्वको संरक्षकको रूपमा प्रयोग गर्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *