न्यूज अपडेट
भक्तपुर, १० भदौ

सरकारले बन्दाबन्दी घोषणा गरेको पहिलो चरणको बन्दको समयमा एक दुई जना बाहेक नेपालमा कोरोना भाइरस संक्रमण भएको देखिएन । तर दोस्रो चरणको बन्द भइरहेको बखत भने बत्तीस हजार भन्दा बढी नेपालीहरुमा यो रोगको संक्रमण फैलिसकेको छ । पहिलो कुरा त सरकारले लकडाउन खुकुलो पार्नु हुने थिएन । मित्र राष्ट्र भारतबाट ह्वात्तै यहाँ आएर ब्यापार ब्यवसाय गर्न आउनेहरुका लागि त्यसरी कोरोना संक्रमण गरेको आशंका भएका कारण बन्दाबन्दीलाई कायम राखेको भए अथवा निश्चित क्षेत्रमा नियमित काम गरी अन्य खतरनाक स्थानमा बन्द गरेको भए यस्तो भयानक स्थिति तुरुन्त आउने थिएन । तर सरकारले दूरदर्शीता कायम गर्न नसकेका कारण अहिले आएर संक्रमितहरुको संख्या पनि हिजो भन्दा आज, आज भन्दा भोलि झन् झन् बढिरहेको छ । यो रोगको औषधि पत्ता लगाउन नसकेका कारण पनि यस्तो भयाबह स्थिति उत्पन्न भएको हो ।
एकै परिवारका पाँच पाँच जना सम्म पनि यो भाइरसबाट संक्रमण हुनु भनेको त भयाबह स्थिति नै हो । अझ भक्तपुर शहरभित्र कोरोना संक्रमण भएका तथ्यांकलाई मनन् गरी हेर्ने हो भने पहिला एक पल्ट सो परिवारका कुनै सदस्यलाई कोरोना पुष्टि भइसकेकाबाटै हाल थप यो संक्रमण शुरु भई परिवारका परिवार नै संक्रमणको शिकार भएको अवस्था छ । सालाखाला दैनिक एक हजारको संख्यामा वृद्धि भइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि अहिलेसम्म पनि सरकारले कुनै किसिमको विशेष उपाय अबलम्बन गरेको पाईंदैन । खाली प्रचारबाजी गरेर वक्तव्य निकालेर वा हल्ला गरेर मात्रै यो रोग नियन्त्रण हुने होइन । यस्तो कुरालाई ध्यान राखी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक चीज पानी, औषधि, खाद्य पदार्थ लगायत तरकारी र फलफूलको पसल पनि बिहान ९ बजेसम्म मात्रै खुल्ने ब्यवस्था मिलाइएको छ । यसरी विभिन्न खालका नियम तोकिदिएको भएपनि मानिसहरुको स्वभाव भन्दा भिन्न रुपमा देखा परेको यो रोगको कारण सुरक्षित हुन भने निकै मुस्किल छ । तैपनि विश्व स्वास्थ्य संगठन र अन्य निकायहरुले आज भन्दा अठाह्र वर्ष अगाडि देखा परेको फ्लू भन्दा यो कम प्रभावित भएको तथ्य बाहिर निकालेको छ । रोगीहरुमध्ये तीन प्रतिशत देखि पाँच प्रतिशत मात्रै ज्यान जाने गरेको यो रोगबाट बढी जसो दीर्घ रोगीहरु त्यसो भनेको क्यान्सर भएका, क्षयरोगले ग्रष्ट बनेका, मुटु रोगी एवं किड्नी खराब भएकाहरुको मात्रै कोरोनाको कारण मरिरहेको तथ्यांकले पुष्टि गरिरहेको छ ।
अहिले आएर देशभरका पन्ध्र वटा जति अस्पतालहरुमा सरकारले हालै कम्भ्यालेसन प्लाज्मा थेरापी शुरु गरेको र यसको अनुसन्धान जारी गरेको खबर बाहिर ल्याएको छ । साथै विश्वब्यापी रुपमा विभिन्न रुपमा कोरोनाको अध्ययन अनुसन्धान गरी औषधि पत्ता लगाएको पनि खबर बाहिर आइरहेको छ । चीनको छेंदुमा रहेको सिचुवान विश्वविद्यालय अन्तर्गत रहेको वेष्ट चाइना अस्पतालमा कीराको कोषबाट बनाएको नोबेल कोरोना भाइरसको खोप अब मानिसमा परीक्षणको लागि तयार भएको स्थानीय सरकारले भनेको छ । कोरोना भाइरस खोपको लागि आवश्यक प्रोटिन उत्पादन गर्न कीराको कोषको प्रयोगको लागि खोपको ठूलो मात्रामा उत्पादन सम्भव भएको पनि छेंदु शहरको सरकारले जनाएको छ । यस्तो समयमा नै नेपालमा कोरोना भाइरसको संक्रमणले भयानक रुप लिन सक्ने अवस्थालाई दृष्टिगत गरी चीनले सो औषधि लिएर चिकित्सक टोली नेपाल आइपुग्ने हल्ला पनि गरिएको छ । त्यसको अर्थ नेपालीहरुलाई पहिलो पल्ट चीनले सो औषधि प्रयोग गरी हेर्ने भएको हो । नियन्त्रणमा आउन नसकिरहेको यो कोरोना भाइरसको प्रकोप नेपालमा झन् झन् बढिरहेको यो समयमा यस्तो हल्ला र परीक्षण प्रयोगको कुरामा हामी कतिको सचेत हुनु पर्ने हो, त्यो ज्ञान भने हामीसँग भएको देखिँदैन ।
चीनमै पहिला प्रकोप देखा परेको कारणले पनि चीनले यो रोगको खोप पत्ता लगाउनको लागि तन, मन र धन दिएर लागेको थियो । यस क्रममा छेंदु विश्वविद्यालयले अन्तिम सफलता नजिक पुगेको तथ्य बाहिर ल्याएको छ । यदि विश्व स्वास्थ्य संगठनले आलताल गरेर यो औषधिलाई स्वीकृति दिनको लागि ढिला गरिरह्यो भने अब आउने सिजनमा पुनः चीनमा कोरोनाको संक्रमण देखा परेको खण्डमा धमाधम यो खोप लगाउन शुरु गर्न स्थानीय सरकारले स्वीकृति दिइसकेको खबर छ । प्रमाणित भइसकेको चीजलाई पनि महिनौं वा वर्षौंसम्म ढिला गरी राख्नु पनि ठीक होइन । त्यस बेलासम्म लाखौं लाख मानिसको ज्यान जान सक्ने कुरामा पनि अन्तर्राष्ट्रिय जगतले ध्यान दिनु जरुरी छ । यी सम्पूर्ण कुरालाई ध्यानमा राखी चीनमा त्यहाँको खोप व्यवस्थापन कानून अन्तर्गत खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको हो । नेपालमा पनि अस्पताल र स्वास्थ्य केन्द्रहरु नै तयार नभएकाले यो समयमा नयाँ चीजको प्रयोग र नयाँ प्रयोगबाट हुने असरलाई पनि ध्यानमा राखी खोपको प्रयोग गर्नु पर्ने हुन्छ । चीनमा यो खोप सीमित समयभित्र भाइरसको संक्रमण हुने उच्च जोखिममा रहेका मानिसलाई दिनको लागि स्वीकृति दिइसकेको छ ।

खास गरी नेपालमा बन्दाबन्दी समाप्त भइसकेपछि मात्रै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अत्यन्तै उच्च स्तरमा वृद्धि भएको हो । संक्रमणको दर र मृतकको संख्या जति बढिरहेको हो, त्यसको तुलनामा निको भई घर फर्केकाहरुको संख्या भने अति न्यून हुन पुगेको छ । यो भने नेपालका लागि अत्यन्तै भयाबह स्थिति हो भन्दा केही फरक पर्दैन । त्यसैले पनि यो समयमा हामी सतर्क भएर घरमा बस्नु राम्रो पक्ष त हो नै । साथै कोही अपरिचितलाई घरभित्र नहुल्याउनु, टोल टोलमा कोही बाहिरका मानिसहरु आएर बस्न आएको खण्डमा प्रहरीलाई खबर गर्नु र संक्रमण रोग फैलिन नदिनका लागि पनि सरकार, स्थानीय निकाय र जनता स्वयम सचेत र संगठित भएर लाग्नु पर्दछ । होइन भने यो रोग जसरी आज हजारौंको संख्यामा वृद्धि भइरहेको हो, भोलि मृतकको संख्या पनि बढेर कुनै दिन ब्राजिलमा जस्तै कोरोना भाइरसबाट मृतकको लाश सडकमा पहाड बनाएर थुपार्नु पर्ने अवस्था पनि नआउला भन्न सकिन्न । यो एक महिनाभित्र कोरोना भाइरस संक्रमण नेपालमा गत सबै महिना भन्दा पनि सोच्दै नसोचे जस्तो गरी बढ्ने गरेको छ । बन्दा बन्दी हटाएको एक महिनाभित्रै यति धेरै मानिसहरु पीडित हुन पुगेको र कतिपयमा त संक्रमणको प्रभाव नै नदेखिए पनि भाइरस देखा परिसकेको कारण पनि अरु मानिसहरुमा उनले यो रोगको संक्रमण सार्न सकिने थुप्रै सम्भावनाहरु छन् । रोगको लक्षण देखा परेकाबाट त हामी सतर्क हुने नै भयो । साथै केही लक्षण नै देखा नपरेकासँग पनि सतर्क भएर बस्नु पर्ने बेला भएको छ ।