कर्जा नतिरेपछि तुलसी बहुमुखी सहकारीको धितो लिलाम गर्दै सहकारी बैंक

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ४ माघ

कर्जा नतिरेपछि राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ ।

तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीमा निकालेको हो ।

यस्तै मोरङ साविकको झोराहाट गाविस–६ को कित्ता नम्बर ५८७ को १३५५.६० वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको हो ।

बैंकले तुलसी बहुमुखी सहकारीकै नाममा मालपोत कार्यालय दमक झापामा दर्ता श्रेस्ता कायम रहेको झापा गौरादह नगरपालिका–१ को कित्ता नम्बर २५२४ को ४३९३.६२ वर्गमिटर र कित्ता नम्बर २५२६ को ५५६५ वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको छ ।

सहकारीले संस्थाको मोरङ र झापाको सम्पत्ति धितो राखेर राष्ट्रिय सहकारीबाट करिब दुई वर्ष अगाडि १० करोड रुपैयाँ चालू पूँजी कर्जा लिएको थियो । उक्त कर्जाको साँवा र ब्याज भुक्तानी पनि भुक्तानी नभएको र नवीकरण पनि नभएपछि बैंकले धितो लिलाम गरेर कर्जा असुल गर्न लागेको जनाएको छ ।

सहकारीलाई राष्ट्रिय सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फर्स्यौट गर्न सहकारी व्यवस्थापन समितिलाई पठाएको छ ।

सहकारी अध्यक्षमा केदारनाथ शर्मा थिए । उनकै नेतृत्वमा काठमाडौंमा शिवशिखर बहुउद्देश्यी सहकारी संस्था र मोरङमा तुलसी बहुमुखी सहकारी स्थापना गरी सहकारीको स्रोत अपचलन गर्दै आफ्नो नाममा सम्पत्ति जोडेका थिए ।

सहकरीको स्रोत दुरुपयोग गरी बचतकर्ताका रकम फिर्ता गर्न नसकेपछि केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मालगायत सहकारी व्यवस्थापक र सञ्चालकलाई प्रहरीले ठगी मुद्दा दर्ता गरेको थियो ।

अहिले उनीहरू पुर्वपक्षका लागि थुनामा छन् । उनीहरूमाथि मोरङको तुलसी र भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीको गरी करिब १५ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ । उनले बैंकबाट समेत साढे ५ अर्बभन्दा बढी कर्जा लिएको खुलेको छ ।

राष्ट्रिय सहकारी बैंकले ३ कात्तिकमा कर्जा तिर्न आउन ३५ दिने सूचना र १३ मंसिरमा धितो लिलामीको ३५ दिने सूचना प्रकाशित गरेको थियो । बुधबार पुनः धितो लिलामीको १५ दिने सूचना प्रकाशित गरेको हो । बैंकले उक्त धितो लिलामीमा लिन चाहनेले कबोल गरेको रकमसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

धितो लिलामबाट सम्पूर्ण असुल गर्नुपर्ने सावाँ–ब्याज तथा जरिबाना असुल नभए ऋणी संस्था र जमानतकर्ताको अन्य सम्पत्तिबाट असुल गर्ने र ऋणी तथा जमानतकर्तालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने जनाएको छ ।

बैंकबाट ऋण लिने संस्थाका सञ्चालक र जमानतकर्तामा सहकारी अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सञ्चालकहरू सविना न्यौपाने, आदित्यराज भट्टराई, निर्मला पोखरेल, बन्टी अधिकारी, छवीलालाल बिक र व्यवस्थापक मन्दिप खवास छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *