भिआइपीमा कोरोना, को-को असुरक्षित ?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ साउन

पछिल्लो समय कोरोना भाईरस तीब्र रुपमा बढेको छ । नेतादेखि उनीहरुका सुरक्षागार्ड समेतलाई संक्रमण देखिन थालेको छ । प्रदेश सरकारका मन्त्री, संसद सचिवालय र अख्तियारका कर्मचारीहरुमा पनि कोरोना भाइरस संक्रमण भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन । ६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि अन्य प्रहरी र दाहालसहित परिवारका सदस्यहरुको परिक्षण गराउँदा नतिजा नेगेटिभ आएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनलाई अहिले मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको छ । मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । यादवले गत साउन १६ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्छ । प्रधानमन्त्रीको सचिवालयले संक्रमितको सम्पर्कमा आएकाहरुको परिक्षण गरिएको र नतिजा नेगेटिभ आएको जनाएको छ । तर प्रधानमन्त्री ओलीको कोरोना परिक्षण भए नभएको खुलाइएको छैन । ओलीसँगै मन्त्री यादवले गृहमन्त्री रामबहादुर थापा र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुलाई पनि एकसाथ भेटेको थिए ।

उता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण भएको छ । वीरगञ्जमा गरिएको परीक्षणमा नेता चौरसियालाई संक्रमण पुष्टि भएको हो । यसअघि वीरगञ्जमै संघीय सांसद प्रदीप यादव र मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको छ । २२ जनालाई कोरोना संक्रमण देखिएपछि कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको छ । यसअघि अख्तियारका १५ जना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको थियो । पछिल्ला दिनमा कोरोना भाइरस समुदाय स्तरमै प्रवेश गरिसकेको छ । जसका कारण जोखिम बढिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *