विधिसम्मत पार्टी सञ्चालन गर्न नेकपा नेताहरूको माग

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २२ साउन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद पदका लागि नरहेको बताएको छ । उनले जारी विवाद पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताएको हो ।

बुधबार पार्टीसम्बद्ध सञ्चारकर्मीसँग राजधानीको एक पार्टी प्यालेसमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पदको लडाइँ नरहेको भन्दै त्यसको खण्डन गरेको छ । प्रधानन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदका लागि भएको भन्दै प्रचार भइरहेकोप्रति चार जना शीर्ष नेताले खण्डन गरेर विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नुपर्नेमा माग गरे ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको बहसलाई पदको निम्ति छिनाझपटी भनिएको विषयमा सत्यता नभएको बताए। आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र आलोपालो सरकार चलाउने सहमतिसमेत छोडको बताउँदै प्रचण्डले भने– ‘मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’ कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि स्थायी र केन्द्रीय कमिटीको एकरएक बैठकको अध्यक्षता गरेको स्मरण गर्दै ती बैठकले लिएका निर्णयहरु मूलभूत रुपमै सही भएको बताए ।

ओलीप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने– ‘पूर्वएमालेहरुलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीबाट पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भनियो ।’ प्रचण्डले पार्टीमा बहस भइरहेका बेला आफूसँग बदला दिने गरी निर्णय हुन थालेको बताउँदै आफूले निर्णयहरु उल्ट्याउने, अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भएको स्मरण गरे।

ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको आरोप लगाउँदै पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको नारा, दलाल र राष्ट्रवादीको नारा दिएर सडकमा भएको नाराबाजीजस्ता गतिविधि त्यसको प्रमाण भएको बताए। ‘हामीले अहिले पनि एकता अक्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ’ –उनले भने ।

वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष ओलीले चरम गुटबन्दी गरिरहेको आरोप लगाउँदै मदन भण्डारी फाउन्डेसनका नाममा वडासम्म कमिटी बनाउने, गुटबन्दी गर्ने र आफूहरुलाई बदनाम गर्ने काम भइरहेको बताए। उनले कतिपयले नेकपाभित्रको संघर्षलाई पद प्राप्तिका लागि भनेर प्रचार गर्न पार्टीकै केही नेता र व्यक्तिहरु लागिपरेको बताए।

‘व्यक्तिको, पदको र जुगाँको लडाइँ भनेर एकथरीले प्रचार गरिरहेका छन् । कुरा त्यसो होइन, यो रुपान्तरणको लडाई हो’ –खनालले भने । नेता खनालले यही अवस्था रहिरहे र पार्टी नेताहरु रुपान्तरणको दिशामा अघि नबढे विस्फोटन हुने चेतावनीसमेत दिए ।

उक्त छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष भएको भ्रम नराख्न ओलीलाई चेतावनी दिए । दुवै पार्टीलाई विघटन गरेर पार्टी एकता गरेको र बहुमतको निर्णय पार्टीको निर्णय हुने विधानमा नै प्रस्ट रहेको उनले दाबी गरे। सचिवालयमा बहुमतले निर्णय भए स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जाने र त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने नेपालले बताए ।

‘पार्टीभित्र अहिले पदको लडाइँ होइन, पार्टीलाई विधि, पद्धतीमा चलाउने कि नचलाउने भन्ने प्रश्नसँग जोडिएको छ’ –उनले भने । ‘जनताले कम्युनिस्ट पार्टीलाई ठूलो आशा, भरोसा र विश्वासका साथ मुलुक सम्हाल्ने जिम्मेवारी दिएका छन् । तर, त्यो आशा, भरोसा र विश्वासअनुसार न सरकार चलेको छ न पार्टी ?’ –नेता नेपालको भनाइ थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले ओलीको कारण सांगठनिक, विधि पद्दति निष्कृय, अकर्मण्य वैचारिक स्खलन र भ्रष्टीकरणतर्फ गएको बताए । उनले ओलीलाई रुपान्तरण गर्ने प्रयास सफल नभएको बताउँदै रुपान्तरणको प्रयासका रुपमा मंसिर ४ र वैशाख २० को सहमति गरेको भए पनि त्यो कार्यान्वयन नभएको र विश्वासको संकट पैदा भएको बताए।

प्रचण्डसहित वरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले बुधवार पत्रकारसँग आफ्नो कुरा राख्दै पदका लागि विवाद नभएको विषयमा छलफल गरे पनि बुधवार साँझ पाँच बजेटको लागि तय भएको ओली–प्रचण्डको वार्ता स्थगित भएको थियो । चार जना नेताहरुले छुटै पत्रकारसँग छलफल गरे पनि थप रणनीति बनाउन ओलीले वार्ता स्थगित गरेको बताइएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बुधबारका लागि तय भएको वार्ता स्थगित भएको जानकारी गराउँदै बिहीबार पुनः वार्ता हुने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *