लकडाउनले आयुर्वेदिक अस्पताल निर्माणको काम अधुरै

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
धनगढी, ८ साउन


कोभिड–१९ र जारी तीन महिना भन्दा लामो लकडाउनका कारण सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणको काममा बाधा उत्पन्न भएको भन्दै ८ महिना म्याद थप गरिएको छ । संघीय सरकारको १६ करोड ३६ लाखको लगानीमा धनगढी उपमहानगरपालिका–१३ राजपुरमा निर्माणाधीन अस्पताल निर्माणको काम १० प्रतिशत मात्र बाँकी हुँदा लकडाउनले समस्या गरेको भन्दै निर्माण कम्पनीलाई ८ महिना म्याद थप गरेर निर्माण अघि बढाउन सम्झौता गरिएको हो ।
५० शैयाको प्रादेशिक आयुर्वेदिक अस्पतालको काम निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ । राजपुरमा आयुर्वेदिक अस्पताल निर्माणका लागि २०७४ पुसमा सम्झौता भएको थियो ।
३० महिना भित्र निर्माण सम्पन्न गरीसक्ने गरी सम्झौता गरिएपनि सो अवधिसम्ममा ९० प्रतिशत निर्माण मात्र सम्पन्न भएको र लगत्तै लकडाउन शुरु भएकाले निर्माण सामग्री अभावलगायत कारण बाँकी काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ । बन्दाबन्दीका कारण अस्पताल निर्माणको काम प्रभावित भएकाले ८ महिना म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका सूचना अधिकारी इन्जिनीयर श्यामचन्द्र बुढाथोकीले बताए ।
३० महिनामा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर हुन सकेन, उनले भने । ८ महिना समय थपिएको छ ।’ उनले भने । भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको उनले बताए । रंगगोगन, विद्युत जडान, माटो भरान लगायतको काम बाँकी रहेको छ । १२० दिन लामो लकडाउनमा आवश्यक सामग्री अभाव भएपछि काम प्रभावित भएको निर्माणको जिम्मा पाएको गौरी पार्वती एमके जेभीका सञ्चालक चन्द्र शाहले बताए ।
उनले भने, ‘लकडाउनमा पनि काम सूचारु थियो । तर निर्माण सामाग्री नपाएर काम प्रभावित भयो ।’ थपिएको ८ महिना भित्र आयुर्वेदिक अस्पतालको निर्माण पूरा गर्ने र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने बताउँदै इन्जिनीयर बुढाथोकील उक्त अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सकसहित विभिन्न श्रेणीका डाक्टरसहितको टीमले सेवा दिने गरी निर्माणलाई तीव्रता दिइने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *