पहिरो पन्छाउन डोजर ‘स्टेन्डबाइ’

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
वीरेन्द्रनगर, ८ साउन

वर्षा शुरु भएसँगै पहिरोका कारण सडक अवरुद्ध हुन थालेका छन् । सम्भावित पहिरो पन्छाउन पूर्व तयारीका लागि त्यस्ता सडक खण्डमा विभिन्न ठाउँमा डोजर राखिएको छ । सडक डिभिजन कार्यालय सुर्र्खेतका अनुसार राष्ट्रिय राजमार्गका मुख्य सडकहरूमा पहिरो गइहाले तत्काल पन्छाउन विभिन्न ठाउँमा चार वटा डोजर राखिएको छ । सुर्खेत–दैलेखको मुख्य सडकमा पहिरो पन्छाउन डोजरलगायतका उपकरण राखिएको हो ।

डिभिजन कार्यालयका इन्जिनीयर सर्वणकुमार महतराले पहिरोले सडक अवरुद्ध भए तत्काल हटाउनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार सडकको पहिरो पन्छाउन छिन्चु, छेडा, राकम र तल्लो डुङ्गेश्वरमा एक÷एक वटा डोजर राखिएको हो । रत्नराजमार्गमा पर्ने हर्रेदेखि छिन्चु र छिन्चुदेखि जाजरकोट सिमाना क्षेत्रसम्म हेर्ने गरी छिन्चुमा एउटा डोजर राखिएको छ । ‘मुख्यगरी पहिरो गएर समस्या हुने सडकमा हामीले हेरेका छौं । अवरुद्ध भए तत्काल पन्छाएर यात्रुलाई सहज यात्राका लागि हामी तयारी अवस्थामै छौं’, उनले भने ‘अहिलेसम्म त्यति ठूलो समस्या

आएको छैन ।’ उनले वर्षातका समयमा सडकमा हुने समस्याको सूचना लिन र समस्या समाधान गर्न सुपरभाइजर पनि खटाइएको जानकारी दिए ।
यस्तै, एउटा डोजर कर्णाली राजमार्गमा पर्ने टुनिबगरदेखि कालिकोटको सिमानासम्म हेर्ने गरी राकममा राखिएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्र्तगत टुनिबगरसम्म हेर्नका लागि तल्लो डुङ्गेश्वरमा एउटा डोजर राखिएको छ । अर्को डोजर वीरेन्द्रनगरदेखि दैलेखको सियाकोटसम्म पहिरो पन्छाउने गरी छेडामा राखिएको छ । सडकमा थप डोजर आवश्यक परे तत्काल खटाउनका लागि एउटा डोजर कार्यालयमै तयारी अवस्थामा राखिएको छ ।
कर्णालीमा यसवर्षको यो अवधिसम्म लामो समय सडक अवरुद्ध हुने गरी सानोतिनोबाहेक ठूूलो पहिरो नगएको कार्यालयले जनाएको छ । राष्ट्रिय राजमार्ग सडक डिभिजन कार्यालयले हेर्छ भने अन्य स्थानीय सडक स्थानीय तहले हेर्ने गरेका छन् ।

यस्तै, सुर्खेतका स्थानीय तहले पनि पालिका अन्र्तगत रहेका सडकमा पहिरो गइहाले पन्छाउन डोजर तयारी अवस्थामा राखेको जनाएका छन् । प्रदेश सरकारले पनि मुुख्य सडकमा पहिरो पन्छाउन डोजर तयारी अवस्थामा राख्ने तयारी गरेको छ । प्रदेश पूर्वाधार विकास निर्देशनालयले भाडामा डोजर लिएर भएपनि तयारी अवस्थामा राख्न जिल्ला मातहतका कार्यालयलाई निर्देशन दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *