राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

खेलकूद समाचार

काठमाडौँ, १३ मङ्सिर 


दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता अन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल टेलिभिजनका थापाले नेपाल समाचारपत्रका रकिन श्रेष्ठलाई फाइनलमा पराजित गर्दै च्याम्प्यिन बनेका हुन् । त्यस्तै प्रतियोगितामा पुरुषतर्फ दी हिमालयन टाइम्सका महेश आचार्य र नेपाल टेलिभिजनका मदन आचार्य तेस्रो भए ।

अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान तथा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिता अन्तर्गत महिलातर्फ बीबीसी नेपाली सेवाकी श्रेष्ठले एभिन्यूज टेलिभिजनकी सरिता श्रेष्ठलाई पाखा लगाउँदै पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिकी मुना कार्की र न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की तेस्रो भए । यही मङ्सिर १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा स्कूलतर्फ १२, कलेजमा छ, भेट्रानमा चार, खेल पत्रकारमा दुई, शारीरिक अपाङ्गमा चार, बहिरा र न्यून दृष्टियुक्त दुई/दुई तथा पुरुष/महिला एकल गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *