स्वास्थ्य मापदण्ड पूरा नगरी चलाइएका भाडाका ३० सवारी साधन ट्राफिकको नियन्त्रणमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ साउन

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती सवारी साधन नियन्त्रणमा लिएको हो।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन आएका सार्वजनिक यातायातलाई विशेष चेकजाँचमार्फत् कडाई गरेको जानकारी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

नियन्त्रणमा लिएका सवारी साधनलाई आइतबार दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्ने भनी सम्झाईबुझाई छाडिएको ढकालले बताए।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउन ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्ने जस्ता कार्यहरू गर्न आग्रह गर्दै ५ सय ५८ वटा भाडाका सवारी साधनलाई सम्झाईबुझाई गरेको पनि महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *