खेती गरिएको जमिन तीनलाख २९ हजार हेक्टर मात्रै

अर्थ/वाणिज्य समाचार

धनगढी,६ जेठ


कुल पाँचलाख ४७ हजार ९७ हेक्टर खेतीयोग्य जमिन रहेको सुदूरपश्चिम प्रदेशभित्र तीनलाख २९ हजार ९ सय १३ हेक्टरमा मात्रै खेती हुने गरेको पाइएको छ । १९ हजार पाँचसय ३९ बर्गकिलोमिटर कुल क्षेत्रफल रहेको प्रदेशभित्र २८ प्रतिशत खेतीयोग्य जमिन रहेकोमा कुल खेतीयोग्य जमिनमध्ये ६० दशमलव ३० प्रतिशत भु–भागमा मात्रै कृषकले नियमित खेतीकिसानी गर्दै आएको पाइएको हो ।
खाद्य अधिकारका लागि प्रदेशस्तरीय संजाल सुदूरपश्चिम प्रदेशले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ४१ दशमलव दुईप्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेकाले खेती गर्न सहज भएको तथ्यांक उपलब्ध गराएको छ । बाँकी रहेको जमिन आकाशे पानीको भरपर्नु परेकाले किसान वर्षेनि यो पेशाबाट पलायन हुनेक्रम बढ्दै गएको खाद्य अधिकारको क्षेत्रमा कार्यरत अधिकारीहरुले बताउँदै आएका छन् ।
कृषि क्षेत्रमा बजेट बढाउन माग गर्दै संजालले प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाएको छ । ८४ प्रतिशत जनता कृषिमा आश्रित रहेको अवस्थमा प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तीन दशमलव ४१ प्रतिशत अर्थात ८५ करोड ५४ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेकोमा आगामी आव २०७६/०७७ का लागि १० प्रतिशत पुर्याउन माग गरेको छ ।
चालु आवका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट २५ अर्व ६ करोड ५६ लाखमध्ये कृषिमा आश्रित ठुलो जनसंख्यालाई लत्याएर तीनदशमलव ४१ प्रतिशत मात्रै विनियोजन गर्नु संविधानमा खाद्य अधिकारलाई मौलिक अधिकारको रुपमा गरिएको व्यवस्थालाई लत्याएको अनुभुति भएको खाद्य अधिकारका लागि प्रदेशस्तरीय सञ्जाल सुदूरपश्चिम प्रदेशका संयोजक बलबहादुर रोकायाले बताए ।
प्रदेशभित्र कृषिमा आवद्ध किसानका लागि १५ हजार मेट्रिकटन युरिया, डियपी १५ हजार मेट्रिकटन तथा एकहजार मेट्रिकटन पोटास प्रत्येक वर्ष माग हुँदै आएकोमा ३० प्रतिशत पनि पुर्ति हुन नसकेका कारण कृषकले लागतअनुरुपको उत्पादन प्राप्त गर्न नसकेको अगुवा कृषकहरुको गुनासो छ । कृषिलाई व्यवसायीमुखि बनाउन सरकारसँग गतिला कार्यक्रम नभएकै कारण सुदूरपश्चिम प्रदेश कृषि उत्पादनमा सवैभन्दा पछाडी परेको कृषक अगुवा नन्दराज भट्टले बताए । प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन पञ्चवर्षीय रणनीति तयारीप्रति भने यहाँका कृषक उत्साहित बनेका छन् । २५ लाख ५२ हजार पाँचसय १७ कुल जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा कैलाली कञ्चनपुरलाई उर्वर भुमिको रुपमा परिभाषित गरिदैँ आएपनि कृषिप्रतिको हेपाहा प्रवृत्तिले वर्षेनि खेतीकिसानी गर्ने किसानको संख्या घट्दै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *