न्यूज अपडेट
भक्तपुर, २८ असार

नेपालभाषा एकेडेमी कीर्तिपुरको आयोजनामा गत असार १५ र १६ गते दुई दिनसम्म कीर्तिपुरको राराहिल स्कुलको नाटक घरमा प्रस्तुत आठ वटा नेपालभाषाका एकांकी नाटकका लेखक, निर्देशक र कलाकार लगायत प्रस्तुत गरेको संस्थालाई नेपालभाषा एकेडेमीको हलमा सम्मान गरेको छ । एकेडेमीका प्राज्ञ प्रा. डा. चन्द्रमान बज्राचार्यले सहभागी आठवटा एकांकी नाटकका लेखक, निर्देशक र सम्पूर्ण कलाकारहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. बज्रचार्यले सिद्धिनरसिंह मल्लको पालामा र मल्ल कालमा नाटक परम्परा अगाडि बढेको भएपनि पाश्चात्य जगतबाट आएको एकांकी नाटक विधाको सुरुवात नेपालभाषामा चित्तधर हृदयले गरेकाे उल्लेख गर्दै यसलाई सही दिशा दिन र नाटकको उदेश्य पूरा गर्नको लागि नेपालभाषा एकेडेमले नेपालभाषाको माध्यमबाट यस प्रकारको प्रदर्शनी आयोजना गर्नु महत्वपूर्ण पक्ष रहेको बताए । सो अवसरमा आयोजन समितिका सदस्य तथा चलचित्र समीक्षक विजय रत्न असंबरेले उक्त नाटकलाई अब नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको हल र राष्टिय नाचघरमा पनि प्रदर्शनीको तयारी रहेको बताए ।
नाटक आयोजक समितिका संयोजक बीरप्रसाद भन्सारीले सभापतिको आसनबाट सो प्रदर्शनी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनको लागि नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने धारणा राखे । प्रदर्शनीमा मिना बज्राचार्यको लिथु, सुरेन्द्र तुलाधरको डा. कान्छाभाई, शशीकला मानन्धरको चन्द्रहार, कृष्ण प्रजापतिको बुँख्याचा, राजभाई जकःमिको कीर्तिलक्ष्मी, राजु स्यस्यःको तरकारी बञ्जा, रवि डंगोलको थौंकन्हय् र राजेश शाक्यको थ्वपू कर्म दुई दिन सम्म कीर्तिपुरको राराहिल नाटक घरमा देखाइएको थियो ।
