Tuesday, May 21, 2024

“नेमकिपा फुटाउनेहरू आफैँ फुट्दै छन्”

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २७ असार

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फुटको राजनीति गर्नेहरू फुटेरै समाप्त हुने बताएको छ । बिहीबार योहो टेलिभिजनमा सञ्चारकर्मी जीवराम भण्डारीसँग समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्दै उनले हिजो नेमकिपालाई फुटाउन लाग्नेहरू आपसमा फुटेर नै सकिने बताए ।
उनले भने, “जो आगोसँग खेल्छ, ऊ आगोमै मर्छ, जो पानीसँग खेल्छ, ऊ पानीमै मर्छ । जसले फुटको राजनीति गर्छ, ऊ फुटबाटै समाप्त हुन्छ ।”
अध्यक्ष बिजुक्छेँले देशको खराब अवस्थाको निम्ति नेपाली काङ्ग्रेस दोषमुक्त हुन नसक्ने चर्चा गर्दै नेकांको सरकारले जनतालाई जानकारी नदिई देशघाती एमसीसी सम्झौतामा सही गरेको बताए ।
नेकांले आफू सत्तामा रहँदा कूटनीतिक सम्बन्ध सन्तुलित ढङ्गले कायम राख्न नसकेको, बरु एकतर्फी सम्बन्ध विकास गरेको उनकाे भनाइ छ ।
“एकतर्फी सम्बन्ध कायम गर्दै अमेरिका र भारततिरै लागेको देखियो । त्यही कारण चीनले बनाएका कलकारखाना पनि एकपछि अर्को गर्दै ध्वस्त बनायो”, उनले भने ।
एमसीसीले नेपाल शक्ति देशहरूको रणमैदान हुनसक्ने र अमेरिकी सेना नेपालमा आउने बाटो खोल्ने चर्चा गर्दै एमसीसी पारित भए देशको अवस्था अफगानिस्तान हुनसक्ने उनले स्पष्ट पारे ।
“अमेरिकाको पैसा जहाँ – जहाँ जान्छ, अमेरिकी सेना पनि त्यहाँ त्यहाँ पुग्छ । आफूलाई पढेलेखेका भन्ने, राजदूत भइसकेका मानिससमेत यो कुरालाई बुझ पचाइरहेका छन्”, अध्यक्ष बिजुक्छेँले भने।
उनले नेपाल कमजोर भए भारत स्वतन्त्र भएपछि नेपाल, भुटान र सिक्किमलाई भारतमा गाभ्ने भारतीय शासकवर्गको योजना ब्युँतिन सक्ने चर्चा गर्दै शासक दलका केन्द्रीय सदस्यमध्ये को को विदेशी एजेन्ट हुन्, छानबिन हुनुपर्ने बताए ।
सत्तारूढ नेकपाका नेताहरूबीचको झगडा सिद्धान्त र विचारको लागि नभई पद र सत्ताको लागि भएको प्रस्ट पार्दै उनले यस्तो झगडाले देश र जनताको निम्ति कुनै हित नहुने बताए ।
उनले वर्तमान सरकारको ठाउँमा अझ खराब सरकार आउन सक्ने विषयमा सजग हुनुपर्ने धारणा राखे । “अहिलेको सरकारको ठाउँमा योभन्दा खराब र विदेशी शक्तिलाई रिझाउने सरकार बन्ने सम्भावनाबारे सजग हुनुपर्छ”, अध्यक्ष बिजुक्छेँले भने ।
नेपाली शासकहरू आपसी झगडामा फस्दै गरेको बेला दक्षिणको पेलाइ अझ बढ्न सक्ने उनको भनाइ थियो ।
पुँजीपतिवर्गको दबाबमा सरकारले लकडाउन खुकुलो बनाइरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले महामारी फैलिँदा गरिब जनताको जीवन थप समस्यामा पर्ने बताए ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपाली नक्सा प्रकाशित गर्नु सकारात्मक पाइला भएको चर्चा गर्दै उनले नक्साअनुसार भूमि लिने बेलामा ‘घर झगडा’मा फस्नुको अर्थ शत्रुलाई सहयोग गर्नु रहेको स्पष्ट पारे । स्राेतः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *