नेवाः दमनको उदाहरण खोकना

विचार विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २४ असार

२५० वर्ष अगाडि गोर्खाका राजा पृथ्वीनारायण शाहको पालामा जब काठमाडौं उपत्यका आक्रमणको योजना बन्यो, त्यो बेलादेखि नेपालमण्डल भित्र बसोबास गर्ने गरेको आदिबासी नेवाः समुदाय माथिको दमनले हालको अवस्थासम्म पनि निरन्तरता पाइरहेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण खोकना तथा बुंगमती क्षेत्रको हजारौं उब्जनीशील जमिनलाई विभिन्न निहुँ बनाएर हडप्ने सरकारी निर्णय पनि हो । खोकना र बुंगमती क्षेत्रको उक्त जमिन भित्री मधेश, तराई र कुनै पनि नेपालको उब्जनीशील जमिनभन्दा कम उब्जाउ हुने स्थान होइन । खानी क्षेत्र, उब्जनीशील क्षेत्रकै कारण देश उन्नति र विकासको लागि ठूलो मद्दत भइरहेको हुन्छ । नेपालमण्डल त्यसै पनि खेतीयोग्य र उब्जनीशील जमीन भएको मलिलो माटो रहेको स्थान हो । त्यसमा पनि बुंगमतिको त्यो फाँट अत्यन्तै उब्जनीशील स्थान मध्येको एक पर्दछ । त्यसैले पनि उक्त स्थानलाई बजार बनाउनु, सुक्खा बन्दरगाह बनाउनु वा फास्ट ट्रायकको उदगम स्थल बनाइनु उपयुक्त होइन ।

यी विभिन्न धारणाले आफ्नो जमिनमा बाली लगाउनको लागि खेती गर्न गएका किसान माथि गत हप्ता नेपाल सरकारको तर्फबाट खटिएका सयौं प्रहरीहरुले साधारण किसानमाथि दमन गरेको छ । आफ्नो जमिन बाँझो नगर्नु र कोरोना भाइरसको कारण खाद्य संकट निम्तिन सक्छ भन्ने नेपाल सरकारको धारणा थियो । त्यसैले कुनै पनि स्थानमा बाँझो जमिन छ भने त्यहाँ बाली लगाई हाल्नु भन्ने सरकारको उर्दी पनि हो । तर जमिन अधिग्रहण गरी मुआब्जा सम्म दिइ नसकेको उक्त निजी खेतमा रोपाईंको लागि पुगेका किसान माथि दमनचक्र शुरु भयो । सरकारी मतियारहरुले सो जग्गा सरकारले कब्जा गरिसकेको भन्दै त्यहाँ त्यसरी बाली नलगाउन रोक लगाएको थियो । तर नेपाली जनताको एकताको अगाडि केही लागेन । त्यो स्थानमा किसानहरुले रोपाइँ गरिछाडे । लामो समयदेखि विभिन्न कारणले आफ्ना जमिन र थातथलो गुमाउँदै गर्न बाध्य नेवाः समुदायले एकत्रित भएर सो स्थानको आफ्नो खेतमा रोपाइँ गरिछाडे । त्यसको समर्थनमा केही पनि कदम नचालेको विरोधमा केही दिन खोकनाको वडा कार्यालयमा समेत स्थानीय जनताले तालाबन्दी गरेका छन् ।

शुरुदेखि नै खोकना क्षेत्रका जनताले उक्त स्थान हुँदै राष्ट्रिय गौरवको आयोजना भनिएको फास्ट ट्राय्कको बिरोध गरिरहेका थिए । उनीहरुले उक्त स्थानमा पानी राम्ररी पर्ने र माटो पनि उब्जनीशील भएकाले त्यसलाई मास्नु हुन्न भन्ने धारणा अगाडि सारेका थिए । त्यसैले सरकार र स्थानीय जनता बीच लामो समय अगाडिदेखि द्धन्द्ध कायम थियो । द्धन्द्धका बीच नै स्थानीय किसानहरुले आफ्नो जमिनमा रोपाइँ गर्न पुगेका थिए । तर त्यस कार्यले सरकारको गलत नीतिको बिरोध भएकोले लाठी, अश्रुग्यास र हवाई फायर मार्फत् जनदमनमा लागेका थिए । चीनको हुनान किसान बिद्रोहमा जस्तै खोकनाका किसानहरु त्यहाँको मूल देवता रुद्रायणी मन्दिरदेखि नै हातमा कुतो, कोदालो र अन्य कृषि औजार बोकेर जुलुसमा सहभागी भए ।


खोकनामा देखिएको किसान एकताले आजभन्दा पचास वर्ष अगाडि २०२५।२६ सालमा भक्तपुरमा भएको किसान बिद्रोहको आभास दिलाएको थियो । त्यो बेला किसानहरुलाई मल ल्याइदिने, किटनाशक औषधि ल्याइदिने र समयमा उन्नत बिउ बिजनको ब्यवस्था गरिदिने भन्दै प्रत्येक खेत खलानबाट तीन माना, ६ माना र ९ माना गरी धान उठाएर बचत संस्था स्थापना गरी संस्थागत भ्रष्टाचार गर्न पुगेका विरुद्ध किसानहरु एक भएर खनिएका थिए । अहिले पनि आफ्नो उब्जनीशील खेत कब्जा गर्न अगाडि सारेको सरकारको नीति विरुद्ध एकता प्रदर्शन गरी किसानहरुले जे काम गरे त्यसले किसान आन्दोलनको झझल्को प्रदर्शन गरेको छ । नमूना कामको उदाहरण प्रस्तुत गर्नु जायज नै होला । २०२५ सालको साउन २ गते छलछामपूर्वक नवदुर्गा बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको माइन्यूट बनाउने प्रयास गर्दा किसान जनताले ती भ्रष्टाचारी पदाधिकारीहरुलाई कालो मोसो दलेर उल्टो टोपी लगाई सजायँ दिएका थिए । २०२६ सालको असार १९ गते सोही संस्थाले मल ल्याउने आश्वासन दिएर पनि मल नल्याउने र ल्याएको मल आफन्तहरुलाई मात्रै बाँड्ने जस्ता पक्षपातपूर्ण काम गरेकाले त्यसको बिरोध भएको थियो ।

कुनै पनि बखत किसानहरु आफ्नो जग्गाको मुआब्जा नै नदिएको स्थानमा रोपाईं गर्न सक्छ भन्ने कुरा सरकारलाई पनि थाहा थियो । त्यसैले पनि पूर्व तयारी स्वरुप खोकना क्षेत्रमा गत हप्ता प्रहरी तैनाथ थियो । तर पनि आफ्नो जग्गा बाँझो भएको हेर्न नचाहने किसानहरुले कुतो कोदालो लिएर खेततिर अगाडि बढेको थियो । असार १५ गते रोपाइँ गर्न गएका किसान जनता माथि प्रहरी दमन भएको विरोधमा नाराबाजी र प्रहरीसँग घम्साघम्सी गर्न पुगेका स्थानीय किसानहरुले पुनः असार २० गते सोही घटनालाई दोहर्‍याउन पुगे । कुतो कोदाली र कृषि औजार लिएर रुद्रायणी मन्दिरबाट नाराबाजी र जुलुस सहित खेत रोप्न गएका किसानहरु माथि प्रहरीले दमन गरे । एकातिर दमन र नाराबाजी चलिरहेको थियो । प्रहरी आएर पहिला नै रोपाइँ गर्न लागेको जमिन घेरा हालेर बसेका थिए । तर अर्कै खेतमा पुगेर किसानहरुले धमाधम रोपाइँ चालू राखे । ट्रयाक्टर लगाएर जोत्न थाले र धमाधम हरियो खेतबारीमा परिणत भयो ।


किसान जनताको अगाडि कसैको केही लागेन । दमनको बाबजुद पनि किसानले रोपाइँ गरी छाडे । असार १५ गते वडा कार्यालयबाट बाकी जग्गामा भने रोपाइँ नगर्ने सहमति गरेको थियो । त्यसको बिरोधमा किसान जनताले वडा कार्यालय पनि तालाबन्दी गरिदियो । २० गते बेलुकी खोकना क्षेत्रमा मसाल जुलुस पनि भयो । जनता जागेपछि कसैको केही लाग्दैन भन्ने उदाहरण प्रस्तुत गर्न स्थानीय खोकनाबासीहरु सफल भए । आखिरमा लामो सयमदेखि नेवाः समुदाय माथि भइरहेको विभिन्न खालको दमनमध्ये एक हो भन्ने कुरा स्पष्ट देखिएको छ । नेपाली जनताको एकताको अगाडि ती नेवाः विरोधी तत्वले केही पनि लाग्दैन भन्ने कुराको उदाहरण खोकना क्षेत्रमा भएको रोपाइँ र प्रहरी दमन तथा मसाल जुलुसले पनि देखाउने गरेको छ । ती उदाहरणहरुले गर्दा पनि आज देश विदेशमा भएका अन्य किसान विद्रोहसँग यो घटनालाई तुलना गर्नुपर्ने अवस्था आएको छ ।

किसान जनताको सेवाको लागि विभिन्न राजनीतिक पार्टी, किसान संगठन र स्थानीय सरोकारवाला समितिहरुले पनि सघाएका थिए । दमन हुने सम्भावनालाई ध्यानमा राखी पूर्व तयारी पनि यथेष्ट थियो । प्रहरीको आँखा छलेर पनि ती किसानहरुले ट्रयाक्टर लगाए, धान रोपे । ती कुराहरु आज मात्रै होइन कि फास्ट ट्रयाक, हाइटेन्शन सेन्टर र अन्य विभिन्न नाउँमा ऐतिहासिक वस्ती सखाप पार्ने कार्यको भने सदा विरोध गर्नु पर्दछ । नेपाली जनताको सेवाको लागि निरन्तर अगाडि बढेको खण्डमा जनताको बलको अगाडि कसैको केही लाग्दैन भन्ने यो उदाहरण प्रस्तुत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *