नेपालमा चिनियाँ राजदूतकाे सक्रियतालाई लिएर नयाँदिल्लीमा भूकम्प

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २४ असार

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसँगको भेटवार्ताको बिषयलाई लिएर नयाँदिल्लीमा भूकम्प गएको छ । यान्छीको राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् । नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गर्नुका पछाडि चीनको हात रहेको समेत केही कूटनीतिज्ञ र विश्लेषकले दाबी गर्दै आएका छन् ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले पनि नेपालले धार्चुला–लिपुलेक पास जोड्ने सडकको विरोध गरेपछि घुमाउरो पाराले नेपालले चीनको आडमा विरोध भएको दाबी गरेका थिए । नेपालका लागि भारतका एक पूर्वराजदूतले होउको सक्रियता चीनको दीर्घकालीन रणनीतिअनुसार भइरहेको दाबी गरे । ‘सधैं पञ्चशीलको वकालत गर्ने चीनले नेपालको आन्तरिक राजनीतिमा यसरी खुलेर सक्रिय बन्नु सामान्य होइन, त्यसैले दिल्ली स्वाभाविक रूपमा चनाखो हुनुपर्छ’ उनले भने ।

केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई ठानेका छन् । भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ । पत्रिकाले राजदूत होउ फेसबुक ट्वीटर र इन्स्टाग्राममार्फत पनि नेपालहरूमाझ लोकप्रिय बनेको उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईले पनि राजदूत होउले फेरि एकपटक नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गरेको छ । एजेन्सीले राजदूत होउ र नेपालबीचको भेटघाटपछि नै जारी स्थायी समितिको बैठक बुधबारका लागि सारिएको दाबी गरेको छ । सत्तारूढ दलभित्रको विवाद बढ्दै गएपछि चिनियाँ राजदूतले आफ्नो सक्रियता बढाउँदै लगेको पीटीआईले लेखेको छ ।

त्यसैगरी भारतकै अर्को समाचार एजेन्सी आईएनएसले त राजदूत होउले काठमाडौंको कूटनीतिलाई नै पुनर्परिभाषित गरेको र भारतसँगको विवादित भूमिलाई समेटेर प्रधानमन्त्री ओलीको नयाँ नक्सा जारी गर्ने अनपेक्षित कदमका पछाडिसमेत हात रहेको लेखेको छ । ओलीविरुद्ध बढ्दो आक्रोश मत्थर पार्न अरू नेताहरूसँग भेटघाट गरेको समेत आईएनएसले लेखेको छ ।

यसअघि गत वैशाखमा नेकपाभित्र कलह चर्किएपछि राजदूत होउले गरेका राजनीतिक भेटघाट र विकसित घटनाक्रमलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको थियो । त्यतिबेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टीका शीर्ष नेताहरूलाई समेत भेटेकी थिइन् । र, केही दिनको तनावपछि पार्टीको कलह थामथुम भएको थियो । त्यतिबेला पनि भारतीय विश्लेषक र मिडियाले राजदूत होउमाथि नेपालको राजनीतिमा हस्तेक्षप गरेको आरोप लगाएका थिए । राजदूत होउकै सक्रियताका कारण नेकपाभित्रको विवाद सुल्झिएको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *