शहीद स्मृति पार्क ओझेलमा

समाचार

जाजरकोट, २९ माघ


जनयुद्धमा होमिएको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आउने वित्तिकै ठूलो धनराशि खर्च गरेर यहाँको भेरी नगरपालिका– १ स्थित रिम्नामा शहीद स्मृति पार्क निर्माण गरिएको थियो । निर्माण भएको दुई वर्षसम्म त्यहाँ आन्तरिक पर्यटकको ओइरो लागेपनि अहिले भने सुनसान छ ।

उक्त पार्कमा प्रवेश गर्नेहरू आनन्दको अनुभूति लिन्थे। पार्क दिनभर खुलै रहन्थ्यो। पार्कभित्रको सजावटले आगन्तुक जो कोहीको मन लोभिन्थ्यो। पछिल्लो समय पार्कमा आगन्तुकको नाम निसाना देखिंदैन । एक वर्षयता पार्क प्रवेश गर्नेको सङ्ख्या शून्य छ।

जनयुद्धका शहीदको स्मरणमा निर्माण भएको उक्त पार्क अहिले ओझेलमा परेको छ। पार्कको स्तरोन्नति र अन्य व्यवस्थापपनमा ध्यान नदिँदा यसको अस्तित्व मेटिनाका साथै आगन्तुकको उपस्थिति पनि न्युन भएको हो। जनयुद्धमा थुप्रै व्यक्तिले साहदत प्राप्त गरेको गाउँ रिम्नामा सात वर्षअघि पार्क बनेको थियो। बलिदान शहीदको स्मृतिमा निर्माण भएको सुन्दर पार्क माओवादी विभाजनको शिकारमा परेपछि अहिलेसम्म सुधार हुनसकेको छैन् ।

अहिले विभाजित भएका माओवादीहरू कसैले पनि पार्कप्रति ध्यान नदिनु शहीदप्रति अन्याय भएको शहीद परिवारको भनाइ छ। पार्कमा रहेका मिनी चिडियाखाना, पोखरी, स्मृति भवन, शहीदका तस्वीर, बिरुवा तथा फूलको बगैँचालगायत त्यहाँको वातावरण अवलोकन गर्न आगन्तुक लोभिन्थे। तर हिजोआज पार्कको प्रवेशद्वार तथा स्मृति भवन व्यवस्थापनको अभावमा सुनसान देखिन्छ ।

पार्कभित्र झाडी र फोहर बढ्दै गएको छ। त्यहाँ पालिएका जीवजन्तु तथा चराचुरुङ्गी मरिसकेका छन्। पोखरीमा पानी सुकेको छ। बिरुवा तथा फूल सुकेका छन्। शहीदको स्मरणका लागि पार्क पुगेका पीडितपरिवार पनि निराश भई फर्कने गरेको रिम्नाका कृष्णराज विकको भनाइ छ। द्वन्द्वमा पिपे र रिम्ना गाउँमा मात्र २९ जनाले ज्यान गुमाएका थिए। तीमध्ये विद्रोही पक्षबाट एक र राज्य पक्षबाट २६ मारिएका थिए। अझै दुई बेपत्ता छन् । द्वन्द्वमा जिल्लाभरका ३७६को ज्यान गएको थियो।

जनयुद्धका दुईसय शहीदको तस्बिर राखिएको उक्त पार्कको व्यवस्थापन नहुनु राम्रो नभएको शहीद परिवार एक सदस्य डण्डवीर रानाले बताए । रानाका छोरा लालबहादुर सशस्त्र द्वन्द्वका शहीद हुन्। शहीदपार्कमा बसेर मादक पदार्थ खाने र कपडा सुकाउने स्थानको रूपमा परिणत भएको उनको गुनासो छ।

तत्कालीन सरकारले द्वन्द्वप्रभावित गाउँ पिपे र रिम्नालाई नमूना गाउँ घोषणा गरेको थियो। सरकारको नमूनाबस्ती विकास कार्यक्रमअन्तर्गत रिम्नामा रु एक करोड खर्च गरेर उक्त पार्क निर्माण गरिएको पार्क व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर रानाले बताए।

विसं २०६८ मा निर्माण गरिएको उक्त पार्क व्यवस्थापनका लागि तीन वर्षसम्म लगातार बजेट आएको र त्यसपछि बजेट नआएको उनको भनाइ छ। शहीद पार्कलाई पर्यटकीयक्षेत्र बनाउन र यसको संरक्षण गर्नका लागि तत्काल सर्वपक्षीय बैठक बोलाउनुपर्नेमा भेरी नगरपालिका–१का वडाध्यक्ष दीपक रानाले जोड दिए । नगरपालिकालगायत निकायबाट पार्कको स्याहार सम्भारका लागि आगामी वर्ष आवश्यक बजेट व्यवस्थापन गरिने उनको भनाइ छ ।

द्वन्द्वप्रभावित रिम्ना र पिपे गाउँमा छ वर्षअघि खानेपानी, लघु जलविद्युत्, शहीद पार्क तथा शहीद स्मृति भवन, सरसफाइ, विद्यालय भवन निर्माणलगायत योजनामा रू छ करोड खर्च भएको थियो।

बजेट अभावमा उचित स्याहार सम्भार नहुँदा पार्कभित्र पालिएका जीवजन्तु र बोट बिरुवा तथा फूल मरिसकेको वडाध्यक्ष रानाले बताए । पार्कमा सहयोग गर्ने कर्मचारीको तलब व्यवस्थापन र पालिएका वन्यजन्तुको आहाराको खर्च जुटाउन नसक्दा पार्कको अस्तित्व सङ्कटमा परेको उनको गुनासो छ। “वृहत योजनाका साथ पार्क स्थापना भए पनि खर्च धान्न नसक्दा ओझेलमा परेको हो” वडाध्यक्ष रानाले भने “हामीले दैनिक चार पाँचसय मात्रै आम्दानी गरे पनि पार्क हेर्ने कर्मचारी र पालिएका जीवजन्तुको आहारा पु¥याउन सक्थ्यौं। केही समयसम्म लक्ष्यअनुसार आम्दानी भयो र पार्क चलाइयो पनि तर त्यसपछि आम्दानी ठप्पै भयो। पार्कभित्र भालु, अजिङ्गर, कछुवा, दुम्सी, बाँदर, गिनिपिकलगायत जनाबर पालिएका थिए।”

फागुन १ गते जनयुद्ध दिवस बनाउनका लागि जिल्लाको रिम्ना, पिपे , दल्ली र कम्यून भएको ठाउँ जुनिबस्ती जुर्क निपानेमा विधिध कार्यक्रम आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *